सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन केन्द्रबाट ६ लाख आम्दानी हासिल गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन केन्द्रबाट ६ लाख रुपैयाँ राजश्व संकलन गरेको नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) बताउनुभयो ।
टेलिभिजन कार्यक्रम ‘टक अफ द टाउन’ मा पत्रकार जगदिश खरेलसँग नगरप्रमुख भण्डारीले भन्नुभयो ‘दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण हुनु अघि बर्षातमा पानी परेको बेला नालामा बगाईदिने, सेप्टिक ट्याङ्क खोलिदिने चलन थियो । जसले गर्दा जनस्वास्थ्य उच्च जोखिममा थियो । तर अहिले यी तमाम समस्या हटेको छ, गत आर्थिक बर्षमा ६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।’
नगरबासीले सेप्टिक ट्याङ्क खाली गराए बापत तिर्ने रकम नगरपालिकाको राजश्वमा जम्मा हुन्छ । नगरपालिकाले सेप्टिक ट्याङ्क सफा गर्दा ८ हजार रुपैयाँ लिदै आएको छ ।
बढ्दो जनसंख्या र शहरीकरणले गर्दा अहिलेको प्लान्टले धान्न नसक्ने अवस्था छ । जनसंख्याको अनुपातमा यसको क्षमताबृद्धि गर्न सके राजश्व समेत तेब्बर बढ्न सक्ने सम्भावना छ । एस.एन.भी. नेपाल मार्फत सञ्चालित वास दिगो विकास लक्ष्य (WASH SDG) कार्यक्रमकी वास अफिसर पार्वती दंगालका अनुसार अहिले प्रशोधन केन्द्रको क्षमता ५ हजार लिटर प्रति दिन रहेको छ । तर हाल प्रति दिन १४ हजार लिटर प्रशोधन गर्नुपर्ने माग छ ।
प्रशोधन केन्द्रबाटै आम्दानी बृद्धि गर्ने अर्को उपाय पनि छ, त्यो हो प्रशोधन केन्द्रमा उत्पादित मलको विक्री वितरण । यसलाई ‘विजनेस मोडेल’ भन्न रुचाउनुहुन्छ नगर प्रमुख भण्डारी । ‘यसको दिगोपनका लागि विजनस मोडेल अपनाउँदैछौं । मल बिक्रीबाट हुने आम्दानी र सेप्टिक ट्याङ्क खाली गर्दा लिईने सेवा शुल्कलाई मात्र व्यवस्थित गर्न सक्यौं भने यो सञ्चालन गर्न कुनै गाह्रो छैन भन्ने कुरा सुरुवाती चरणले नै बताईसकेको छ ।’ उहाँले भन्नुभयो ।
दिसाजन्य लेदो प्रशोधन थप सौन्दर्य बढाउने योजना छ नगरपालिकाको । केन्द्रको वरिपरि गुलावका फूलहरु रोपेर रोज गार्डेन (गुलावको बगैंचा) बनाउने नगरपालिकाको योजना रहेको मेयर भण्डारीले सुनाउनुभयो । यसबाट आन्तरिक पर्यटकलाई आकर्षित गराई दिसाजन्य लेदो प्रशोधन सम्बन्धी सन्देश वस्ती वस्तीमा पुर्याउन सकिने उहाँको विश्वास छ ।
‘हामीले आम नागरिकलाई सेप्टिक ट्याङ्क सफा गर्नुपर्छ र यो खालको व्यवस्थापन गर्नुपर्छ भन्ने धारणा बसाउनुछ । सेप्टिक ट्याङ्की जस्तो बनाए पनि हुने भन्ने सामाजिक सोचाईलाई परिवर्तन गरेर घरभित्र बनाईने बाथ रुम, सेप्टिक ट्याङ्कीहरु व्यवस्थित तरिकाले बनाउनुपर्छ भन्ने चेतना फैलाउनुछ । यस कार्यबाट यी सन्देश घरघरसम्म पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ’ उहाँले भन्नुभयो ।
बीरेन्द्रनगर नगरपालिकामा गरिएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनले नागरिकलाई स्वस्थ सँग बाँच्न पाउने अधिकारको प्रत्याभूत गराएको छ । यसका साथै दिसाजन्य लेदोलाई उचित तरिकाले व्यवस्थापन गर्न सक्दा आम्दानीको स्रोत बन्न सक्छ भन्ने मान्यता पनि स्थापित गरेको छ ।