नेवाद्वारा हरेक बर्ष झण्डै सयको अनुपातमा खानेपानी आयोजना निर्माण, हालसम्म ३ लाख ४६ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित

पालिका प्रमुखहरुको साझा स्वर, नेवासँग लागत साझेदार

  वास खबर सम्वाददाता  3100 पटक हेरिएको

काठमाडौ : नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले आफ्नो ३१ औं साधारण सभा सम्पन्न गरेको छ । खानेपानी मन्त्रालय, खानेपानी विभाग, समाजकल्याण परिषद लगायत सरकारी निकायका प्रतिनिधी, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था र कार्यक्रम सञ्चालित बाग्लुङ, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न गाउँपालिकाका जनप्रतिनिधी र नेवाका कार्यसमिति सदस्य एवं साधारण सदस्यहरु, पूर्व कर्मचारी तथा नेवा प्रधान कार्यालय र प्रदेश कार्यालयका कर्मचारीको उपस्थितिमा साधारण सभा एवं सामाजिक परिक्षण गरेको हो ।

साधारण सभामा नेवाका निर्देशक ई.रेशम जंग सिंहले नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को परिचयात्मक प्रस्तुतीकरण गर्दै विगत देखि वर्तमानसम्मका नालीबेली प्रस्तुत गर्नुभयो ।

२२ लाख बढी जनसंख्यामा खानेपानीको पहुँच

नेवाले स्थापनाकाल देखि हालसम्म २२ लाख ६ हजार ८ सय ४४ जनसंख्यालाई खानेपानी, सरसफाइ र स्वच्छताको पहुँच पुर्‍याएको छ । कुल २ हजार ६ सय ७१ वटा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरी ३ लाख ४६ हजार ५ सय ३ घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा पुर्‍याएको निर्देशक सिंहले जानकारी गराउनुभयो ।


सरकारको एक घर एक धारा नीतिलाई अबलम्बन गर्दै हाल एक घर एक धारा बनाउन थालेको नेवाले सुरुका बर्षदेखि केही समय पहिलेसम्म सामुदायिक धाराहरु निर्माण गरेको र त्यस्ता धाराको संख्या ४७ हजार २ सय ४६ वटा बनेका उहाँले जानकारी गराउनुभयो ।

नेवाले देशका विभिन्न विद्यालयहरुमा गरी ७ सय ९१ वटा धारा र ६ सय ८५ वटा चर्पीहरु निर्माण गरेको निर्देशक सिंहले प्रस्तुतीकरणका क्रममा जानकारी गराउनुभयो ।

साधारण सभाकै अवसरमा नेवाको सामाजिक परिक्षण प्रतिवेदन २०८० समेत प्रस्तुतीकरण गरिएको थियो । आर्थिक बर्ष २०७९/८० मा च्यारिटी वाटर अमेरिकाको सहयोगमा सञ्चालित आयोजनाहरुको समीक्षा एवं लाभग्राहीको सन्तुष्टि र आयोजनाले समुदायमा पारेको प्रभावको सत्य तथ्यको संकलन र विश्लेषण गर्ने उद्देश्यले गरिएको सामाजिक परिक्षणबाट नेवाको सीधै स्वास्थ्य संँग सम्बन्धित कार्यक्रम नभए पनि अप्रत्यक्ष रुपमा समुदायको स्वास्थ्यमा परिवर्तन ल्याउने काम भएको पाइएको सामाजिक लेखापरिक्षक देवीका तिमल्सिनाले बताउनुभयो ।

सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुतीकरण गर्दै उहाँले दिगोपना र अपनत्वको अनुभूति दिनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुपर्ने, स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई जोड दिनुपर्ने सुझाव दिनुभयो ।

नेवाले प्रयोग गरेको सामान गुणस्तरीय रहेको, दिगोपनाको लागि नेवाको कर्मचारी धेरै लागिपरेको र खानेपानी आयोजनामा प्रयोग हुने निर्माण सामग्री प्रति उपभोक्ताको कुनै गुनासो नरहेको समेत लेखापरिक्षक तिमल्सिनाले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

उपभोक्ताको बोली, धाउन छोडियो खोली

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को कार्यक्रम सञ्चालित जिल्लाका विभिन्न पालिकाबाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु समेत बार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

नेवाले खानेपानी उपलब्ध गराएपछि आफूहरुको दैनिकीमा आएको सहजताका बारेमा उपभोक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरे । विगतमा पानी लिन कुवामा जानुपर्ने र एक गाग्री पानी ओसार्नका लागि घण्टौं समय लागेको स्मरण गर्दै भेंडीखर्क लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी दुर्गा पाण्डे थापाले भन्नुभयो ‘खेतीपाती गर्ने कि ? गाईगोठको स्याहार गर्ने कि ? केटाकेटीलाई समयमा स्कुल पठाउने ? भन्ने हुन्थ्यो । अहिले घर आँगनमा धारा बनेपछि ती सारा दुःखहरु हटेका छन् ।’

यस्तै बाग्लुङको तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले हिजो पानीको अभावमा निन्याउरो मुहार लगाएर खानेपानीको योजना माग्दै गाउँपालिका धाउने आफ्नो गाउँपालिका भित्रको समुदायको मुहार हँसिलो देख्दा आफूलाई समेत सन्तुष्टि मिलेको बताउनुभयो ।

नेवासँगको साझदारीमा १५ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरु गाउँपालिका भरिमा निर्माण भईरहेको जानकारी गराउँदै उहाँले ती मध्ये ५ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरु अनुगमन गरेको जानकारी गराउनुभयो । ‘मैले जत्ति खानेपानी आयोजनाहरुको अनुगमन गरें, सबै आयोजनाहरु गुणस्तरीय भएको पाएकी छु’ हामीले नेवासँग लागत साझेदारीमा काम गर्न बजेट पनि विनियोजन गरेका छौं’ उहाँले भन्नुभयो ।

यस्तै पिप्ले मानेडाँडा खानेपानी आयोजनाका लभ कुमार थपलियाले समुदायमा नेवाको उपस्थितिका कारण खानेपानी, सरसफाइ र स्वच्छतामा सुधार आएको, सुरक्षित खानेपानीको महत्व बुझ्न थालेको बताउनुभयो । उहाँले नेवाका खानेपानी आयोजनाहरु गुणस्तरीय रहेको र खानेपानी आयोजना निर्माण गर्दा अनिवार्य श्रमदान गर्नुपर्ने व्यवस्थाले श्रमको महत्व समेत बुझाएको बताउनुभयो ।

 

पालिका प्रमुखहरुको साझा स्वर, नेवासँग लागत साझेदार

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न पालिका अध्यक्षहरुले नेवासँग बर्षौबर्षसम्म साझेदार भएर कार्यक्रम सञ्चालन गर्ने इच्छा जाहेर गरेका छन् ।

साधारण सभा कार्यक्रममा ३१ बर्ष पूरा गरेकोमा नेवालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले नेवासँग साझेदारी गरेर गाउँमा खानेपानी र सरसफाइ आयोजनाहरु सम्पन्न गरेकै कारण समुदायमा आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभयो ।

आफू खानेपानी र सरसफाइका कार्यक्रमहरुको माध्यमबाट जनताको घरदैलोमा पुगेर जनताको दुःख सुख बुझ्न पाएको उल्लेख गर्दै आज गाउँपालिका अध्यक्षसम्म आईपुग्नुमा नेवाकै देन रहेको बताउनुभयो । अध्यक्ष मोक्तानले चालु आर्थिक बर्षमा नेवाका कार्यक्रमहरुसँग लागत साझेदारी गर्न ५२ लाख बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।

यस्तै काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पनि नेवाका कार्यक्रमहरुसँग साझेदारी गर्न १ करोड रुपैयाँ रकम विनियोजन गरेको जानकारी गराउनुभयो ।

यस्तै बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्तीले २०७४ सालमा आफू वडाध्यक्ष हुँदा पनि साझेदारी गरेको नेवासँग गाउँपालिका अध्यक्ष भएर आएपछि झनै साझेदारीको दायरा बढेको बताउनुभयो । उहाँले निसीखोला गाउँपालिकाको विभिन्न ठाउँमा ३९ वटा खानेपानी आयोजनाहरु निर्माण सम्पन्न भई २८ हजार १ सय ४० जनसंख्या लाभान्वित भएको जानकारी गराउनुभयो ।

पाहुनाको प्रशंसा, सबै कुरामा आच्छा !

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले आफूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा काम गर्ने नेपालको अग्रणी गैर सरकारी संस्थाको रुपमा उभ्याउदै आएको छ । बार्षिकोत्सव कार्यक्रममा पाहुनाको शुभकामना सन्देशमा समेत उक्त कुरा झल्कियो ।

साधारण सभा  कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको संरचनामा गुणस्तरीयता र सुशासनमा पनि अब्बल संस्थाको रुपमा आफूलाई उभ्याउदै आएको बताउनुभयो । उहाँले नेवाका खानेपानी आयोजनामा श्रमदानको अपरिहार्यतालाई उपभोक्ता माझ राम्रो सँग बुझाउन सकेकै कारण उपभोक्ताले श्रमदान गरिरहेको र यसले आयोजनाको दिगोपना टेवा पुग्ने बताउनुभयो ।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर रजित ओझाले एनवास आईएमएसको प्रयोग गरी वास प्लानको डाटा संकलन गर्ने काममा नेवाले गरिरहेको कामको प्रसंशा गर्नुभयो । उहाँले गुणात्मक तथ्याङ्क ल्याउने संस्था मध्येमा नेवा पनि एक रहेको चर्चा गर्नुभयो ।

यस्तै सुरक्षित रुपमा व्यवस्थित खानेपानीको डाटा एनवास ड्यासबोर्डमा नदेखिएको र यसलाई समेत उल्लेख गर्न उहाँले आग्रह गर्नुभयो ।

खानेपानी मन्त्रालयका सिडिई नारायण प्रसाद आचार्यले पनि नेवाले नेपालमा खानेपानी र सरसफाइ क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै स्रोत बढाएर कार्यक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैंगिक समानता तथा सामाजिक समावेशीकरण भनेको महिला सहभागिता मात्र नभई जनसांख्यिक बनावटको आधारमा सबै जातजाति, वर्ग, समुदायको प्रतिनिधिमूलक सहभागिता सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।

बाषिकोत्सव कार्यक्रममा नेवाका अध्यक्ष प्राध्यापक कपिल श्रेष्ठले मानिसको सभ्यता, संस्कृति र रितिरिवाज समेत पानीसँग जोडिएकाले खानेपानीको क्षेत्रमा गरिने काम पूण्य प्राप्तिको कर्म समेत भएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण आउने परिणामहरुले खानेपानीको क्षेत्रमा काम गर्न निक्कै जटिलता थपिएको बताउनुभयो । ‘जलवायु परिवर्तनका कारण आउने खडेरीले पानीको स्रोतहरु सुक्न थालेका छन्, जथाभावी रोड खन्ने प्रवृत्तिले खानेपानीको नसा नै काटिएको छ, अतिवृष्टिले सिर्जना गरेको बाढी र पहिरोले खानेपानीका संरचनाहरुमा क्षति पुर्‍याईरहेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘यी सबै सबै जोखिम र चुनौतीका बीच पनि हामीले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्नु नै छ’

अध्यक्ष श्रेष्ठले संस्थामा अनवरत रुपमा कार्यरत कर्मचारीहरु, पूर्व कर्मचारी तथा संस्थापकहरुको समेत प्रसंशा गर्नुभयो ।

बार्षिकोत्सव कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरु मध्येबाट विपीन हाडा, सिर्जना शाही, खड्ग बहादुर थापा, बालकुमारी महतो र भरत चौधरी लगायत कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै पच्चीस बर्षसम्म अनवरत कार्यरत प्रशासन तथा मानव संसाधन प्रबन्धक दिनेश उप्रेती र प्रशासन अधिकृत रबिकिरण रायमाझीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

चालु आ.ब.मा करिब २४ करोड लगानी हुने

नेवाले चालु आर्थिक वर्ष २०८०/०८१ मा २३ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । सिन्धुली, काभ्रे, बागलुङ र म्याग्दी जिल्लाका बिभिन्न पलिकाहरुमा च्यारेटी वाटर अमेरिकाको सहयोगमा ५० वटा आयोजनाहरु सञ्चालन गर्ने योजना रहेको नेवाका निर्देशक ई.रेशम जंग सिंहले जानकारी गराउनुभयो ।


उहाँका अनुसार कार्यक्रम सञ्चालित पालिकाका समुदाय र विद्यालयहरूको लागि खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू, खानेपानी प्रणालीहरु निर्माण लगायतका कार्यक्रमबाट थप २७ हजार ४८ जनसंख्या लाभान्वित हुनेछन् ।

साधारण सभाका थप फोटाहरु :

फोटोहरु पी.टी.लोप्चन/वास खबर

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार