जहाँ शिक्षक विद्यार्थीको पिसाबले विद्यालयमै फलाईन्छ तरकारी र फलफूल

सुर्खेत : विद्यालयको अगाडि पट्टि खेलमैदान छ । पछाडि पटिट् लगाईको छ विभिन्न जातका तरकारीहरु । हरेक तरकारीको नाम र बेर्ना लगाएको मिति पनि सँगै टाँस गरिएको छ । यसले विद्यार्थीहरुलाई तरकारीको जात चिन्न, उम्रिन र हुर्किन लाग्ने समयबारे जानकारी हासिल गर्न पनि सजिलो भएको छ ।

झाडीले ढाकिएको क्षेत्रलाई फडानी गरी शिक्षक विद्यार्थी मिलेर तरकारी खेती लगाउन थालिएको हो । विद्यालयमै तरकारी खेतीको सुरुवात गर्ने विद्यालय अरु कतैको नभई सुर्खेतको बराहताल गाउँपालिकाको वडा नंं. ३ नरसिंकाँडा (बत्तीसे) स्थित बराह आधारभूत विद्यालय हो । यस विद्यालयले विद्यालयमै तरकारी तथा फलफूल खेती गरेको मात्र छैन, फलाएर पनि उपभोग गरिरहेका छन्, त्यो पनि शिक्षक विद्यार्थीको पिसाब प्रयोग गरेर ।


यसका लागि चर्पीको पिसाब घरबाट सीधै बाहिरपट्टिको ड्रममा पिसाब जम्मा हुने व्यवस्था मिलाएको छ । विद्यालयमै तरकारी खेतीको सुरुवात हुनुमा एउटा राम्रो संयोग जुरेको रहेछ । त्यो हो विद्यालयमै तरकारी खेती गर्ने अवधारणा र मलको रुपमा पिसाबलाई प्रयोग गर्न सकिने ज्ञान ।

प्रधानाध्यापक प्रदीप अधिकारीका अनुसार दिवा खाजाको लागि बजारबाट तरकारी खरिद गर्दा विद्यालयको निक्कै रकम बाहिर गयो । त्यसको सट्टा विद्यालयमै तरकारी खेती गर्न पाए उक्त रकम बाहिर नजाने निश्कर्षमा पुग्यो । त्यही बेला एन्फो संस्थाले पिसाबलाई समेत मलको रुपमा प्रयोग गर्न सकिने तरिका बताएपछि विद्यालयमै तरकारी फलाउने अवधारणालाई झनै बल पुग्यो ।

सीमाबि र वास एलायन्स इन्टरनेसनलको सहयोगमा सञ्चालित वास दिगो विकास लक्ष्य कार्यक्रम (वास एसडिजी प्रोग्राम) वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकामा सञ्चालन गरिरहेको छ । कार्यक्रमले खानेपानी, सरसफाइ र स्वच्छतामा पहुँच अभिवृद्धि गर्न विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थाहरु र समुदायमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

विद्यार्थीले सिकेको सीप घरमा पनि अवलम्बन

नरबहादुर बराल मगरको घर वरपर विभिन्न जातका तरकारीहरु हुर्किने क्रममा छन् । विद्यार्थीले स्कुलमा सिकेको खेती सम्बन्धी सीप घरसम्म विस्तार भए पछि नरबहादुर जस्ता धेरैको घरमा हरियो सागसब्जी फलाउन थालिएको छ ।

हरेक विद्यार्थीले घरमा पनि मौसम अनुसारको तरकारी फलाउने गरेको उहाँको भनाइ छ । ‘स्कुलमा सिकेको सीप हामीलाई पनि सिकाउँछन्, अब बाजे भन्दा नाती जान्ने भएका छन्, यसो गर्नुपर्छ बाजे भन्दै हामीलाई सिकाउँछन्’ नरबहादुरले भन्नुभयो ।


विद्यालयकी शिक्षिका सुमित्रा पन्तका अनुसार विद्यार्थीहरुले हप्ताको एक दिन अतिरिक्त क्रियाकलापको समयमा मात्र करेसाबारीमा समय प्रदान गर्छन् । उनीहरुले अतिरिक्त क्रियाकलापको दिन मल बनाउने, विरुवा गोडमेल गर्ने, मल हाल्ने, बेर्ना राख्ने लगायत काम गर्छन् । निरन्तर मल हालेपछि माटोको गुणस्तर पनि बढेको छ ।

पिसाब मल मात्र विरुवाका लागि पर्याप्त नभएपछि अभिभावकले पनि विद्यालयलाई मल उपलब्ध गराउँछन् । अभिभावकलाई भने मलको सट्टामा बेर्ना दिने गरिएको छ । यसले गर्दा घरमा पनि तरकारी खेती गर्ने बानीको विकास भएको छ । स्कुलमा फलाएको अर्गानिक तरकारी दिवा खाजामा शिक्षक विद्यार्थीले नै उपभोग गर्छन् ।

विद्यार्थीहरुले तरकारी बेर्ना विक्री बाट केही आयआर्जन समेत गर्न थालेका छन् । शिक्षिका सुमित्रा पन्तका अनुसार यसबर्ष प्याज, कोभी र टमाटरको विरुवाबाट ४ हजार ८ सय आर्जन गरिएको छ । उक्त रकमबाट विद्यालयमा आवश्यक खेलकुदका सामग्री खरिद गरिएको छ भने केही बीजन किन्नका लागि छुट्याईएको छ ।

केरा खेती पनि सँगसँगै


विद्यालयले ठूलो मात्रामा केरा खेती समेत गर्न थालेको छ । पहिले देखि नै केरा खेती गर्दै आएको भएपनि ठूलो मात्रमा यस बर्षदेखि मात्र गर्न थालेको हो । विद्यालयले हालै सय बोट केराको बोट थप गरेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । विभिन्न विद्यालयले पेश गरेको प्रस्तावना मध्ये बराह आधारभूत विद्यालयको प्रस्तावना एन्फोले स्वीकृत गरी केही प्रोत्साहन रकम समेत उपलब्ध गराएपछि केरा खेतीलाई बढावा दिन थालेको हो ।

बालबालिकाहरुलाई हप्ताको एक बार दिवा खाजामा केरा दिने गरिएको छ । केरा बाह्रै महिना उत्पादन हुन्छ । सानो बोटमा समेत फल्न थालेपछि विद्यालयले बाहिर किनिरहनु नपर्ने विद्यालयको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार