सुर्खेत : उच्च अदालत सुर्खेतले चौकुने गाउँपालिका – ५ रेक्चाका बासिन्दालाई खानेपानी आपूर्ति गर्ने बिषयमा विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिए पछि यत्तिबेला रेक्चामा चौतर्फी ध्यान केन्द्रित भएको छ । रेक्चाका बासिन्दालाई कसरी खानेपानी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा तीनै तहको सरकारका प्रमुख तथा प्रतिनिधीहरुको ध्यान केन्द्रित भएको हो ।
खानेपानीको अभावग्रस्त क्षेत्रमा जसरी भए पनि खानेपानी उपलब्ध गराउनुपर्छ भन्ने पक्षमा महानिर्देशक रहेको उहाँले जानकारी गराउनुभयो ।
रेक्चाका नागरिकलाई खानेपानी आपूर्तिको व्यवस्था मिलाउनुपर्ने माग गर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र सुर्खेत जिल्ला इन्सेक कार्यक्रम अधिकृत परिस्कृत पौडेलले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै उच्च अदालत सुर्खेतका का.मु. मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलको एकल इजलासले चौकुने गाउँपालिका– ५ रेक्चाका बासिन्दालाई आवश्यक पर्ने खानेपानी आपूर्ति गर्न के कसरी प्रवन्ध गर्न सकिन्छ ? सो को विवरण प्राविधिक समेतको सहयोगमा तयार गरी लिखित जवाफ पेश गर्न गत शुक्रबार चौकुने गाउँपालिकालाई आदेश दिएको थियो ।
अदालतले आदेश दिएको दुई दिन पछि नै तीनै तहको सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरु रेक्चा पुगे । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारको संयोजकत्वमा गएको टोलीले रेक्चामा निर्माणाधीन बेतखोला खानेपानी आयोजनाको समस्याबारे स्थानीय बासिन्दासँग व्यापक छलफल गर्यो । टोलीले समस्या समाधानका लागि सरोकारवाला निकायहरु बीच समन्वय गरी आवश्यक पहल गर्ने निर्णय गरेर फर्केको छ ।
के हुन सक्छ त रेक्चाबासीको खानेपानी समस्याको समाधान ? अनुगमन टोलीमा संलग्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका प्रमुख ई.देवेन्द्र कुमार झा भन्नुहुन्छ ‘रेक्चामा ४ बर्ष अघि सुरु भएको बेतखोला लिफ्टिङ खानेपानी आयोजनालाई पूर्णता दिन नसके पनि दुई स्टेजमा सोलारको प्रबन्ध मिलाउन सके तत्काल खानेपानी वितरणको प्रबन्ध मिलाउन सकिन्छ ।’ बेतखोलाको पानी लिफ्टिङ गरी बस्तीमा वितरण गर्ने उद्देश्यले सुरु भएको खानेपानी आयोजना विद्युत अभावका कारण लिफ्टिङ गर्न सकेको छैन ।
पानी लिफ्टिङको लागि आवश्यक विद्युत सोलारबाट आपूर्ति गर्ने बिषयमा आफूले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी समक्ष जानकारी गराएको र खानेपानीको अभावग्रस्त क्षेत्रमा जसरी भए पनि खानेपानी उपलब्ध गराउनुपर्छ भन्ने पक्षमा महानिर्देशक रहेको उहाँले जानकारी गराउनुभयो ।
‘मैले रेक्चाको बास्तविक अवस्था श्रीमान् महानिर्देशक ज्यू र योजना तथा वैदेशिक सहायता शाखाका प्रमुख बीरेन्द्र कँडेल ज्यूलाई दर्शाएँ । उहाँहरु अन्यत्रको बजेट कटाएर भए पनि रेक्चाका बासिन्दालाई खानेपानी पुर्याउनुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ’ आयोजना प्रमुख झाले भन्नुभयो ।
के हो बेतखोला खानेपानीको वास्तविकता ?
चौकुने गाउँपालिका वडा नं. ५ वेतखोलामा रहेको मूलको पानी रेक्चासम्म पुर्याउने उद्देश्यले साढे चार बर्ष अघि वेतखोलामा खानेपानी आयोजना सुरु भएको हो । दुई स्टेजमा बेतखोलाको पानी ५ सय ८० मिटर भर्टिकल हाईटमा लिफ्टिङ गरी पानी वितरण गर्ने लक्ष्य रहे पनि आयोजना अलपत्र अवस्थामा छ । संघीय तथा स्थानीय सरकारबाट १ करोड २६ लाख रुपैयाँ लागतमा निर्माण सुरु भएको खानेपानी तत्काल सम्पन्न हुने छाँट देखिएको छैन ।
खानेपानी योजनाका लागि ल्याएका विजुलीका तार, ट्रान्समिटर र खानेपानीका पाइपहरु रेक्चामा यत्रतत्र छरिएका अवस्थामा छन् । बजेट अभाव देखाउँदै निर्माणको जिम्मा पाएको रबिन्द्र निर्माण सेवा पनि आयोजनाबाट हात झिक्ने अवस्थामा छ ।
खानेपानी लिफ्टिङको लागि बेतखोलासम्म ट्रान्सटिमर पुर्याउन करिब ३.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने र यसका लागि ५० लाख भन्दा बढी बजेट आवश्यक पर्ने आयोजना प्रमुख झाले बताउनुभयो । ‘सडक खनेर ट्रान्सटिमर पुर्याएर विद्युतको प्रबन्ध मिलाउन समय लाग्ने देखिन्छ । त्यसैले सोलारबाट विद्युत आपूर्ति गर्न सक्यौं भने मलाई लाग्छ यही आर्थिक बर्ष भित्र रेक्चाका बासिन्दालाई खानेपानी खुवाउन सक्छौं’ आयोजना प्रमुख झाले भन्नुभयो ।
पानीका लागि चौकीदार, एक घरलाई दुई गाग्रीको दर
रेक्चाबासीका लागि पहिले १८ वटा परम्परागत कुवाहरु थिए । काठको माध्यमबाट निर्माण गरिएका परम्परागत कुवाहरु सुकेपछि दुई बर्ष अघि बेलायत सरकारको सहयोगमा उद्योग पर्यटन तथा वन मन्त्रालयले घिर्नीको माध्यमबाट पानी निकाल्न मिल्ने सिमेन्टको कुवा निर्माण गरेको हो ।
अहिले गाउँभरिका लागि चार वटा कुवा सञ्चालनमा छन् । ती कुवाबाट चौकुने गाउँपालिका ५ को हाडेकाँद, जेपाला, खेत र रेक्चा बस्तीका गरी ९० घरधुरीले खानेपानी उपभोग गर्छन् ।
खानेपानीको अभावका कारण एक घर बराबर दुई गाग्री (करिब ३५ लिटर) मात्र पानी भर्न पाउने सामाजिक नियम छ रेक्चामा । पानी चोरी हुने डरले कुवामा चौकीदारको व्यवस्था गरिएको छ । तिनै चौकीदारले बढीमा दुई गाग्रीसम्म पानी दिन्छन् । यस बापत आफूलाई हरेक घरले एक एक पाथी गहुँ दिने गरेको चौकीदार जगत शाहीले बताउनुभयो ।
‘म त छक्क परें । दुई गाग्रीभन्दा बढी पानी भर्न नपाईने यहाँको सामाजिक नियम नै रहेछ’ आयोजना प्रमुख झा भन्नुहुन्छ ‘गाईवस्तु, नुहाईधुवाई, खाना र पिउन पनि दुई गाग्रीले नै पुर्याउनुपर्छ रे । एक्काईसौं शताब्दीमा पनि अड्कलेर पानी पिउनुपर्ने यो कस्तो विडम्बना ?’
घिर्नीको प्रयोग गरी जमिनमुनिको पानी तान्दा आउने भएकाले डिप बोरिङ गर्दा पनि पानी आउन सक्ने र यसका लागि भौगर्विक अध्ययन हुनुपर्ने उहाँको भनाइ छ । ‘वेतखोलाको पानी ल्याउन नसकिए हाल कुवा भएकै एरियामा डिप बोरिङ गर्दा लागतको हिसाबले पनि किफायती हुन सक्छ कि ? यसतर्फ पनि सोच्नुपर्छ’ आयोजना प्रमुख झाले भन्नुभयो ।
गाउँमा हुने विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारमा भने केही बढी पानी दिने गरिएको चौकीदार शाहीले बताउनुभयो । ‘बिहान ६ बजेदेखि १० बजेसम्म पानी वितरण गरिन्छ । त्यसपछि पानी संकलन हुन दिईन्छ’ उहाँले भन्नुभयो ।
पानीको अभाव हुने समय पुस देखि असार महिनासम्म चौकीदार राख्ने र बर्षातको समयमा कुवा भरिएर पानी बाहिर आउने भएकाले चौकीदार बस्नु नपर्ने उहाँले बताउनुभयो । धेरै पानी आवश्यक परे पाँच घन्टा लगाएर रानागैराबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।
अनुगमन टोलीमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार सहित खानेपानी तथा सिँचाई निर्देशनालय सुर्खेतका निमित्त निर्देशक श्रीधर भट्टराई, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख ई.देवेन्द्र कुमार झा, निमित्त जिल्ला समन्वय अधिकारी तुलबहादुर नेपाली, निर्माण व्यवसायी अम्मर ढोली, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका इन्जिनियर महेन्द्रसिं चौधरी थारु, प्राविधिक सुरथकुमार पुरी, चौकुने गाउँपालिकाका इन्जिनियर रोशन सापकोटा, चौकुने गाउँपालिका वडा नं. ५ का सदस्य तपेन्द्र बुढा क्षेत्री लगायत हुनुहुन्थ्यो ।
पाँच वर्षअघिसम्म रेक्चामा करिब १२० घरधुरी थिए । अहिले ९० घरधुरीमा सीमित भएको छ । पानीको अभावकै कारण पाँच वर्षको अविधिमा ३० घरपरिवार रेक्चाबाट बसाइँ सरेर अन्य गएका छन् ।
http://यो पनि पढ्नुहोस् https://washkhabar.com/np/2023/05/12/30186
http://यो पनि पढ्नुहोस् https://washkhabar.com/np/2023/05/10/30145