सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका परिसर प्रवेश गर्ने वित्तिकै एउटा बोर्ड देख्न सक्नुहुन्छ । जसमा लेखिएको छ ‘बीरेन्द्रनगर शहरलाई सफा र स्वच्छ बनाउन म प्रतिबद्ध छु र तपाईको साथको अपेक्षा गर्दछु’ – नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)
बीरेन्द्रनगर नगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउनका लागि कत्ति प्राथमिकता दिएको छ भन्ने कुरा यो बोर्डबाट पनि आंकलन गर्न सकिन्छ । नगर प्रमुख भण्डारी भन्नुहुन्छ ‘हामी नेतृत्व तहमा छौं, हामी यो काम गर्न प्रतिबद्ध छौं । तर हामीलाई सबै नगरबासीको साथ चाहिन्छ । तपाई जो जहाँ हुनुहुन्छ आफ्नो ठाउँबाट साथ दिनुहोस्, भनेर आव्हान गरेका हौं ।’
टेलिभिजन कार्यक्रम टक अफ द टाउनको छायाँकनका लागि बीरेन्द्रनगर नगरपालिकामै पुग्नु भएका पत्रकार जगदिश खरेलसँग उहाँले फोहोरमैलाको एकीकृत व्यवस्थापनको कामलाई विकासको प्रमुख एजेण्डाको रुपमा स्वीकार गरिएको बताउनुभयो । ‘शहर सफा भएन भने अरु विकासको कामले त्यत्ति पूर्णता पाउँदैन भन्ने कुरामा प्रतिबद्ध रहेर यसलाई प्रमुख एजेण्डा बनाएर काम गरिरहेका छौं’ उहाँले भन्नुभयो ।
सरसफाइको एजेण्डा नगर प्रमुख भण्डारीको बोर्डमा मात्र होइन, व्यवहारमा पनि उस्तै छ । नगरपालिकाले वन मन्त्रालयबाट ५ विगाहा जग्गा भोग चलनका लागि अनुमति लिई एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्दै आएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्र भित्र एकातिर दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिएको छ । उक्त प्रशोधन केन्द्रमा नगरक्षेत्र भित्रका बासिन्दाको सेप्टिक ट्याङ्कबाट दिसाजन्य लेदो उठाएर लगिन्छ ।
यसरी घरघरसम्म पुगेर सेप्टिक ट्याङ्क खाली गर्ने नगरपालिकाको आफ्नै टिम र निजी क्षेत्रका व्यवसायीहरु छन् । उनीहरुबाटै सेप्टिक ट्याङ्कीबाट फोहोर उठाएर ट्रिट्मेन्ट प्लान्टमा पुर्याउने र प्रशोधन गर्ने काम भईरहेका छन् । प्रशोधन गरेपछि मल र प्रशोधित पानी निस्किन्छ । जसलाई विसर्जन गर्दा वातावरणलाई कुनै हानी नोक्सानी हुँदैन ।
नगरपालिकाले ल्याण्डफिल साईटलाई व्यवस्थित बनाउन र दिसाजन्य लेदो प्रशोधन केन्द्रको क्षमता बढाउन राष्ट्रिय योजना आयोग समक्ष विशेष अनुदानको समेत माग गरेको छ । यसले पनि बीरेन्द्रनगर नगरपालिका मानव मलमूत्रको सुरक्षित व्यवस्थापनका लागि कतिसम्म प्रतिबद्ध छ भन्ने कुराको आँकलन गर्न सकिन्छ ।
राष्ट्यि जनगणना २०७८ को प्रतिवेदन अनुसार सुर्खेत जिल्ला भरिमा ९७.७८ प्रतिशत घरमा चर्पीको उपलब्धता छ । कुल ९७ हजार ८ सय २२ घरमध्ये २ हजार १७३ घरमा अझै शौचालय बन्न बाँकी छ ।
विस्तृतमा हेर्नुहोस् कार्यक्रम टक अफ द टाउनको पूर्ण अंश :
यसरी गरिन्छ दिसाजन्य लेदो प्रशोधन
शौचालयको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदोलाई ट्याङ्करको सहायतबाट खाली गरिन्छ । त्यसपछि सुरक्षित तरिकाले ढुवानी गरी दिसाजन्य लेदो प्रशोधन केन्द्रमा पुर्याईन्छ । बीरेन्द्रनगर नगरपालिकाले मुख्य बजारक्षेत्रबाट करिब ८ किलोमिटर दुरीमा रहेको तारेभीरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
प्रशोधन केन्द्रमा पुर्याएपछि सुरुमा होल्डिङ ट्याङ्कमा खसालिन्छ । त्यसपछि अर्को च्याम्बरमा जान्छ । त्यहाँ लेदोसँगै भएका प्लाष्टिक तथा फोहोरहरु छान्ने काम हुन्छ । बग्दै गएको लेदो अर्को ट्याङ्कीमा जम्मा हुन्छ । त्यहाँ चार वटा भल्वहरु छन् । तिनको काम ट्याङ्कीमा भएको लेदोलाई स्लज ड्रईङ बेडसम्म पुर् याउनु हो । यसको हेरचाह गर्ने कर्मचारीले जहाँ खाली त्यहीको भल्व खोलिन्छ । भल्व खोले पछि दिसाजन्य लेदो गएर सबैतिर फैलिन्छ । त्यहाँ बेसारे फूल लगाएको छ ।
प्रशोधन केन्द्रका फोकल पर्सन मायाराम शर्माका अनुसार बेसारे फूलमा आएको दिसाजन्य लेदो मध्ये ठोस जत्ति त्यही जम्मा हुन्छ र पानी जत्ति भित्रभित्रै प्रशोधन प्रणालीमा जान्छ । यसका लागि एक मिटर ४० सेन्टिमिटर गहिराईमा प्वाल पारिएको पाइपहरु र एचडिपीई (हाई डेन्सिटी पोलिईथाइलिन) मेम्रेन र जिईओ टेक्सटायल विछ्याईएको छ । यसको ७० सेमी गहिराईसम्म ४० एमएमको गिट्टी विछ्याएको छ । त्यसपछि २५ एमएमको र त्यस भन्दा माथि १० एम.एम.को गिट्टी सतह मिलाएर विछ्याएको छ र अन्त्यमा बिछ्याएको बालुवा माथि बेसारे फूल रोपिएको छ ।
ठोस पदार्थ घामले सुक्न थाल्छ भने बेसारे फूलले त्यसमा भएका गन्धहरुलाई सोस्ने र प्रशोधन प्रक्रियामा पनि केही सघाउ पुर्याउँछ । प्रशोधन केन्द्रका फोकल पर्सन मायाराम शर्मा सुकेको ठोसवस्तुलाई केकको संज्ञा दिनुहुन्छ । यो बोटविरुवाका लागि अति नै पोषक तत्व मानिन्छ । कसै कसैले यसलाई खैरो सुन पनि भन्ने गरिन्छ ।
दिसाजन्य लेदोमा भएका तरल पदार्थ छानिएर भित्रभित्रै विछ्याएका पाइप मार्फत अर्को इनारमा जम्मा हुन्छ । त्यहाँसम्म पुग्दा केही प्रतिशत प्रशोधन भईसक्छ । त्यसपछि पोलिसिङ तलाउमा पुग्छ । त्यहाँ आएको पानी सुरुमा खस्छ, विस्तारै भरिन्छ र फेरि अर्कोमा झर्ने क्रम सुरु हुन्छ । त्यस क्रममा केही कणहरु थिग्रिने र बाँकी पानी भर्दै विस्तारै झर्दै जान्छ । यो क्रम सकिएपछि अन्त्यमा १० मिटर लम्बाई १ मिटर चौडाईको ट्याङ्कीमा जान्छ । त्यहाँ पनि ठूलो देखि सानो गिट्टी र बालुवा भरिएको छ । त्यसपछि फिल्टर भएको पानी अन्त्यमा विसर्जन गरिन्छ । उक्त पानी चराचुरुङ्गी बाँच्ने खालको हुने फोकल पर्सन शर्माले बताउनुभयो ।
खोला खोल्सीमा बिसर्जन देखि प्रशोधन केन्द्रसम्मको यात्रा
वीरेन्द्रनगर नगरपालिकाको योजना तथा वातावरण शाखाका प्रमुख हुनुहुन्छ प्रकाश पौडेल । उहाँलाई पत्रकार खरेलले सोध्नुभयो ‘यो अवधारणा कसरी आयो ? पौडेलले बीरेन्द्रनगरको बढ्दो शहरीकरण सँगसँगै ठोस फोहोरमैला र दिसाजन्य लेदो दुवै तनावको भएको बिषय स्मरण गर्नुभयो ।
विगतमा कहिले रोडको साईटमा कहिले खोलाखोल्सीमा फोहोर फाल्दा विरोध आएको र सक्सन ट्याङ्करले दिसाजन्य लेदो उठाए पनि फाल्ने ठाउँको अभावमा कहिले खेत तथा खोलामा र कहिले वनजंगलमा फाल्दै आएको बताउनुभयो ।
‘सबै ठाउँमा विरोध भएपछि अब हामीले ल्याण्डफिल साईट चाहिं बनाउनै पर्छ भनेर नगरपालिका लागि पर्यो । ल्याण्डफिल साईटको सम्भाव्यता अध्ययन पछि जग्गा प्राप्ति, डिपीआर, वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कामको सुरुवात गर्यो ।’ उहाँले भन्नुभयो ‘यसमा दिसाजन्य लेदोको प्लान्ट पनि समावेश गर्नुपर्ने थियो । अन्यत्र बनाए जग्गा प्राप्तिको समस्या हुने भएपछि यसै ठाउँमा ठोस फोहोरमैला र दिसाजन्य लेदोको एकीकृत प्लान्ट बनाउनुपर्छ भन्ने सोचले हामी अगाडि बढ्यौं ।’
योजना तथा वातावरण शाखा प्रमुख पौडेल भन्नुहुन्छ ‘त्यसै बीचमा नगरपालिकाले सिटी स्यानिटेसन प्लान बनाउने भयो । सिटी स्यानिटेसन प्लानमा उल्लेख भएका ७ वटा मुख्य उद्देश्य मध्ये दिसाजन्य लेदोको उचित व्यवस्थापन पनि एक थियो । यो बिषयलाई पनि यसैमा समेटेर जानुपर्छ भनेर एसएनभी नेपालसँग पनि ल्याण्डफिल साईटका लागि लिएको जग्गामा नै डिपीआर बनाउन प्रस्ताव गर्यौं । विज्ञ टोलीले सोही अनुसार डिपीआर बनाउनुभयो ।’
डिपीआर बनाउन देखि दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि एसएनभी (SNV) मार्फत सञ्चालित वास दिगो विकास लक्ष्य कार्यक्रम (WASH SDG Programme) ले सहयोग गरेको हो । परियोजनाका वास अफिसर पार्वती दंगालका अनुसार अहिले प्रशोधन केन्द्रको क्षमता ५ हजार लिटर प्रति दिन रहेको छ । तर हाल प्रति दिन १४ हजार लिटर प्रशोधन गर्नुपर्ने माग छ । यसका लागि जनसंख्या वृद्धि हुने प्रक्षेपणको आधारमा प्रशोधन क्षमता तत्काल बढाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रशोधन प्लाण्टलाई रोज गार्डेनको रुपमा विकास गर्ने मेयरको योजना
दिसाजन्य लेदो प्रशोधन प्लाण्ट अहिले पनि आकर्षक छ । प्रशोधन प्लान्टमा लगाएको बेसारे फूलले जो कोहीको मन नलोभ्याउने कुरै हुँदैन । प्लाण्टमा पुग्नेहरु अहिले पनि फोटो खिच्ने, टिकटक बनाउने गर्छन् ।
यसको थप सौन्दर्य बढाउने योजना छ नगरपालिकाको । प्लाण्टको वरिपरि गुलावका फूलहरु रोपेर रोज गार्डेन (गुलावको बगैंचा) बनाउने नगरपालिकाको योजना रहेको मेयर मोहन माया ढकाल (भण्डारी) ले सुनाउनुभयो । यसबाट आन्तरिक पर्यटकलाई आकर्षित गराई दिसाजन्य लेदो प्रशोधन सम्बन्धी सन्देश वस्ती वस्तीमा पुर्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ ।
‘हामीले आम नागरिकलाई सेप्टिक ट्याङ्क सफा गर्नुपर्छ र यो खालको व्यवस्थापन गर्नुपर्छ भन्ने धारणा बसाउनुछ । सेप्टिक ट्याङ्की जस्तो बनाए पनि हुने भन्ने सामाजिक सोचाईलाई परिवर्तन गरेर घरभित्र बनाईने बाथ रुम, सेप्टिक ट्याङ्कीहरु व्यवस्थित तरिकाले बनाउनुपर्छ भन्ने चेतना फैलाउनुछ । यस कार्यबाट यी सन्देश घरघरसम्म पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ’ उहाँले भन्नुभयो ।
दिसाजन्य लेदोबाट ६ लाख रुपैयाँ राजश्व
जत्तिबेला सुर्खेतमा दिसाजन्य लेदो प्रशोधन केन्द्र थिएन, त्यत्तिबेला बर्षातमा पानी परेको बेला नालामा बगाईदिने, सेप्टिक ट्याङ्क खोलिदिने चलन पनि थियो । जसले गर्दा जनस्वास्थ्य उच्च जोखिममा थियो ।
दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न थालेपछि गत आर्थिक बर्षमा ६ लाख रुपैयाँ राजश्व संकलन भएको मेयर भण्डारीले बताउनुभयो । नगरबासीले सेप्टिक ट्याङ्क खाली गराए बापत तिर्ने रकम नगरपालिकाको राजश्वमा जम्मा हुन्छ ।
नगरपालिकाले सेप्टिक ट्याङ्क सफा गर्दा ८ हजार रुपैयाँ लिदै आएको छ ।
दिगोपनका लागि विजनेस मोडेल
बढ्दो जनसंख्या र शहरीकरणले गर्दा अहिलेको प्लान्टले धान्न नसक्ने अवस्था छ । जनसंख्याको अनुपातमा यसको क्षमता करिब तीन गुणा बढाउनुपर्ने मेयर भण्डारीले बताउनुभयो ।
यसको दिगोपनका लागि विजनेस मोडेलमा लैजाने नगरपालिकाको योजना छ । ‘मल बिक्रीबाट हुने आम्दानी र सेप्टिक ट्याङ्क खाली गर्दा लिईने सेवा शुल्कलाई मात्र व्यवस्थित गर्न सक्यौं भने यो सञ्चालन गर्न कुनै गाह्रो छैन भन्ने कुरा सुरुवाती चरणले नै बताईसकेको छ ।’ उहाँले भन्नुभयो ।
बीरेन्द्रनगर नगरपालिकामा गरिएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनले नागरिकलाई स्वस्थ सँग बाँच्न पाउने अधिकारको प्रत्याभूत गराएको छ । यसका साथै दिसाजन्य लेदो फोहोर मात्रै नभई आम्दानीको स्रोत पनि हो भने मान्यता स्थापित गराएको छ ।