बीरेन्द्रनगर नगरपालिकाको पहिलो प्राथमिकता : सुरक्षित र दिगो सरसफाइ

संस्थागत, सार्वजनिक र सामुदायिक सरसफाइ एकैसाथ अघि बढाउँदै

  वास खबर सम्वाददाता  1000 पटक हेरिएको

सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाले सुरक्षित, व्यवस्थित र दिगो सरसफाइलाई केन्द्रमा राखेर विकास निर्माणका अन्य कामहरुलाई अगाडि बढाईरहेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम, आवधिक योजना, बजेट विनियोजन र कार्यक्रममा पनि सुरक्षित सरसफाइले स्थान पाउन थालेको हो ।

नगरपालिकाकी मेयर मोहन माया ढकाल भन्नुहुन्छ ‘सरसफाइको कुरामा हामी गम्भीर छौं । हाम्रा नीति तथा कार्यक्रम र बजेटमा सरसफाइलाई पहिलो स्थान दिएका छौं ।’

नगरपालिकाले सरसफाइको क्षेत्रमा केही नवीन काम गर्न खोजेको दाबी गर्दै उहाँले सरसफाइ र सफा नगर भएमा हेर्दा सफा देखिने मात्र नभई मानवीय स्वास्थ्य, वातावरणीय सरसफाइ र जलवायु परिवर्तन जस्ता पक्ष पनि जोडिने भएकाले सरसफाइलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

साप्ताहिक टेलिभिजन कार्यक्रम ‘टक अफ द टाउन’ को छायांकनका लागि सुर्खेतको बीरेन्द्रनगरमै पुग्नु भएका पत्रकार जगदिश खरेलसँग कुराकानी गर्दै उहाँले नेपाल सरकारले विशेष अनुदानका लागि योजना आव्हान गर्दा समेत पहिलो नम्बरमा ल्याण्डफिल साईट व्यवस्थापनको योजना प्रस्ताव गरेको बताउनुभयो ।
‘यसबाट के प्रमाणित हुन्छ भने हामीले सरसफाइलाई अरु बिषय भन्दा कम महत्व दिएका छैनौ’ उहाँले भन्नुभयो ।

हेर्नुहोस् कार्यक्रम ‘टक अफ द टाउन’ :

बीरेन्द्रनगरलाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गरिने

बीरेन्द्रनगर नगरपालिकालाई आफ्नै कार्यकालमा पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने उहाँको संकल्प छ । यसका लागि पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । कतिपय टोलहरु ‘सफा र स्वच्छ टोल’ पनि घोषणा भईसकेका छन् । यथासम्भव कार्यकालको मध्यावधिमै पूर्ण सरसफाइयुक्त घोषणा गर्ने गरी योजनाबद्ध ढंगले काम भईरहेको उहाँले बताउनुभयो ।


‘जस्तो पोष्ट ओडिएफको कुराहरु अगाडि बढाईरहेका छौं । खानेपानी तथा सरसफाइसँग जोडेर वास युनिट भनेर मेयरकै अध्यक्षतामा हुने कमिटी पनि गठन गरेर कामहरु अगाडि बढाईसकेका छौ । हामीले विकास साझेदारसँग साझेदारी गरेर काम गरिरहेका छौं’ मेयर ढकाल भन्नुहुन्छ ‘नगरपालिकाको फोहोर व्यवस्थापनको क्रममा एस.एन.भी.नेपालको साझेदारीमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्‍यौं ।’

नगरपालिका, विकास साझेदार संस्था र टोल विकास संस्था अर्थात समुदाय सँगको त्रिपक्षीय साझेदारीमा काम गर्दा राम्रो परिणाम आएको अनुभव सुनाउँदै उहाँले विशेष गरी सामाजिक विकासको काममा नागरिक समाजलाई पनि परिचालन गरिने बताउनुभयो ।

गैरीगाउँ टोल ‘सफा र स्वच्छ क्षेत्र’

गैरी गाउँ बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ मा पर्ने एउटा टोल हो । वडा भरिमा जम्मा १४ वटा टोल छन् । ती मध्ये गैरीगाउँ ‘सफा र स्वच्छ क्षेत्र’ घोषणा भईसकेको टोल हो ।


गैरीगाउँलाई सफा र स्वच्छ क्षेत्र बनाउन स्थानीय बासिन्दाको प्रमुख भूमिका छ । गैरीगाउँ टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर मगरका अनुसार सुरुमा प्लाष्टिकमुक्त टोल घोषणा गरौं भनेर सुरुवात गरिएको अभियानबाट सफा र स्वच्छ क्षेत्रसम्मको यात्रा तय भएको हो ।

अध्यक्ष मगर भनुहुन्छ ‘प्लाष्टिकमुक्त घोषणा गर्नका डस्टबिनहरुको व्यवस्था गर्‍यौं । त्यसपछि सुन्दर नेपाल संस्था, एस.एन.भी. नेपाल, वडा र नगरपालिकाले पनि एकदमै सहयोग र सरसल्लाह दिनुभयो । चर्पीको प्रयोग देखि हात धुने तरिकाबारे टोलबासीलाई नै प्रशिक्षण दिनुभयो ।’

टोलका सबै घरपरिवारले सफा र स्वच्छ क्षेत्र निर्माणका लागि व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइ पूरा गरेपछि वडा कार्यालय, सुन्दर नेपाल र एसएनभीले संयुक्त रुपमा अनुगमन गरी बीरेन्द्रनगर नगरपालिकाकै पहिलो सफा र स्वच्छ टोल घोषणा गरिएको अध्यक्ष मगरले बताउनुभयो ।

टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरेपछि सरसफाइ सम्बन्धी मानिसको व्यवहारमा परिवर्तन भएको छ । यसको फलस्वरुप टोल भित्रका सडक तथा गल्ली र नाली तथा घरआँगनको वातावरणमा पनि स्वच्छ भएको छ । गैरीगाउँ टोल विकास संस्थाकी उपाध्यक्ष गीताकुमारी तिवारी भन्नुहुन्छ ‘पहिले जताततै प्लाष्टिक र कागज छरिएको हुन्थ्यो, नालाहरु पनि फोहोरै फोहोर हुन्थ्यो । मानिसले कामको व्यस्तता देखाएर दैला अगाडि पनि सरसफाइ गर्दैनथें । जब यो कार्यक्रमको निरन्तरता भयो, मानिसमा जागरण आयो ।’

पहिले जस्तो गैरीगाउँ अहिले छैन । एउटा घरले अर्को घरलाई सिकाएर भए पनि टोलभरिकै सरसफाइ भईरहेको छ । टोलमा तीनवटा लाइन छन् । ती तीनवटै लाइनमा प्रत्येक हप्ता सरसफाइ गर्ने गरिएको, घरको अवस्था अनुसार प्रत्येक घरमा साबुन पानीले हात धुने व्यवस्था मिलाएको र चर्पीको समेत राम्रो व्यवस्थापन भईरहेको उपाध्यक्ष तिवारीले सुनाउनुभयो ।

गैरीगाउँ टोल विकास संस्था एकदम सक्रिय छ । टोलका हरेक घरपरिवारले सरसफाइका सबै मापदण्डहरुको परिपालना गरेका छन् । चर्पीको समुचित प्रयोग, सफा भान्छा, सुरक्षित खानेपानी, बाटोघाटो तथा वातावरणीय सरसफाइ, फोहोरमैलाको उचित व्यवस्थापनका लागि टोल विकास संस्था निरन्तर लागि रहेका छन् । सुरुमा टोल टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्दै वडालाई घोषणा गर्ने र सबै वडाहरुलाई सफा र स्वच्छ क्षेत्र घोषणा पछि सिङ्गो नगरपालिका नै सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने नगरपालिकाको योजना छ ।

सार्वजनिक शौचालयलाई दोब्बर बनाईने

समुदायस्तरमा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको बीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक स्थानहरुलाई समेत सफा र स्वच्छ राख्न सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । नगरपालिकाले पार्क, बजारक्षेत्र र भीडभाड हुने स्थानमा सार्वजनिक शौचालयहरु निर्माण गरी सञ्चालनमा ल्याएको छ । यद्यपि यो अपुग छ । हाल नगरभरिमा १४ वटा सार्वजनिक शौचालयहरु सञ्चालनमा छन् ।


ती मध्ये बुलबुले पार्कमा निर्माण भएका दुईवटा र पिपल चौतारीको स्वचालित सफाइ शौचालय (अटो क्लिनिङ टोइलेट) गरी तीन वटा शौचालय एस.एन.भी. नेपालको सहयोगमा निर्माण गरिएको हो । नगरपालिका तथा विभिन्न साझेदार संस्थाको सहयोगमा बनेका अन्य सार्वजनिक शौचालयहरु समेत एसएनभीकै डिजाइनमा बनिरहेको एस.एन.भी.नेपाल मार्फत सञ्चालन भईरहेको वास दिगो विकास लक्ष्य कार्यक्रमकी वास अफिसर पार्वती दंगालले बताउनुभयो ।

बीरेन्द्रनगर नगरपालिकामा सिटी स्यानिटेसन प्लान बनिसकेको छ । जस अन्तर्गत सार्वजनिक शौचालयको संख्या २५ पुर्‍याउने नगरपालिकाको योजना छ । ‘यो हाम्रै योजनामा छ । त्यसपछि बीरेन्द्रनगर नगरपालिका भित्र सार्वजनिक शौचालयको समस्या हुने छैन । त्यो पनि विकासको एउटा एजेण्डा भित्र राखेका छौं । यो हाम्रो प्रतिबद्धता हो’ मेयर ढकालले भन्नुभयो ।

नगरभित्रका स्कुल स्मार्ट बन्दै

बीरेन्द्रनगरपालिकाले संस्थागत सरसफाइमा पनि जोड दिदै आएको छ । यस अन्तर्गत नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वनमा विशेष जोड दिदै आएको छ ।


नगरपालिकाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता अवस्थाको सुधार गरी तीन तारे विद्यालय बनाउन ‘स्मार्ट स्कुल’ को अवधारणा अगाडि बढाएको छ । ‘नेपाल राष्ट्रिय माध्यमिक विद्यालय’ यस्तै स्कुल मध्येको एक हो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई किन ‘स्मार्ट विद्यालय’ भन्ने ? विद्यालयका प्रधानाध्यापक गणेश कुमार न्यौपाने भन्नुहुन्छ ‘हामीले विद्यालयको सरसफाइ, चर्पीको समुचित प्रयोग, सुरक्षित खाजा, सुरक्षित खानेपानीको व्यवस्था, छात्राहरुको महिनावारी स्वास्थ्य तथा सरसफाइको व्यवस्था मिलाएछौ ।’

उहाँका अनुसार विद्यालयलाई स्मार्ट बनाउन स्वच्छ पानीको व्यवस्था गरिएको छ । विद्यार्थी धेरै भएपनि फिल्टर गरेर मात्र पानी पिउने व्यवस्था मिलाएको छ । विद्यार्थीको अतिरिक्त विद्यालयको शौचालय सफा गर्नका एक जना सफाइ कर्मचारी राखिएको छ । विद्यालयको वातावरणीय सरसफाइ र हरियाली प्रबर्द्वनका लागि विरुवा पनि रोपिएको छ ।

विद्यालयको एउटा शौचालय अगाडि र अर्को गेट नजिक गरी दुई वटा हात धुने स्थान छन् । प्रत्येक हात धुने स्थानमा साबुन राखिएको छ । अर्को कुरा पत्रु खाजालाई विद्यालयले निरुत्साहित गर्दै आएको छ । विद्यार्थीहरुको झोलामा पत्रु खाजा नेल पलिस, लिपिस्टक जस्ता अतिरिक्त फेसनका कुराहरु भेट्टाएमा अफिसमा बुझाउने गरिएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।

प्रधानाध्यापक न्यौपानेका अनुसार हात धुने स्टेसन, शौचालयको सरसफाइ, महिनावारी स्वच्छताको लागि सामग्रीहरुको व्यवस्थापन, फोहोर संकलन गर्ने बाल्टिन भए नभएको निगरानी गर्न विद्यार्थीको समूह बनाई परिचालन गरिएको छ ।

 

पाले दाइसँग पनि प्याड

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बालिकाहरुलाई महिनावारी भएको समयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराईन्छ । महिनावारी भएको समयमा बालिकाहरुले सुलभ तरिकाले प्याड प्राप्त गर्न सकुन् भन्ने हेतुले पालेले समेत वितरण गर्न सकिने व्यवस्था मिलाएको छ ।


‘विद्यालयमा नर्स नियुक्ति हुनुभन्दा पहिले महिला कर्मचारी हुनुहुन्थ्यो, उहाँँसँग नै प्याड माग्ने बानी पारिएको थियो । ‘अहिले प्याड माग्न विद्यार्थी बहिनीहरुले म्याडम नै कुर्नु पर्दैन ।’ प्रधानाध्यापक न्यौपाने भन्नुहुन्छ अहिले त पाले दाइ, शिक्षक जो कोहीले पनि दिनुहुन्छ ।’

स्यानिटरी प्याडको सहज उपलब्धता भएपछि छात्रा उपस्थिति दर बढेको र छात्राहरु पनि छात्र सरह प्रतिस्पर्धा गर्न सक्ने भएको विद्यालयकी शिक्षिका बताउँछन् । ‘पहिले प्याड फेने ठाउँ नै थिएन, भिज्यो भने घर जानुपर्ने बाध्यता थियो । आउँदा आउँदै पिरियड भएमा बहाना बनाएर घर जान्छु भनेर फर्किनु पर्ने अवस्था थियो’ विद्यालयकी एक शिक्षिकाले पीडा सुनाउनुभयो ।

तर अहिले अवस्था फेरिएको छ । अहिले सजिलै उपलब्ध भएपछि सजिलै प्याड चेन्ज गरेर डस्टबिनमा राख्न सकिन्छ । उहाँका अनुसार अहिले छात्रा अनुपस्थित हुने, बीचैमा विद्यालय छोडेर घर जाने भन्ने समस्या समाधान भएको छ ।

बालिकाहरु समेत प्याडको सुलभ उपलब्धताले महिनावारी भएको समयमा पनि पठनपाठन नरोकिएको बताउँछन् । ‘पेट दुख्यो भने आमाले नै स्कुल नजाऊ भन्नुहुन्थ्यो । प्याड लाएर आए पनि फेर्ने ठाउँ नहुँदा बेरेर ब्यागमा लिएर लैजानुपर्थ्यो ।’ एक जना छात्राले भनिन् ‘अहिले त मिन्स भयो के गर्ने होला ? भनेर आत्तिनुपर्ने अवस्था छँदै छैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार