सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकामा हिजोआज खानेपानीका निवेदनहरु हराउँदैनन् । खानेपानी र सरसफाइ आयोजनासँग सम्बन्धित फाइलहरु खोजेको समयमा भेटिन्छन् । खानेपानी र सरसफाइका बिषयहरु कहाँ पेश गर्ने होला भनेर अल्मलिरहनु पनि पर्दैन ।
गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्र हेर्न ‘वास फोकल पर्सन’को व्यवस्था गरेपछि खानेपानी र सरसफाइ सम्बन्धीका कामहरु गर्न सजिलो भएको हो । पालिकाले वास फोकल पर्सन तोकेपछि आर्थिक बर्ष २०७८/०७९ मा मात्र २० वटा खानेपानी आयोजनाहरु दर्ता भएका छन् । चालु आर्थिक बर्षमा भने १५ वटा भन्दा बढी खानेपानी आयोजनाहरु दर्ता हुन आएको वास फोकल पर्सन सुर्जा खत्रीले बताउनुभयो ।
त्यसअघि खानेपानीको मूल तथा संस्था दर्ता गर्न चाहे पनि कानुन र खानेपानी हेर्ने छुट्टै निकायको अभाव थियो । जसले गर्दा खानेपानी र सरसफाइमा सहकार्य गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु पनि अलमलमा पर्थे ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
खानेपानी र सरसफाइ सम्बन्धी योजना कार्यान्वयनमा पनि सघाउ
बराहताल गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) जलउपयोग गुरुयोजना लगायत खानेपानी र सरसफाइ सम्बन्धी योजनाहरु बनाएको छ । यसको कार्यान्वयनका लागि समेत ‘वास फोकल पर्सन’ को सहयोगी भूमिका रहँदै आएको छ । वास फोकल पर्सन सुर्जा खत्री भन्नुहुन्छ ‘हामी खानेपानी र सरसफाइ सम्बन्धी जत्ति पनि काम गर्छौ, वास प्लान र जल उपयोग गुरुयोजनालाई नै आधार बनाएर गर्छौ ।’ उहाँका अनुसार जल उपयोग गुरुयोजनाको प्राथमिकीकरण अनुसार ९ वटा योजनालाई कर्णाली जल परियोजनाको साझेदारीमा कार्यान्वयन भईरहेको छ ।
खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) कार्यान्वयनमा पनि आफ्नो तर्फबाट सक्दो प्रयास भईरहेको उहाँले बताउनुभयो । वास प्लानमा निर्दिष्ट योजनाहरुलाई बजेट बिनियोजन गर्ने र कार्यान्वयनमा लैजाने कुरामा आफ्नो तर्फबाट निरन्तर पैरवी गरिरहेको उहाँले बताउनुभयो ।
‘जुन जुन बस्तीमा खानेपानी पुगेको छैन, ती बस्तीहरुलाई फोकस गरेर क्रमिक रुपमा सबै बस्तीहरुमा एक घर एक धारा पुर्याईसक्ने गरेर योजना छनौट गरिएको छ । आगामी बर्ष गत बर्ष भन्दा बढी बजेट विनियोजन हुने सम्भावना धेरै छ ।’ उहाँले भन्नुभयो । खानेपानी योजना निर्माणतिर बजेट विनियोजन भईरहेको भए पनि सरसफाइ क्षेत्रमा भने कम बजेट विनियोजन भएको उहाँको अनुभव छ ।
वडाबाट छुट्टिने बजेटहरु समेत वास प्लानकै आधारमा छुट्याउनुपर्ने, खानेपानीसँगै फोहोरमैला व्यवस्थापन र सरसफाइ क्षेत्रमा पनि बजेट विनियोजन गर्न आवाज उठाईरहेको उहाँले बताउनुभयो । ‘बराहताल गाउँपालिकाको सबै घरमा एक घर, एक धारा जस्तै स्वच्छता र सरसफाइ पनि पुर्याउनुपर्छ भनेर आवाज उठाईरहेकी छु’ उहाँले भन्नुभयो ।
वास एलायन्स इन्टरनेसनल र सिमाविद्वारा सञ्चालित वास दिगो विकास लक्ष्य (वास एसडिजी) कार्यक्रम अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को साझेदारीमा बराहतालमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाईएको हो । कार्यक्रम अन्तर्गत नै खानेपानी र सरसफाइ सँग सम्बन्धित बिषयमा सम्पर्क गर्न गाउँपालिकाले वास फोकल पर्सन तोकेको हो ।
‘फोकल पर्सन नहुँदा खानेपानी र सरसफाइ क्षेत्र लथालिङ्ग हुन्छ’ बराहताल गाउँपालिकाकी वास फोकल पर्सन सुर्जा खत्रीको अनुभवले यही तथ्य बोल्छ । ‘वास फोकल पर्सन तोकेपछि सम्बन्धित सबैलाई सहजता भएको छ’ खत्री भन्नुहुन्छ ‘उपभोक्तालाई पनि सहजता, तोकेको मान्छे भएपछि फलानो ठाउँमा फलानोलाई भेट्नु भनेपछि सेवाग्राहीलाई पनि सजिलो हुन्छ । विभिन्न संघसंस्थालाई पनि समन्वय गरेर काम गर्न सजिलो हुन्छ ।’
स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता (वास) को छुट्टै शाखा वा ईकाई स्थापना हुन सके खानेपानी र सरसफाइ सम्बन्धी बिषयले धेरै प्राथमिकता पाउने र नभए वास फोकल पर्सन अनिवार्य तोक्नुपर्ने उहाँको सुझाव छ ।