कुनै पनि सार्वजनिक भौतिक संरचनाहरूबाट उपभोक्ताहरू लामो समयसम्म लाभान्वित हुन् भनेर निर्माण गरिएको हुन्छ । यस्तासंरचनाहरू दिगो भएमा तिनमा गरिएको लगानीको असुली पनि सोही मात्रामा हुने गर्दछ । तर धेरैजसो निर्माणकालमा लिइने यस्तो सोचभन्दा वास्ताविकता भने फरक हुने गरेको पाइन्छ । खानेपानी क्षेत्रको कुरा गर्ने हो भने पनि ठूलो लगानी र मेहेनतका साथ निर्माण भएका खानेपानी आयोजनाहरूबाट उपभोक्ताहरूले अपेक्षित लाभ हासिल गर्न नसकेको वास्तविकता हाम्रा सामुन्ने छ ।
किनभने नेपालमा हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरूमध्ये २८ प्रतिशत मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्कले देखाउँछ । त्यसैगरी ३८ प्रतिशत आयोजनाहरूलाई सानातिना मर्मतको आवश्यकता छ । करीब ३४ प्रतिशत आयोजनाहरूलाई ठूलो मर्मत, पुनःस्थापना वा पुनःनिर्माणको आवश्यकता रहेको देखिन्छ ।
यसै क्रममा, नेपाल स्वास्थ्यको लागि पानी (नेवा) द्वारा हेलो अनुगमन गरिएका ४८६ खानेपानी आयोजनाहरूमध्ये ८१ प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा रहेको पाइएको छ । त्यसैगरी १५ प्रतिशत आयोजनाहरू आंशिक रूपमा सञ्चालनमा रहेको र चार प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा नरहेको देखिन्छ ।
यसै सन्दर्भमा, नियमित अनुगमन र हेलो अनुगमनबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरी गरिएको एक अध्ययनले केही रोचक निष्कर्ष निकालेको छ । यस अध्ययनले खानेपानी आयोजनाहरू दीर्घकालसम्म चल्दो अवस्थामा राख्ने कारक तत्वहरू पहिल्याउने प्रयास गरेको छ । खानेपानी आयोजनाहरूको चल्दो अवस्था हुनुमा विभिन्न तत्वहरूले अहम भूमिका निर्वाह गर्ने गरेका हुन्छन् । विभिन्न तत्वहरूको सार्थक संयोजनबाट नै उच्चदरको चल्दो अवस्था हासिल गर्न सकिन्छ । प्रभावकारी कार्यान्वयन, सार्थक समन्वय, सक्रिय समुदाय, जगेडा सामग्रीको जोहो, व्यवस्थित मर्मत संभार कोष, सक्रिय मर्मत कार्यकर्ता र अनुगमनमा अभिनव जस्ता तत्वहरूले अहम भूमिका खेल्दछन् ।
प्रभावकारी कार्यान्वयन
नेपालको ग्रामीण क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सेवाहरू पुर्याउन मुख्यतया तीन चरण पूरा गरेर सेवा प्रदान गर्न सकिन्छ । ती तीन चरणहरूमा आयोजना तयारी चरण, आयोजना कार्यान्वयन चरण र आयोजना कार्यान्वयनपछिको चरण पर्दछन् । यिनै विशेषताले नै कार्यान्वयन पद्धति प्रभावकारी हुन्छ ।
आयोजना तयारी चरणमा मुख्यतया कार्यान्वयन पूर्व गरिने क्रियाकलापहरू पर्दछन् । यस चरणमा पूर्व सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण र स्थानीय सरकार तथा अन्य सरोकारवालासँग समन्वय गरिन्छ । विस्तृत सर्वेक्षणबाट प्राप्त तथ्यांकको आधारमा खानेपानी प्रणालीको वातावरण संरक्षण र प्रकोप जोखिम न्यूनीकरण हुने गरी डिजाइन तथा लागत अनुमान तयार गरिन्छ । त्यसपछि दातृ निकायमा स्वीकृतिका लागि पठाइन्छ । दातृ निकायको स्वीकृतिपछि समाज कल्याण परिषद्मा स्वीकृतिका लागि पठाइन्छ । परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयन गरिन्छ ।
कार्यान्वयन चरणमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरी आयोजना सम्पन्न गरिन्छ । यस चरणको शुरुमा सार्वजनिक सुनुवाई कार्यक्रम र अन्तमा सार्वजनिक लेखापरीक्षण गरिन्छ । पालिका तथा उपभोक्ता समितिसँग सम्झौता गरी कार्यान्वयन चरणलाई अघि बढाउने कार्य गरिन्छ । आयोजनाको डिजाइन अनुसार निर्माण सामग्रीको जोहो गरेर यही चरणमा निर्माण कार्य सम्पन्न गरिन्छ । उपभोक्ताहरूको सक्रिय सहभागिता र श्रमदनबाट आयोजना सम्पन्न हुने भएकोले गर्दा अपनत्वमा अभिवृद्धि हुन्छ, जस्ले आयोजनालाई दीर्घकालसम्म चल्दो अवस्थामा राख्न मद्दत गर्दछ ।
यस्का अतिरिक्त स्वच्छता तथा सरसफाइ सम्बन्धी क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिन्छ । खानेपानी सुरक्षा योजना टोली गठन गरी परिचालन गरिनुका साथै पानी जाँच गरी गुणस्तर सुनिश्चित गर्ने गरिन्छ । हात धुने स्थान, भाँडा माझ्ने सुधारिएको स्थान र भाँडा सुकाउने स्थान जस्ता सरसफाइ तथा स्वच्छता अन्तर्गतका संरचनाहरू बनाउनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा निर्माण यसै चरणमा गरिन्छ । स्वच्छता तथा सरसफाइ सम्बन्धी क्रियाकलापहरू समुदाय तथा विद्यालय दुवैमा सञ्चालन गरिन्छ । राष्ट्रिय नीति अनुसार स्वच्छता तथा सरसफाइयुक्त समुदाय घोषणाको मापदण्ड पूरा गरेर घोषणा गरिन्छ ।
मर्मत कर्यकर्ताको छनौट र तालिम यसै चरणमा गरिन्छ । प्रारम्भिक तथा नियमित मर्मत सम्भार कोष संकलन पद्धति बसाल्ने काम यसै चरणमा हुन्छ । त्यसैगरी, खेर गएको पानीलाई व्यवस्थापन र करेसाबारीमा प्रयोग गर्न चेतना जागरण गर्ने कार्य गरिन्छ । समुदायबाट आयोजनाको नियमित स्व-अनुगमन गर्नुको अतिरिक्त स्थनीय सरकार,कार्यान्वयन कर्ता, दातृ निकाय, समाज कल्याण परिषद् लगायतका निकायबाट समेत अनुगमन कार्य गर्ने गराउने गरिन्छ ।
यसै चरणमा आयोजना सम्पन्न सहमति पत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कार्यान्वयन गर्ने संस्थार वडाको त्रिपक्षीय हस्ताक्षर गरिन्छ । आयोजना सम्पन्न भएसँगै फोटो संकलन, जिपिएस संकलन, प्रतिवेदन लेखन तथा सम्बन्धित निकायहरूमा पेश गर्ने कार्य यसै चरणमा सम्पन्न गरिन्छ ।
आयोजना कार्यान्वयन पछिको चरणमा आयोजना समापन पश्चात गरिने अन्तिम सर्वेक्षण र अनुगमन तथा मूल्याङ्कन कार्य गरिन्छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा आयोजना सम्पन्न भएपछिको नियमित अनुगमन र नियमित मर्मत सम्भार गर्ने गराउने सुनिश्चितता गरिन्छ । उपभोक्ता समितिद्वारा आयोजनामा नियुक्त गरिएको मर्मत कार्यकर्ताबाट खानेपानी आयोजनाको सानातिना मर्मत कार्यहरू गर्ने गराउने व्यवस्था मिलाउने कार्य गरिन्छ । उपभोक्ता समितिको नियमित बैठक र आयोजना मर्मत तथा सञ्चालनका लागि नियमित मर्मत सम्भार कोष संकलन गर्ने सुनिश्चितता गरिन्छ ।
नेवाका कर्मचारीहरूबाट दुई वर्षसम्म प्रत्येक वर्ष कम्तिमा एक पटक आयोजनाको दिगोपना र खानेपानी तथा सरसफाइ उपभोक्ताद्वारा गरिएको क्रियाकलापको अनुगमन गरिन्छ । त्यसैगरी, कार्यान्वयन पश्चातको अनुगमनको रूपमा हेलो अनुगमन, सेन्सर अनुगमन र टोल फ्री अनुगमन गर्ने गरिन्छ। खानेपानी सुरक्षा योजना टोलीले खानेपानी सुरक्षा योजनालाई निरन्तरता प्रदान गरी आयोजना सुचारु रूपमा सञ्चालन तथा पानीको गुणस्तर सुनिश्चत गर्ने कार्य गरिन्छ । ठूला मर्मत कार्यका लागि आवश्यक रकम जुटाउन गाउँ-नगरपालिका तथा दातृ निकायसँग समन्वय गर्ने गरिन्छ ।
सार्थक समन्वय
आयोजनाको छनौट चरणदेखि नै सरोकारवाला निकायसँग समन्वय गरिन्छ । स्थानीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा आयोजना छनौट गरिन्छ । जसले गर्दा दोहोरोपना हुन पाउँदैन । आवश्कता अनुसार संयुक्त लगनीमा समेत आयोजना सञ्चालन गरिन्छ । स्थानीय सरकारको कम्तिमा २५ प्रतिशत सह-लगानी हुन्छ भने आयोजना छनौट तथा कार्यान्वयनको क्रममा संयुक्त अनुगमन समेत गर्ने गरिन्छ । सार्थक समन्वयले स्थानीय सरकारहरू मार्फत खानेपानी तथा सरसफाइ बजेट बढाउन मद्दत गर्दछ ।
समन्वयको क्रममा वार्षिक समीक्षा कार्यशाला, संयुक्त अनुगमन भ्रमण र समन्वय बैठक गर्ने गरिएको छ । त्यसैगरी, समाज कल्याण परिषद् तथा संघीय सरकारका सम्बन्धित निकायहरूसँग पनि आवश्यकता अनुसार समन्वय गरिन्छ । तीनै तहको सरकारसँगको समन्वयका साथै यस क्षेत्रमा भएका असल अभ्यास र अनुसन्धानमा आधारित नीतिगत पैरवी गर्ने गरिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका समितिको सदस्य भएर संजालहरूको पहुँचमा अभिवृद्धि गर्दै सार्थक समन्वय गर्न सकिन्छ ।
सक्रिय समुदाय
खानेपानी आयोजना चल्दो अवस्थामा राख्न समुदायको महत्वपूर्ण भूमिका हुन्छ । समुदायको सक्रियता बमोजिम उपभोक्ता समितिहरू सक्रिय हुन्छन् । समुदायको भूमिका योजना तर्जुमा, कार्यान्वयन, नियमित अनुगमन, आयोजनाको सञ्चालन तथा व्यवस्थापन, र नियमित मर्मत संभार लगायतका कार्यहरूमा महत्वपूर्ण हुन्छ ।
हालसालै हेलो अनुगमन गरिएका ४८६ आयोजनाहरूको विश्लेषणबाट उपभोक्ता समितिहरूको सक्रियता र आयोजनाको चल्दो अवस्था बीच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । पूर्ण रूपमा सञ्चालित, आंशिक रूपमा सञ्चालित र चल्दो अवस्थामा नरहेका आयोजनाहरू र उपभोक्ता समितिहरूको बैठकको सम्बन्ध केलाउँदा सकारात्मक सम्बन्ध देखिएको हो ।
समग्रमा, ६४.४ प्रतिशत उपभोक्ता समितिहरू मासिक रूपमा बैठक बस्ने गरेको देखिन्छ भने १४.४ प्रतिशत उपभोक्ता समितिहरू त्रैमासिक रूपमा बैठक बस्ने गरेको देखिन्छ । बाँकी २१.२ प्रतिशत उपभोक्ता समितिहरूको बैठक नियमित रूपमा बस्ने गरेको देखिँदैन ।
त्यसैगरी, पूर्ण रूपमा सञ्चालित आयोजनाहरूको करीब दुई तिहाई उपभोक्ता समितिहरू मासिक रूपमा बैठक बस्ने गरेको पाइएको छ । आंशिक रूपमा सञ्चालित आयोजनाहरूको ५० प्रतिशत उपभोक्ता समितिहरू मासिक रूपमा बैठक बस्ने गरेको देखिन्छ भने चल्दो अवस्थामा नरहेको आयोजनाहरूको २५ प्रतिशत भन्दा बढी उपभोक्ता समितिहरू नियमित बैठक गर्दैनन् । यसर्थ उपभोक्ता समितिहरूको बैठक र आयोजनाहरूको चल्दो अवस्था बीच मध्यम स्तरको सकारात्मक सम्बन्ध रहेको देखिन्छ ।
जगेडा सामग्रीको जोहो
जगेडा सामग्री खानेपानी आयोजनाहरूलाई चल्दो अवस्थामा राख्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चाहिएको बेला जगेडा सामग्री उपलब्ध हुँदा आयोजनाहरूलाई चल्दो अवस्थामा राख्न मद्दत पुग्छ ।
हेलो अनुगमन अनुसार कुल १६,०३९ धाराका लागि उपभोक्ता समितिसँग १,१८३ वटा वासर, ३२२ वटा टुटी र ९९ वटा रेगुलेटिङ भल्भ मात्र उपलब्ध रहेको देखिन्छ । सर्वेक्षण अनुसार ४८६ आयोजनाहरू मध्ये ५६ आयोजनाहरूको उपभोक्ता समितिसँग मात्र टुटी रहेको देखिन्छ। त्यसैगरी, ५२ उपभोक्ता समितिसँग वासर र २९ उपभोक्ता समितिसँग मात्रै रेगुलेटिङ भल्भ रहेको छ ।
उपभोक्ता समितिले जगेडा सामग्री थोरै मात्रै राख्नुका साथै नजिकको बजारबाट चाहिएको बेला किनेर प्रयोग गर्ने गरेको पनि देखिन्छ । तसर्थ जगेडा सामग्रीको जोहो र खानेपानी आयोजनाको चल्दो अवस्थाबीच मध्यम स्तरको सकारात्मक सम्बन्ध रहेको देखिन्छ ।
व्यवस्थित मर्मत संभार कोष
मर्मत सम्भार कोषका लागि महशुल सङ्कलन महत्वपूर्ण हुन्छ । मर्मत कार्यकर्तालाई भुक्तानी गर्न र आवश्यकता अनुसार मर्मत सम्भार गर्न यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तसर्थ, आयोजना नियमित सञ्चालनका लागि मर्मत सम्भार कोषले अहम भूमिका खेलेको हुन्छ । हेलो अनुगमन गरिएका ४८६ आयोजनाहरू मध्ये ५९.१ प्रतिशत उपभोक्ता समितिले मासिक रूपमा कोष सङ्कलन गर्ने गरेको देखिन्छ भने २५.१ प्रतिशतले त्रैमासिक रूपमा सङ्कलन गरेको पाइएको छ । बाँकी १५.८ प्रतिशतले नियमित रूपमा सङ्कलन गरेका छैनन् ।
पूर्ण रूपमा सञ्चालनमा रहेका आयोजनाहरू मध्ये दुई तिहाई भन्दा बढीले मासिक रूपमा कोष सङ्कलन गरिरहेका छन् भने १८.२ प्रतिशतले त्रैमासिक रूपमा कोष सङ्कलन गरिरहेको देखिन्छ । बाँकी १५.४ प्रतिशतले कोष सङ्कलन गरेको देखिँदैन । त्यसैगरी, आंशिक रूपमा सञ्चालनमा रहेका आयोजनाहरूको ७५ प्रतिशतले त्रैमासिक रूपमा महशुल सङ्कलन गरिरहेको देखिन्छ । चल्दो अवस्थामा नरहेका आयोजनाहरू मध्ये ४९.३ प्रतिशतले त्रैमासिक रूपमा महशुल सङ्कलन गरेको देखिन्छ भने २१.१ प्रतिशतले कोष सङ्कलन गरेको देखिँदैन ।
आयोजनाको चल्दो अवस्था र मर्मत सम्भार कोष बीच सकारात्मक सम्बन्ध रहेको देखिन्छ । तसर्थ मर्मत सम्भार कोषको सार्थक संयोजनले नेपालको ग्रामीण खानेपानी आयोजनाको चल्दो अवस्था उच्च कायम गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
सक्रिय मर्मत कार्यकर्ता
मर्मत कार्यकर्ता खानेपानी प्रणालीको हेरचाह गर्ने एक दक्ष मानव संसाधान हो । आयोजनाहरूको कार्यान्वयनका क्रममा मर्मत कार्यकर्तालाई तालिम दिएर निर्माण कार्यम सहभागी गराइन्छ । त्यसपछि उपभोक्ता समितिले न्यूनतम पारिश्रमिक दिने गरी प्रणालीको सञ्चालन र मर्मत सम्भारका लागि मर्मत कार्यकर्तालाई खटाउने गरेको देखिन्छ ।
सर्वेक्षणको नतिजाले मर्मत कार्यकर्ताहरू सबै धाराहरू राम्रोसँग चल्दो अवस्थमा रहेको वा नरहेको हेर्न औसतमा हरेक वर्ष नौ पटक प्रणालीको भ्रमण गर्ने गरेको देखिन्छ । त्यस्तै, नेपालको ग्रामीण आयोजनाका सन्दर्भमा ६८ प्रतिशत मर्मत कार्यकर्ताले नियमित तलब पाएको र ३२ प्रतिशत मर्मत कार्यकर्ताले नियमित तलब नपाएको देखाएको छ ।
मर्मत कार्यकर्तालई मासिक भुक्तानी गर्ने आयोजनाहरूको चल्दो अवस्था उच्च रहेको पाइएको छ । पूर्ण रूपमा चल्दो अवस्थामा रहेका आयोजनाहरू मध्ये ७६ प्रतिशतले मर्मत कार्यकर्तालई मासिक रूपमा भुक्तानी गर्ने गरेको देखिन्छ । अंशिक रूपमा चल्दो अवस्थामा रहेका आयोजनाहरू मध्ये ५४ प्रतिशत र चल्दो अवस्थामा नरहेका आयोजनाहरू मध्ये ८५ प्रतिशत उपभोक्ता समितिले मर्मत कार्यकर्तालाई भुक्तानी नगरेको देखिन्छ ।
यसले सक्रिय मर्मत कार्यकर्ता र आयोजनाहरूको चल्दो अवस्था बीच सकारात्मक सम्बन्ध रहेको संकेत गर्छ । तसर्थ आयोजनाहरूलाई दीर्घकाल सम्म चल्दो अवस्थामा राख्न सक्रिय मर्मत कार्यकर्ताले अहम भूमिका निर्वाह गरिरहेको देखिन्छ ।
अनुगमनमा अभिनव
आयोजनाहरूलाई चल्दो अवस्थामा राख्न र दिगो बनाउनका लागि कार्यान्वयन पछिको अनुगमन तथा सहयोग आवश्यक हुन्छ । यस सन्दर्भमा नेवाले कार्यान्वयनपछिको अनुगमन संयन्त्र तथा सहयोगको पहल र अवलम्बन गरिरहेको छ । स्थलगत अनुगमनको अतिरिक्त अनुगमनमा अभिनवको रूपमा हवाई-पत्र अनुगमन, हेलो अनुगमन, सेन्सर अनुगमन र टोल-फ्री अनुगमनको प्रयोग गरिरहेको छ ।
नेवाले वि.सं. २०५२ देखि करीब एक दशकसम्म हवाई-पत्र अनुगमन पद्धतिको व्यापक प्रयोग गरेको थियो । संभावित समस्याहरूको सूची सहितको हवाई-पत्र छपाई गरी दुई वर्षलाई पुग्ने गरी उपभोक्ता समितिलाई दिइन्थ्यो, उपभोक्ता समितिले त्यहाँ उल्लेख गरिएका समस्याहरूमा चिनो लगाई तथा लेखेर नेवालाई हुलाक मार्फत निःशुल्क त्रैमासिक रूपमा पठाउने गथ्र्यो । जस अनुसार आयोजना कार्यान्वयन पछिको सेवा प्रदान गरिन्थ्यो । मोबाइल फोनको प्रयोगमा व्यापकता आएपछि हवाई-पत्र अनुगमनको प्रयोग बन्द गरिएको छ ।
मोबाईल फोनको प्रयोगमा व्यापकता आएपछि वि.सं.२०७२ असोजदेखि नेवाले हेलो अनुगमन पद्धति शुरु गरेको हो । जस अन्तर्गत नेवाका प्राविधिकहरूले प्रत्येक वर्ष एक पटक मर्मत कार्यकर्ताहरू र उपभोक्ता समितिहरूलाई फोन गरेर पुरानो आयोजनाहरूको अवस्था बारे जानकारी लिने गर्छन् ।
नेवाले अनुगमनलाई प्रभावकारी बनाउन वि.सं. २०७६ को बैशाखबाट सेन्सर मार्फत अनुगमन शुरु गरेको छ । यस अन्तर्गत नेपालको बागलुङ र सिन्धुली जिल्लाका आठ सयभन्दा बढी धाराहरूमा सेन्सर जडान गरिएको छ । सेन्सर जिएसएम सिमयुक्त ब्याट्री र टर्बाइन सहितको एउटा सानो यन्त्र हो, जसले नियमित रूपमा धाराबाट पानी बगेको वा नबगेको जानकारी ड्यासबोर्डमा पठाउने गर्दछ ।
नेवाले नेपाल टेलिकमसँगको समन्वयमा १६६००१२३४५० टोल-फ्री नम्बर रहने गरी वि.सं. २०७९ बैशाखमा टोल-फ्री कल सेन्टर स्थापना गरेको छ । सार्वजनिक विदा बाहेक सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कल सेन्टर सञ्चालनमा रहेको छ । आयोजनाहरूमा देखिएको प्राविधिक समस्याहरू बारेमा समुदायका मानिसहरूले यो पैसा नलाग्ने फोन नम्बर मार्फत जानकारी गराउन सक्छन् ।
हेलो अनुगमन, सेन्सर अनुगमन र टोल-फ्री अनुगमन मार्फत आयोजनाहरूमा पहिचान गरिएका समस्याहरूको आधारमा नेवाका प्राविधिकहरूले मर्मत कार्यकर्तालाई समस्याहरू समाधान गर्न फोन मार्फत प्रशिक्षण दिन्छन् । यदि समस्या तिनीहरूको क्षमता भन्दा बाहिरको छ भने नेवाका प्राविधिकहरूले समस्या समाधान गर्न सम्बन्धित आयोजनाको स्थलगत भ्रमण गरी मर्मत सहायता प्रदान गर्छन् । यदि त्यहाँ ठूलो क्षतिहरू भएको छ र पुनःस्थापना आवश्यक छ भने नेवाका प्राविधिकहरूले सर्वेक्षण गर्छन् । सोही सर्वेक्षण अनुसार पुनःस्थापना गुरुयोजना तयार गरी कार्यान्वयन गरिन्छ ।
निष्कर्ष
माथि उल्लेख गरिए झै विभिन्न तत्वहरूको सार्थक संयोजनले मात्रै सम्पन्न भएका आयोजनाहरूलाई दिगो एवं चल्दो अवस्थामा राख्न सकिन्छ । प्रभावकारी कार्यान्वयन, समन्वय र अनुगमनमा अभिनवको सार्थक संयोजनको अतिरिक्त सक्रिय मर्मत कार्यकर्ता र व्यवस्थित मर्मत संभार कोषले आयोजनाहरू चल्दो अवस्थामा राख्न अति महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । त्यसैगरी, सक्रिय समुदाय र जगेडा सामग्रीको जोहोले आयोजनाहरूलाई दिगो राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ । यी सबै कारक तत्वहरू एक आपसमा अन्तरसम्बन्धित छन् । त्यसैले गर्दा नेपाल जस्ता विकासोन्मुख देशहरूको सन्दर्भमा समुदायद्वारा व्यवस्थित ग्रामीण खानेपानी प्रणालीहरूलाई दीर्घकाल सम्म चल्दो अवस्थामा राख्न यी सबै तत्वहरूलाई सार्थक ढंगले समेटिनु उत्तम हुने देखिन्छ ।