हेय महिनावारी कारण, प्रभाव र समाधान

  मैत्रेयी शर्मा  1125 पटक हेरिएको

पृष्ठभूमि

मैत्रेयी शर्मा

रजश्वला एउटा सामान्य जैविक प्रकृया हो । साथै प्रजनन् स्वास्थ्यको एउटा प्रतिक पनि अथवा सामान्य तरिकाबाट भन्नुपर्दा सृष्टि संचालनका लागि महिलामा हुने विशेष आमा बन्ने क्षमता विकास हुनु समेत हो । यद्यपी नेपाल सहित दक्षिण एसियन मुलुकका केही क्षेत्र र समूदायमा महिनावारीलाई प्राकृतिक विशेषता, जैविक विशेषता, प्रजनन् स्वास्थ्यको एक प्रतीकको रुपमा लिनु भन्दा पनि लाजमर्दो विषय, धार्मिक रुपमा पापको अंश जस्ता नकारात्मक विषयको रुपमा विश्लेषण गरिन्छ भने नेपालमा करीव ९५ प्रतिशत महिलाहरु रजस्वाला भएको समयमा सामाजिक तथा सास्कृतिक क्रियाकलापहरुमा सरिक हुँदैनन् ।

मर्यादित महिनावारी नीतिमा उल्लेख भए अनुसार नेपालमा १०० मा ४७ प्रतिशत महिलाहरु प्रजनन् उमेर समूहका रहेका छन् (मर्यादित महिनावारी नीति, २०७५) जसमा ५७.६ प्रतिशत महिला सामाजिक क्रियाकलापमा भाग लिंदैनन्, २.९ प्रतिशत छाउ गोठमा बस्छन्, २.७ प्रतिशत गोठमा बस्छन्, २.३ प्रतिशत किशोरीहरु महिलनावारीको समयमा विद्यालय जाँदैनन्, २५ प्रतिशत महिला अलग कोठा प्रयोग गर्छन् भने ८.८ प्रतिशत महिलाहरु छुट्टै स्थानमा नुहाउँछन् ।

(MICS, २०१९) यस अनुसार हेर्ने हो भन् प्रायः महिलाहरु कुनै न कुनै प्रकारले महिनाको ४ दिने फरक जीवन यापन गरिरहेका छन् जसको प्रभावले स्वास्थ्यमा त नकारात्मक प्रभाव परेकै छ यसका अलावा सामाजिक र आर्थिक प्रभाव पनि निकै डरलाग्दो रहेको छ जस्तै कि दिउँसो कमाएर बेलुका छाक टार्ने परिवार महिनावारी बार्नुपरेको कारण काम गर्न जान नपाउने सामाजिक नियमका कारण उनी सहित परिवार महिनाको ४ दिन भोकै बस्नु पर्ने अवस्था रहेको छ ।

दीगो विकास लक्ष्यमा प्रभाव

महिनावारी जस्तो संवेदनशील विषयलाई एक घृणित र आधा आकाश ढाकेका महिलालाई नै मानवीय हिसाबले तल्लो दर्जाको बनाइने एवम् यस विषयको मौनताले लाखौं महिला एवम् युवतीहरुलाई शारीरिक रुपमा उनीहरुलाई के भइरहेको छ समेत जानकारी नै छैन जसले अन्तर्राष्ट्रिय मानवीय कानून समेतलाई चुनौती दिइरहेको छ ।

हेय महिलनावारीकै कारण नेपाल सरकारले समेत स्वीकृती जनाएको दीगो विकास लक्ष्यको १ को गरिवी निवारण, ३ को राम्रो स्वास्थ्य र सम्पन्नता, ४ को गुणस्तरीय शिक्षा, ५ को लैगिंक समानता, ६ को सफा पानी र सरसफाइ, ९ को उद्योग, नवीनता र संरचना, १० को असमानता हटाउनु र १७ को लक्ष्यका लागि सहभागिता प्राप्त गर्न समेत उर्जावान् हर महिला महिनाको ४ दिन उत्पादनशील कार्यमा लाग्न नपाउने र महिनावारी बार्नु परेकै कारण मात्र पोषणयुक्त खाना र सरसफाइको कमीका कारण अस्वस्थ हुनुको साथै मानसिक रुपमा विचलित हुनुले चुनौती थपिदिएको छ ।

महिनावारीका कारण महिला पछाडी पारिनुको तथ्य

आधा आकाश ढाकेका महिलाहरुलाई यसरी पछाडी पारिनुको कारण नियाल्नुपर्दा धार्मिक तथा सामाजिक कारण नै बढी दोषी देखिन्छ । विशेषगरी नेपालको पश्चिमी क्षेत्रका महिलाहरु महिनावारी बार्नु पर्ने पीडाबाट बढी आक्रान्त छन् भने भने पूर्वी समूदायमा अलि कम भए पनि समस्या भने बहसमा ल्याउन बाध्य पारिने नै छ जसले सरसफाइ र स्वच्छतामा चुनौती थपिदिएको छ ।

खासगरी धार्मिक रुपमा भन्नुपर्दा परापूर्वकालमा भगवान् इन्द्रजीले ब्राह्मण हत्या गरेको र सो बाट बच्न महिलाहरुमा हुने मासिक स्राबबाट सो पाप काटियोस् भनेको हँुदा महिनावारी बार्नुपरेको र यो नबारेको अवस्थामा महिनावारी नबार्ने महिला र पुरुष दुबैको नर्कबास हुने भन्ने कथा गरुड पुराणमा उल्लेख गरिएको छ जसको डरले यस कुप्रथा आजको दिनमा पनि कुनै कुनै तरिकाबाट समाजमा लागू छ र यसबाट बच्नका लागि महिनावारी बार्दा बार्दै पनि अज्ञानताबश वा झुक्किएर गल्ति भएमा सो पाप काट्नका लागि हरेक भाद्र महिनामा हरितालिका तीज पछिको दोस्रो अथवा तेस्रो दिन पर्ने ऋषिपञ्चमीका दिन ३६५ दतिवनको पात र डाँठको प्रयोग गर्दै जौ, तील, कुश, गाईको गहुँत, दूध मिसाइएको पानीले नुहाएर सप्तऋषिको पूजा गर्नुपर्ने अन्धविश्वास समेत रही आएको छ जसले महिनावारीलाई अत्यन्तै ठूलो पापको रुपमा व्याख्या गरेको छ ।

महिनावारीका कारण हुने सामाजिक वञ्चितीकरण


विशेषगरी महिनावारी हुँदा पश्चिमी समूदायमा छाउ गोठमा गई अलगै बस्नुपर्ने नियम छ भने पूर्वी भेगमा घरमै बस्ने प्रचलन भएको भए तापनि ३ दिन सम्म पानी बार्नु पर्ने, सो समयमा भान्सामा काम गर्न, पूजाको काम गर्न, धार्मिक तथा सांस्कृतिक काम गर्न, पुरुष वर्गहरु कसैलाई पनि छुन नहुने, ४ दिन पछि अरु ठाउँमा गए पनि पूजा गर्न नमिल्ने र ७ दिन पछि मात्र पूर्ण रुपमा चोखो हुने नियम छ । साथै प्रथम पटक महिनावारी हुने किशोरीहरुलाई ४ दिन घरमा राख्न नहुने, लुकाउनु पर्ने, बाबु तथा दाजुभाइलाई हेर्न नहुने, सूर्यको दर्शन गर्न नहुने भनाइ रहेको छ साथै प्रथम पटक रजश्वाला भएकी किशोरी सर्वथा अपवित्र भएको हुँदा नीजले टेकेको धर्तीमा दूबो समेत नउम्रने अन्धविश्वास हाल पनि ग्रामीण परिवेशमा रहेको छ ।

विगतका दिनमा प्रथम पटक रजश्वाला भएका किशोरीहरुलाई २२ दिन र दोस्रो पटक १५ दिन सम्म लुकाउने चलन भए पनि हाल यसमा परिवर्तन आइसकेकोे छ यद्यपी महिनावारी बार्ने चलनमा भने आधुनिकीकरणका कारण झन् असहजता थपिएको छ । पुरातन समाजमा हालको जस्तो स्यानिटरी प्याडहरु बजारमा नआउने र यसको वैज्ञानिक कारण पनि थाहा नभएको हुँदा पापको कारण देखाइ केही काम गर्न नलगाइने नियममा हाल परिवर्तन भई त्यस समयमा घर र भान्छा नछोए पनि झन् धेरै घर बाहिरका शारीरिक कार्य गर्ने, ननुहाउने, सरसफाइ र स्वच्छता ख्याल नगर्ने प्रचलन बढ्न थाल्यो जसले हिजोका दिनमा कोठामै सीमित रहँदा हुने जत्तिको सरसफाइ पनि नहुन थालेको छ । यसले गर्दा महिलाहरुमा बाँझोपना, रजश्वाला हुँदा हुने सरसफाइका कमीका कारणले लाग्ने रोगहरु जस्तै स्त्री रोगहरु, पिसाब तथा मृगौला सम्बन्धी रोगहरु समेत लाग्न थालेका छन् ।

हेय महिनावारी समाधानका आधार

हाल सम्म पनि यस्ता जे जस्ता समस्या भएको भए पनि यी समस्या समाधान गर्न जब सम्म महिनावरीलाई एउटा सामान्य र प्राकृतिक विषयको रुपमा लिनु भन्दा पनि पाप वा लज्जाको विषय मानिन्छ तब सम्म खासै सामाजिक परिवर्तन ल्याउन सकिंदैन । तसर्थ महिनावारीलाई एउटा सामान्य प्रकृया जसरी पुरुषको दारी जुङा आउनुलाई सामान्य ठानिन्छ त्यस्तै मानी यस सम्बन्धी लज्जा हटाउँदै महिनावारी सम्बन्धी भएका हर मौनतालाई तोड्नुपर्छ जसका लागि एकल प्रयास सम्भव नभएको हुँदा व्यक्ति, विद्यालय, परिवार र समाज नै लाग्नुपर्दछ ।

विद्यालय स्तरमा शिक्षक शिक्षिकाले महिनावारी सम्बन्धमा खुलेर कुरा गर्ने वातावरण मिलाउनुको साथै सुरक्षित प्याडको प्रयोग तथा विद्यालय व्यवस्थापन समितिले सो को व्यवस्थापनका लागि उचीत स्थानको व्यवस्थागर्ने, किशोरीहरु विद्यालय आएका छैनन् भने कतै महिनावरीकै कारण नआएका हुन् की सोधपुछ गरी महिनावारी विषयलाई सामान्य बनाइ विद्यालय आउन प्रेरित गर्ने, परिवारमा परिवारका प्रत्येक सदस्यले परिवार भित्र सो समयमा पनि अरु बेलामा जस्तै घुलमिल हुन सहज बनाउने, पोषिलो खाना खुवाउने, महिनावारीका कारणले पेट दुखेको अवस्थामा नआत्तिन सल्लाह दिंदै तातो पानीले सेक्न, तातो खान, आराम गर्न लगाउने र त्यति गर्दा पनि सन्चो नभए चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्न लगाउनुपर्छ भने सामाजिक रुपमा महिनावारीको विषयमा लिइने नकारात्मक चासोलाई अन्त्य गर्न जरुरी छ ।

यति मात्र नभइ स्वच्छ र मर्यादित महिनावारीका लागि हरेक घर परिवारमा आमा र परिपक्वता हासिल गरेका दिदी, फुपू र भाउजूको भूमिका अझ बढी रहेको हुन्छ किनकि उनीहरुको भोगाइ यसमा प्रथम पटक महिनावारी भएका किशोरीहरुलाई भन्दा बढी हुन्छ । उनीहरुले सो समयमा महिनावारी हाम्रो शरीरमा केही अनर्थ भएको नभइ शरीर परिपक्व हुदै गएको एउटा अवस्था हो भनी सिकाउनु पर्छ ।

यसका साथै महिनावारी भएका किशोरीहरुलाई महिनावारी भए पछि मात्र सल्लाह दिने भन्दा पनि सो उमेरको हुन थाले पछि महिनावरी सुरु हुनु अगावै यसको बारेमा आवश्यक जानकारी गराउनु पर्दछ । यसले उनीहरु परिवारको सामीप्यता भन्दा बाहिर रहेका बेलामा प्रथम पटक महिनावारी भए पनि नआँत्तिइकन सो को व्यवस्थापन गर्न सक्षम हुन्छन् । यसका साथै हाम्रो समाजमा महिनावारीको रगतलाई दुषित र अस्वस्थ रगत भन्ने भ्रम रही आएको छ जुन सही होइन यो बाहिर निस्कदा जसरी हात काट्दा बगेको रगत स्वच्छ हुन्छ त्यस्तै स्वच्छ हुन्छ बाहिर निस्केर जब अव्यवस्थित, हुन्छ तब मात्र अस्वस्थ हुने हो ।

महिनावारीका समयमा परिवारमा आमाको भूमिका महत्वपूर्ण र दोहोरो हुन्छ । किनकी एकातिर उनी आफै महिनावारी हुन्छिन् भने अर्कोतिर आफ्ना छोरीहरु पनि हुन्छन् जसले गर्दा उन्ले आफू सो समयमा स्वच्छ रही आफ्ना छोरीहरुलाई पनि सिकाउनु पर्छ । यसका साथै महिनावारीका सन्दर्भमा भएका हर जागरणमूलक कार्यक्रममा सबै क्षेत्रले किशोरीहरुलाई मात्र सहभागी नबनाई आमाहरुलाई पनि परिवर्तनको प्रमुख संवाहक मानी कार्यक्रममा उपस्थित गराउनु पर्छ किनकी महिनावारीको सम्बन्ध परापूर्वकाल देखि नै धर्म संस्कारसंग जोडिएको छ र संस्कार धेरै जसो अमाबाट बच्चामा सर्दै जाने हुन्छ ।

यसैगरी महिनावारीका समयमा महत्वपूर्ण भूमिका विवाहित महिलाहरुका लागि श्रीमान्को पनि हुने गर्दछ किनकि परिवारमा रहेका अन्धविश्वसी धारणा तोड्न छोरीहरुलाई जति सहज बुहारीहरुलाई नहुन सक्तछ । यस अवस्थामा आफ्ना बाबुआमालाई सम्झाउनका लागि श्रीमान्को भूमिका महत्वपूर्ण हुने गर्दछ । त्यसैगरी महिनावारीको समयमा किशोरी तथा महिलाहरुमा हर्मोनल परिवर्तन हुने हुँदा झिंजो लाग्ने, रीस उठ्ने, मानसिक छट्पटी हुने लगायतका समस्या देखिने हुँदा यसलाई परिवारले सामान्य मानिदिनुपर्छ ।

संस्थागत हिसाबले हेर्ने हो भने हरेक कार्यालयहरु महिला मैत्री बनाउने, महिनावारीको समयमा सहज बनाउन कार्यालयमा प्याडको उचीत व्यवस्थापन तथा चेन्जिङ स्थानको व्यवस्था, फिल्ड कर्मचारीहरु रहेका छन् र उनीहरुलाई फिल्ड जान असहज भएको छ भने उक्त समयमा कार्यालयमै बसेर काम गर्न वा सहज कामका लागि व्यवस्था मिलाइदिने, महिनावारीकै कारण बिसन्चो भएको भए सो दिन विषेश बिरामी बिदा उपलव्ध गराउने लगायतका व्यवस्था गर्न आवश्यक हुन्छ ।

राज्यका आर्थिक, समाजिक लगायत दीगो विकास लक्ष्य समेत प्राप्त गर्न बाधा पारेको यस समस्या समाधानका लागि व्यक्ति, परिवार र संस्था मात्र नभई राज्यले पनि उत्तिकै योगदान पु¥याउनु पर्ने अवस्था खड्किसकेको छ जसका लागि, प्रभावकारी ऐन तथा नीति निर्माण गरी कार्यान्वयन गराउन समेत जरुरी रहेको छ ।

निष्कर्ष

महिनावारीलाई सूक्ष्म रुपमा केलाएर हेर्ने हो भने जैविक रुपमा यो एक अति सामान्य प्रकृया हुँदा हुँदै पनि सामाजिक अन्धविश्वास र कुरीतकिा कारण आधा आकाश ओगटेका महिलाहरु महिनाको चार दिन पूर्णतः पृथक पारिएका छन् जसले राष्ट्रिय मात्र नभई विश्वव्यापी विकासको आधार मानिएको दीगो विकास लक्ष्य प्राप्तिका लागि समेत बाधा गरिरहेको छ । सामान्य देखि मृत्यु सम्म पुर्‍याउने जटिल समस्या निम्त्याएको यस जल्दोबल्दो समस्याका समाधानका लागि व्यक्ति, परिवार, संस्था हुँदै राज्य समेत लाग्नुपर्ने टड्कारो आवश्यकता तत्कालै देखिएको छ ।

लेखक नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्रदेश कार्यालय, सिन्धुलीका प्रमुख हुनुहुन्छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार