
अर्घाखाँची : यहाँस्थित ठूलापोखराका ज्ञानप्रसाद पाण्डे ०४८ सालमा उपभोक्ता समितिको उपाध्यक्ष भएर गाउँमा खानेपानी योजना सम्पन्न गर्ने काम गरे । उपल्लो टिकुरे मुहानबाट गाउँसम्म आठ किलोमिटर आयोजना ३० लाख रुपैयाँ लगानीमा एकै वर्षमा सम्पन्न भएर गाउँमा पानीका धारा खसेको थियो । टोलका धारामा पानी थापेर गाग्रीमा घरमा ल्याउन पाउँदा स्थानीय खुसी थिए ।
तत्कालीन ठूलापोखरा गाउँ विकास समितिका ९ वटा वडाभित्र त्यतिबेला घरधुरी संख्या ७ सय ५० थियो । अहिले घरधुरी ९ सय ८० पुगेको छ । उतिबेला सबैलाई पुगेको खानेपानी अहिले नपुगेर लिफ्ट प्रविधिका योजना सञ्चालन छन् । ‘पानी नपुग्नुको कारण घरधुरी बढेर होइन,’ ७२ वर्षीय पाण्डेले भने, ‘त्यति बेला पिउने पानीको धारामा कपडा धुन हुँदैन भन्ने नियम थियो । पाइखानामा एक लोटा पानीले पुग्थ्यो, गाउँमा मेलापातको काममा व्यस्त हुँदा महिनामा एक पटक नुहाउने र कपडा धुने गरिन्थ्यो ।’ अहिले दैनिक नुहाउने, धारामा ब्रस गर्ने, कपडा धुने गर्छन् । घरधुरी संख्या बढे पनि जनसंख्या उस्तै छ ।
उतिखेर राष्ट्रिय योजना अन्तर्गत सम्पन्न भएको खानेपानी गाउँमा निःशुल्क वितरण भएको थियो । त्यो पानीलाई अब गाउँलेले मासिक शुल्क तिरेरै प्रयोग गर्न पाउनेछन् । ‘सुरुदेखि अन्तिम घरसम्म पुग्दा बीचमा पानी चोरी भयो, पाइपमा प्वाल पारेर, पाइप काटेर दुरुपयोग भएर अन्तिम टोलबस्तीका घरले पानी पाएनन्,’ वडाध्यक्ष कमल पौडेलले भने, ‘अब पूरै नियन्त्रण गरेर सबैलाई एकै तरिकाले वितरण गर्न लागेका छौं ।’
मिटर प्रणाली लागू हुने
प्रत्येक घरमा मिटर प्रणाली लागू हुनेछ । त्यसका लागि छत्रदेव गाउँपालिकाले गत वर्ष १ करोड रुपैयाँ बजेटबाट स्ट्रक्चर निर्माण र यो आर्थिक वर्षको १ करोडबाट मिटर जडान, जीपीआई पाइपलाइन विस्तार, ट्यांकी निर्माण र मुहान मर्मत गरिने उनले बताए । यस्तो गरेपछि सबै उपभोक्ताका घरमा समान ढंगबाट पानी उपलब्ध हुन्छ । चोरीको समस्या नहुने उनको तर्क छ ।
यसरी मिटर प्रणालीबाट वितरण गरिने पानी प्रत्येक घरले मासिक १ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वडाध्यक्ष पौडेलले बताए । काम धमाधम भइरहेको छ । यति पानीले मात्रै ठूलापोखरालाई पुग्दैन । खोलाबाट लिफ्ट गरिएको छ । ५ वर्षअघि सालबोट दुब्दी खोलाबाट लिफ्ट गरेर गाउँमा ल्याइयो ।
३५ घरलाई मिटर प्रणालीबाट वितरण गरिएको छ । एक वर्षअघि सालकोटफेरा लिफ्ट आयोजनाबाट १ सय ८० घरधुरीलाई पानी वितरण भएको छ । थप २ सय घरधुरीलाई पानी उपलब्ध गराउन असिदचौवा उरामथुम खानेपानी लिफ्ट आयोजना निर्माणाधीन छ । त्यसबाट २ सय घरधुरीलाई पानी वितरण गरिने उनले बताए ।


493 पटक हेरिएको 

