हाम्रा आदरणीय पाठकवृन्दहरुले वास खवरप्रति दर्शाउनुभएको माया, सद्भाव र सहकार्यप्रति र्हाार्दक आभार व्यक्त गर्दछौं । वास खवर डट कमलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा जानकारी दिने, विश्लेषण गर्ने, सवालको उठान गर्ने र साझेदारलाई झक्झक्याउने अनलाइन समाचार पोर्टलको रुपमा विकास गर्न सक्नुमा यहाँहरुकै महत्वपूर्ण हात रहेको छ ।
यस क्रममा, हाम्रा आदरणीय पाठक वृन्दमा खानेपानी, सरसफाइ तथा स्वच्छताका बहुआयामहरुको बारेमा श्रृंखलावद्ध रुपमा जानकारी दिने उद्धेश्यले यस साप्ताहिक जानकारी श्रृंखला सुरु गरिएको छ । यस श्रृंखलामा खानेपानी, सरसफाइ तथा स्वच्छताका विभिन्न आयामहरुमा वास खवर टिमका अलावा अन्य विषयविज्ञले तयार पारेका सामग्री प्रत्येक हप्ता प्रस्तुत गर्नेछौं ।
खासस्व जानकारी श्रृंखला –१
खानेपानी, सरसफाइ तथा स्वच्छताका आधारभूत आयामहरु
पछिल्लो तीन वर्षमा खानेपानी, सरसफाइ तथा स्वच्छताको रिपोर्टिङ, वास योजना तयारी, अनुसन्धान, क्षमता अभिवृद्धि र कहिलेकाहीं अनुगमनका सिलसिलामा सयभन्दा बढी स्थानीय तहमा पुग्ने अवसरमा मिल्यो । ती स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था, यसको प्रवद्र्धनका लागि आवश्यक ऐन कानुन तथा योजनाको निर्माण, साधन श्रोतको सुनिश्चितता, नागरिक सहभागिता लगायतका विषयमा जिज्ञासा राख्दा वा सर्भेक्षण गर्दा, प्रायः पालिकाबाट आएका जवाफहरु यस प्रकार छन् :
• खानेपानीका लागि गम्भीरतापूर्वक सोचिरहेका छौं, यस वर्ष पनि थप एक सय पचास हाते कल वितरण गर्नेगरी बजेट विनियोजन गरिएको छ ।
• सरसफाइका लागि त बजेट विनियोजन गरिएको छैन, हाम्रो पालिकाका घरधुरी गरिब भएकोले चर्पी बनाउन सक्ने छैनन् । त्यसैले, सामान सहयोग गर्नका लागि केही बजेट विनियोजन गरिएको छ ।
• हाम्रो पालिकामा एक घर एक धाराको नीति लिइएको छ । अब छिटै यो पूरा हुने क्रममा छ ।
• संघीय र प्रदेश सरकारले खानेपानी, सरसफाइका लागि हामीलाई बजेट नै दिंदैन, तर खानेपानी तथा सरसफाइ र आधारभूत स्वास्थ्य स्थानीय तहको एकल अधिकारको सूचीमा समावेश गरिदिएको छ । कसरी सम्बोधन गर्ने ?
• सन् २०३० भित्र खानेपानी सरसफाइको दिगो विकास लक्ष्य हासिल गर्न हामीकहाँ कुनै कठिन नै छैन । ९० प्रतिशत घरधुरीमा कलको पानी पुगिसकेको छ । अब करिब १० प्रतिशतमात्र घरधुरीमा चर्पी बनायो भने सबै घरमा चर्पी पुग्छ ।
• हाम्रो स्कूल त सरसफाइमा तीनतारा नै पाउने खालको छ । विहान कर्मचारीले पनि सफाइ गर्छन् शुक्रबार केटाकेटीले पनि सफा गर्छन् ।
माथिका भनाइ मध्ये अधिकांश तराई मधेश क्षेत्रका हुन् भने तेस्रो बुँदा पहाडी क्षेत्रको गाउँपालिकाका उपाध्यक्षको भनाइ हो ।
संघीय संविधानले आधारभूत खानेपानी, सरसफाइ तथा स्वच्छतालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राख्नुका साथै खानेपानी, सरसफाइ तथा स्वच्छतालाई प्रदेश र संघीय सरकारको अधिकारको साझा सूचीमा समेत समावेश गरिएपछि अधिकांश स्थानीय तहमा अन्यौल सृजना भएको छ ।
वास्तवमा, स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छतामा गर्नुपर्ने कार्यहरु के हुन् भन्ने कुरा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ मा उल्लेख गरिएको छ । स्थानीय तहलाई अलिकति द्विविधा पर्ने विषय भनेको खानेपानी, सरसफाइ र स्वच्छतालाई अलग्गै शीर्षकमा समावेश नगरी कुनैलाई स्वास्थ्यसँग मिसाएर, कुनैलाई जलश्रोेतसँग मिसाएर त कुनैलाई अरु नै विषयसँग मिसाएर उल्लेख गरिएको छ । जसका कारण कतिपय स्थानीय तहका निर्वाचित प्रतिनिधि र कर्मचारी समेत वास्तवमा गाउँपालिका/नगरपालिकाले खानेपानी, सरसफाइ, स्वच्छता र यसका अन्तरसम्बन्धित विषयमा के गर्नुपर्ने हो भन्ने कुरामा स्पष्टता हुन नसकेको देखिन्छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्ध जनस्वास्थ्य, वातावरणीय दिगोपन र समग्रमा गुणस्तरीय जीवनसँग रहेको हुन्छ, न कि पानी पिउनु र चर्पी बनाउनु सँग मात्र । त्यसैले, यसका आयामहरुलाई संक्षेपमा तल दिइएको छ :
क) खानेपानी आपूर्ति
पिउनका लागि पानीको आपूर्ति वा उपलब्धता यसको पहिलो क्षेत्र हो । पानीविना कोही पनि जीवित रहन नसक्ने र पानीको विकल्प समेत नभएकोले खानेपानी आपूर्तिलाई यस क्षेत्रको पहिलो शर्तको रुपमा लिइएको छ । पानी जीवित बस्तुले पिउने पदार्थमात्र नभै विश्वव्यापी घोलक समेत हो । त्यसैले उद्योग, कलकारखानादेखि दैनिक जीवनमा आइपर्ने अन्य कार्यहरुमा समेत पानी अनिवार्य छ ।
त्यसैले कोही पनि व्यक्तिले पानी प्राप्त गरेको छ कि छैनमात्र भन्नुभन्दा पनि पर्याप्त पानी प्राप्त गरेको छ कि छैन भन्ने कुरा समेत मापन गरिन्छ । हाल नेपालमा प्रतिव्यक्ति प्रतिदिन पानी उपभोग दर वर्षा याममा ८५ र सुख्खा याममा ७० लिटर रहेको छ ।
सुरक्षित पानीमा पहुँच : पानी उपलब्ध भएरमात्र पुग्दैन, पिउने वा प्रयोग गर्ने पानी सुरक्षित समेत हुनुपर्छ । त्यसैले, दिगो विकास लक्ष्यमा समेत सुरक्षित पानीको पहुँच उल्लेख गरिएको छ । नेपालको राष्ट्रिय प्रतिवद्धता समेत सन् २०३० सम्ममा सबै नेपालीलाई सुरक्षित पानीमा पहुँच पु¥याउनु रहेको छ । हाल प्रणालीको पानीमा पहुँच ५७ प्रतिशत रहेको छ भने उच्च र मध्यम तहको पानीमा २४.८४ प्रतिशत घरधुरीको पहुँच रहेको छ । यो पानी सुरक्षित पानी हो । हाते कलबाट प्राप्त हुने सबै पानी र प्रणालीबाट वितरित सबै पानी सुरक्षित हुन्छ भन्ने छैन ।
पानीको गुणस्तर : पानीको उपलब्धतासँगै जोडिएको अर्को पक्ष पानीको गुणस्तर हो । पानीले मानव स्वास्थ्यलाई प्रत्यक्ष र तुरुन्त प्रभाव पार्ने भएकोले पानीको उपलब्धतासँगै पानीको गुणस्तर उत्तिकै महत्वपूर्ण हुन्छ । नेपालमा पानीको गुणस्तर सुनिश्चिततासँगै नेपाल सरकारले खानेपानी गुणस्तर मापदण्ड २०६२ कार्यान्वयनमा ल्याइरहेकोमा त्यसलाई २०७९ मा परिमार्जन गरिएको छ ।
सुख्खाग्रस्त क्षेत्र : सबै स्थानमा पानीको उपलब्धता समान किसिमको छैन । कुनै स्थानमा पानीका विभिन्न विकल्पहरु (जस्तै जरुवा वा मूलको पानी, नदीको पानी, बोरिङ, इनार, वर्षे पानी संकलन आदि) रहेका हुन्छन् । तर, कुनै स्थान निकै सुख्खाग्रस्त हुन्छन्, जहाँ पानीका श्रोतका साथै प्रविधि समेत फरक प्रयोग गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, केही पहाडी क्षेत्रका बसोबास हुने स्थानमा पानीका श्रोत नभएका कारण धेरै तलबाट लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने वाध्यता छ भने कुनै स्थानमा वर्षात्को पानी संकलन गरी त्यसलाई शुद्धीकरण गरेर प्रयोग गर्नुपर्ने अवस्था छ । पानीको अभाव हुने यस्ता क्षेत्रहरुमा स्थानीय सरकारका साथै सबै तहका सरकारले विशेष योजना सञ्चालन गरी पानीको सुनिश्चितता कायम गर्नुपर्छ ।
ख) सरसफाइ
व्यक्तिगत, घरायसी, वातावरणीय तथा सार्वजनिक स्थलमा कुनै पनि अवस्थामा र कुनै पनि समयमा पुनः प्रयोग हुने वा नहुने कुनै पनि बस्तु जथाभावी प्रयोग नभएको, स्वच्छता वा सफाइ कायम भएको, मानव दिसापिसावका साथै कुनै पनि फोहरहरु जथाभावी नफालिएको र त्यसको समुचित तथा दिगो व्यवस्थापन गरिएको अवस्था नै सरसफाइ हो ।
स्थानीय सरकारका सन्दर्भमा कुरा गर्ने हो भने व्यक्तिगत, घरायसी, संस्थागत र वातावरणीय सरसफाइ तथा स्वच्छता कायम गर्नका लागि आवश्यक ऐन एवम् नीति निर्माण गर्ने, कार्यक्रम तर्जुमा गर्ने, साधन श्रोतको व्यवस्थापन गर्ने र योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकार अन्तर्गत पर्दछ ।
प्रस्तुत सन्दर्भमा सरसफाइ अन्तर्गत मूलतः तीन कुरा समावेश भएका हुन्छन् :
सरसफाइ सुविधाहरु : यस अन्तर्गत घरायसी, संस्थागत एवम् सार्वजनिक शौचालयको समुचित प्रवन्ध, ठोस फोहर व्यवस्थापन स्थल र यी सुविधा प्रयोगको सुनिश्चितताका लागि आवश्यक नीति नियम, योजना, बजेट, कार्यक्रम र सोको कार्यान्वयन तथा अनुगमन एवम् मूल्यांकन लगायतका कार्यमा नागरिक सहभागिता र साझेदारी समेत पर्दछ ।
खुला दिसामुक्त अवस्था
खुलामा दिसा गर्ने वानी सरसफाइ तथा स्वास्थ्य र स्वच्छताका अलावा सामाजिक, धार्मिक, वातावरणीय, साँस्कृतिक, आर्थिक, लैंगिक कुनै पनि हिसावले अनुपयुक्त छ । त्यसैले, खुलामा दिसा गर्ने वानीलाई सतप्रतिशत रुपमा हटाइ सुरक्षित शौचालयमा नै दिसा गर्ने कुराको सुनिश्चितता गर्नु दिगो विकास लक्ष्य नं. ६ को एक सहायक सूचक हो । त्यसैले, सबै स्थानीय सरकारले यस कुराको सुनिश्चितता गर्नु आवश्यक छ ।
फोहर पानीको प्रशोधन
शौचालयको दिसा वा सेप्टिक टंकी जडान गरिएको वा नगरिएको ढल प्रणालीको पानी प्रशोधन गरेरमात्र बाहिर पठाउनुपर्छ । अन्यथा, त्यसले नदी वा खोला, समुन्द्र लगायतका पानीका खुला श्रोतमात्र नभै जमिनमुनीको पानीलाई समेत प्रदूषित गर्दछ । स्थानीय सरकारले प्रदेश तथा संघीय सरकार र अन्य विकास साझेदारसँग सहकार्य गरी फोहर पानीको प्रशोधन गर्ने विषयलाई आफ्नो दीर्घकालीन योजनामा समावेश गर्नुपर्छ । हाल संघीयसरकारले ढल प्रणाली निर्माण र सञ्चालनको अगुवाइ गरिरहेको छ, भने प्रदेश सरकारले कतिपय स्थानमा सहयोग पु¥याइरहेको छ । विभिन्न विकास साझेदारले समेत ढल प्रणाली र प्रशोधन प्रणाली निर्माणमा सहयोग गरिरहेका छन् ।
ग) स्वच्छता
स्वच्छता भनेको सरसफाइको माध्यमबाट स्वास्थ्य र जीवनलाई सर्वोत्तम राख्ने व्यवहार हो । व्यक्तिगत सरसफाइदेखि अन्य व्यवहार परिवर्तनका विषय समेत स्वच्छताले समेट्दछ । हिन्दू धार्मिक ग्रन्थहरुमा स्वच्छताका लागि पवित्रतालाई अनिवार्य मानिएको थियो । त्यसैले, धर्ममा उल्लेख गरेको पवित्रतामा व्यक्ति स्वस्थ र निरोगी रहनका लागि अर्थात् स्वच्छता प्रवद्र्धनको विषय अन्तरनिहित थियो । यस अन्तर्गत मूलतः तलका तीन विषय पर्दछन् :
व्यक्तिगत सरसफाइ तथा स्वच्छता
यस अन्तर्गत नुहाउने, कपडा धुने, नङ काट्ने, सिंगो शरीर सफा राख्ने, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने लगायतका माध्यमबाट रोगका वाहकहरु शरीरमा प्रवेश गर्नै नदिने विषय पर्दछ ।
व्यवहार परिवर्तन
आफूलाई रोग सार्ने वा आफ्ना कारणले अरुलाई रोग सार्ने कार्य बन्द गरी सबैका लागि र सधैंका लागि स्वस्थ जीवन र स्वच्छ वातावरणको प्रत्याभूति गर्न सहयोग गर्ने व्यववहार नै स्वस्थकर व्यवहारको रुपमा लिइन्छ । सुरक्षित शौचालयमा मात्र दिसा पिसाव गर्ने, फोहरलाई जथाभावी नफाल्ने, वातावरणीय ह्रास हुने क्रियाकलाप नगर्ने र अरुलाई समेत गर्न नदिने, पानी शुद्धीकरण गरेर मात्र पिउने र अरुलाई पनि पानीको सुरक्षा गर्न लगाउनेजस्ता विषय व्यवहार परिवर्तनमा हेरिन्छ । यो समग्रमा व्यक्तिको जीवनपद्धति वा जीवनशैली हो ।
महिनावारी स्वच्छता
महिनावारीको विषय मूलतः महिलाको प्रजननसँग जोडिएको विषय हो । तर यसलाई समाजमा पवित्रता र अपवित्रतासँग जोडेर अपव्याख्या गर्ने गरिएको छ । महिनावारी स्वच्छता कायम हुन नसक्दा किशोरी तथा महिलाहरुमा विभिन्न संक्रामक रोग लाग्ने गरेको तथ्यांकले देखाउँछ । यसैगरी, महिलाको सहभागिता, विकास र आत्मसम्मान तथा स्वाभिमानलाई समेत महिनावारी सम्बन्धी गलत धारणाले अवरोध सृजना गरिरहेको छ ।
त्यसैले, महिनावारी स्वभाविक प्राकृतिक प्रक्रिया भएको र महिनावारीको समयमा सरसफाइ तथा स्वच्छता कायम राख्नुका साथै धार्मिक एवम् साँस्कृतिक दृष्टिकोणले नहेरी प्राकृतिक प्रक्रियाकै रुपमा लिई सम्मानका साथ हेर्नुपर्छ ।
घर परिवारदेखि कार्यालय, संघसंस्था र सार्वजनिक स्थानमा समेत महिनावारी स्वच्छता सुनिश्चित गर्नका लागि सोही अनुरुपका संरचनाहरुको निर्माण गरिनुपर्छ ।
घ) स्वास्थ्य र रोगको नियन्त्रण
फोहर वातावरण, प्रदूषित खानेकुरा र प्रदूषित पानीले रोग निम्त्याउँछ । यसैगरी, सरसफाइजन्य गलत आनिवानीले समेत स्वास्थ्य समस्या निम्त्याउँछन् । खासस्वभित्र स्वास्थ्य प्रवद्र्धन र रोग लाग्नै नदिनका लागि तीन पक्षको सरोकार हुन्छ ।
पानीजन्य रोग
प्रदूषित पानीबाट हैजा, झाडापखाला, आउँ, जिआर्डिया, टाइफाइड लगायतका रोग लाग्छन् । त्यसैले, पानीको माध्यमबाट रोग सर्नै नदिने विषय खासस्वको एक महत्वपूर्ण विषय हो ।
कीटजन्य रोग
सरसफाइको कमीका कारण लामखुट्टे र अन्य कीटपतंग फैलिने र तिनले व्यक्तिमा रोग सार्ने गर्दछन्। त्यसैले, सरसफाइ तथा स्वच्छता कायम राखी कीटजन्य रोग नियन्त्रण गर्ने विषय यसमा समावेश हुन्छ ।
बाल र मातृ स्वास्थ्य
प्रदूषित पानी र कमजोर सरसफाइले बाल स्वास्थ्य र मातृ स्वास्थ्यलाई प्रत्यक्ष रुपमा असर गरेका हुन्छन् ।
ङ) वातावरणीय प्रभाव
वातावरणीय सरसफाइ पूर्ण सरसफाइको एक प्रमुख सूचक समेत हो । वातावरणीय प्रभावभित्र दुई विषय समावेश भएका हुन्छन् :
पानीका श्रोतको संरक्षण
पानीका श्रोत प्रदूषित हुँदा सिंगो जलप्रणालीमात्र नभै तिनमा आश्रित मानिस, जीवजन्तु, वनस्पति र वातावरण नै प्रदूषित हुन्छ ।
परिस्थितिकीय प्रणालीको रक्षा
वातावरणीय वा परिस्थितिकीय प्रणालीमा गडबडी हुँदा पानीमा निर्भर हुने कृषि प्रणाली, उद्योग तथा समग्र वातावरणमा नै नकारात्मक असर पुग्दछ ।
च) सामाजिक र आर्थिक पक्ष
शिक्षा, गरिबी निवारण, लैंगिक समानता तथा सशक्तीकरण, सामाजिक न्यायजस्ता विषय समेत खानेपानी, सरसफाइ र स्वच्छतासँग अन्तरसम्बन्धित हुन्छन् ।
लैंगिक समानता
समुचित र पर्याप्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा नहुँदा त्यसको प्रत्यक्ष असर किशोरी र महिलामा बढी परेको हुन्छ । यी सुविधाको अभावमा गृहणी महिलाको श्रम र समय, विद्यालयमा अध्ययनरत किशोरीको महिनावारी स्वच्छता व्यवस्थापन प्रत्यक्ष रुपमा प्रभावित हुन्छ । पर्याप्त खानेपानी सुविधा नहुँदा महिलाको समय खानेपानी व्यवस्थापनमा बित्ने गरेको छ । विद्यालयमा पर्याप्त सरसफाइ सुविधा नहुँदा किशोरीहरुको, मुख्यतः महिनावारीको समयमा, पढाइ प्रभावित हुने गरेको छ । यसैगरी समुचित शौचालय नहुँदा र खुलामा दिसा पिसाव गर्न जाँदा किशोरी तथा महिलाहरुमाथि यौन हिंसा समेत हुने गरेका छन् ।
उत्पादकत्व
समग्रमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सुविधामा पहुँच बढ्दै जाँदा शिक्षा, स्वास्थ्य, आयआर्जन, कार्यसम्पादन, सन्तुष्टि आदि वृद्धि हुँदै जान्छ, जसले समग्र उत्पादकत्व वृद्धिमा सहयोग पुग्दछ ।
गरिबी निवारण
समग्र उत्पादकत्व वृद्धि नै गरिबी निवारणको एक दिगो आधार हो । त्यसैले, खानेपानी सरसफाइ तथा स्वच्छताको सम्बन्ध गरिबी न्यूनीकरण वा निवारणसँग समेत छ ।
त्यसैले, कुनै पनि स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनको योजना तयार गर्दा माथिका सबै विषयलाई समावेश गरेमा मात्र योजना प्रभावकारी हुन सक्छ, र क्षेत्रगत सवलीकरणलाई टेवा पुग्दछ । तवमात्र, राष्ट्रले लिएको दिगो विकास लक्ष्य हासिल हुन सक्छ ।