दिसाजन्य लेदोको असुरक्षित भण्डारणले खानेपानीको स्रोतमा खतरा

दिसाजन्य लेदो भूमिगत पानीको स्रोतसम्म प्रसार भएको आशंका

  वास खबर सम्वाददाता  808 पटक हेरिएको

काठमाडौ : दिसाजन्य लेदोको असुरक्षित तवरले भण्डारण गर्दा यसले भूमिगत खानेपानीको स्रोत प्रदुषण हुने खतरा बढाएको छ । बर्दियाको गुलरिया नगरपालिकामा गरिएको एक अध्ययनले दिसाजन्य लेदोको असुरक्षित एवं अपर्याप्त भण्डारणका कारण खानेपानीको स्रोतमा खतरा रहेको पाईएको हो ।

खानेपानी र सरसफाइ क्षेत्रको संयुक्त क्षेत्रगत समीक्षा सँग सम्बन्धित नेपालमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ सम्बन्धी बिषयगत परामर्श गोष्ठीमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै एकीकृत विकास समाज (आईडिएस) नेपालकी प्रभा पोख्रेलले कमसल स्थलगत मलमूत्रको भण्डारणबाट हुने भूमिगत पानीको प्रदुषणका कारण खानेपानीका प्रयोगकर्ता उल्लेख्य जोखिममा रहेको बताउनुभयो । अध्ययन गरिएका धेरैजसो घरधुरीले कुनै शुद्धिकरण बिना हाते कलबाट सोझै पानीको उपभोग गर्ने गरेको पाईएको बताउनुभयो ।


गुलरिया नगरपालिकाको १२ वडामध्ये १० वटा वडाका २२ संकटासन्न समुदायहरुमा अध्ययन गरिएको छ । लक्षित समुदायमा पुगेर समूहगत छलफल, प्रत्यक्ष अवलोकन एवं प्रश्नोत्तर गरिएको थियो । यस्तै नगरपालिकाका प्रतिनिधीहरु, वडाका कर्मचारीहरु र गैर सरकारी संस्थाका पदाधिकारीहरुलाई २१ मूल सूचक अन्तरवार्ताहरु लिएर अनुसन्धान गरिएको थियो ।

अध्ययन टोलीले सुख्खा र बर्षा याममा स्रोतमै हाते कलहरु, शुद्धिकरण गरिएका र भण्डारण गरिएका खानेपानीको स्थलगत, सुक्षम जैविक र भौतिक रासयनिक मापन तथा अनुगमन समेत गरिएको थियो ।

यस क्रममा सुक्खा याममा ५१ प्रतिशत नमुना उच्च जोखिममा रहेको पाईएको पोख्रेलले जानकारी गराउनुभयो । ती पानीमा इकोली ४०.८ mpn/100mL भेटिएको थियो । यस्तै बर्षायाममा इकोलीको मात्रा ९१.३ mpn/100mL भन्दा धेरै रहेको भेटिएको थियो ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार पिउने पानीमा इकोलीको मात्रा शून्य हुनुपर्छ ।

घरधुरीमा भएका धेरैजसो चर्पीहरु पहिले नै बनाईएका गोलाकार पक्की रिंगहरुमा र आयातकार तल बन्द नगरिएका, एउटा च्याम्बर भएका बन्द नगरिएका संरचनामा जोडिएका छन् । थुप्रै घरधुरीले यसलाई सेप्टिक ट्याङ्क भने तापनि यसले एनेरोबिक डाइजेसन र लेदोको न्यूनीकरणका लागि तरल र ठोस पदार्थलाई नियन्त्रित रुपमा खासै छट्याउन नदिने भएकाले यस्ता भण्डारणका संरचनालाई सेप्टिक ट्याङ्की भन्न नसकिने उहाँले बताउनुभयो । ‘यसबाट आउने तरल पदार्थ वरपरिका भुभागमा रसाउन गई खानेपानीको प्रमुख स्रोत भूमिगत पानीलाई दुषित पार्न सक्ने सम्भावना देखियो’ उहाँले भन्नुभयो ।

नगरपालिकाको केही क्षेत्रमा नगरपालिकाले पाइपबाट खानेपानी उपलब्ध गराए पनि बहुसंख्यक घरधुरीले पाइप जडान र खानेपानीको मासिक लाग्ने खर्च धान्न नसकिने अवस्था भेटिएको उहाँले जानकारी गराउनुभयो ।

सेप्टिक ट्याङ्की भनिने संरचनाबाट ट्याङ्करले निकालेको दिसाजन्य लेदोलाई समेत खेत, वन वा नजिकै खनिएका खाल्डोमा सोझै विसर्जन गरिने हुँदा यसले मनसुनमा खानेपानीको प्रदुषणको जोखिम बढाउने अध्ययनले औल्याएको छ ।

उहाँले यसका लागि दिसाजन्य लेदोलाई सुरक्षित भण्डारण गर्ने, खाली गर्ने, ढुवानी गर्ने, प्रशोधन गर्ने र सुरक्षित बिसर्जन वा पुनः प्रयोग गर्ने गरी चर्पी भन्दा पर सुरक्षित र व्यवस्थित सरसफाइतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार