सुर्खेत : स्वास्थ्य संस्थामा खानेपानी र सरसफाइ सुविधा उपलब्ध हुँदा गुणस्तरीय स्वास्थ्य सेवा समेत प्रदान गर्न सकिने प्रमाणित भएको छ । USAID’s Health and Hygiene Activity (स्वच्छता परियोजना) सञ्चालित कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुको नतिजाले उक्त तथ्य पुष्टि गरेका हुन् ।
स्वच्छता परियोजना अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (USAID) को आर्थिक सहयोगमा DevWorks International नामक संस्थाले कार्यान्वयन गरिरहेको छ । कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा र लुम्बिनी प्रदेशको रुकुम पूर्व गरी सात वटा जिल्लाका २ सय ४८ वटा स्वास्थ्य संस्थामा यो परियोजना कार्यान्वयन भईरहेको छ ।
स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा आपूर्ति गरी स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने र स्वच्छता अभ्यासमा सुधार ल्याउने अपेक्षित परिणाम राखेर सन् २०१६ को फेब्रुअरी २२ देखि ‘स्वच्छता परियोजना’ सञ्चालन भएको हो ।
स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अनुसार आधार सर्भेक्षण गर्दा सुरुमा ५० प्रतिशत भन्दा कम मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरुमा हाल ७५ प्रतिशत भन्दा माथि पुगेको छ । USAID’s Health and Hygiene Activity (स्वच्छता परियोजना) ले स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छतासँग सम्बन्धित विभिन्न क्रियाकलापहरु सञ्चालन गरेपछि उक्त नतिजा हासिल भएको स्वच्छता परियोजनाका परियोजना प्रमुख बी.बी.थापाले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
खानेपानीले गर्दा स्वास्थ्य सेवामा गुणस्तर
स्वच्छता परियोजनाले गर्ने सबैभन्दा महत्वपूर्ण काम स्वास्थ्य संस्थामा खानेपानीको आपूर्ति हो । परियोजनाले समुदायसँग बाँडफाँट गरेर वा स्वास्थ्य संस्थाको एकल स्रोतबाटै भए पनि चौबीसै घण्टा शुद्ध र सफा पानीको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य संस्थामा चौबीसै घण्टा पर्याप्त खानेपानीको व्यवस्था भएपछि स्वास्थ्यकर्मीले भनेकै बेला हात धुन पाएको, स्वास्थ्य उपकरणहरु तत्काल निर्मलीकरण तथा निसंक्रमण बनाउन पाएको र सुत्केरी भएका महिलाहरुको कपडा तत्काल धुन पाएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
विरामी हेरिसकेपछि स्वास्थ्य संस्थाका कर्मचारीहरुले हात धुनुपर्ने हुन्छ । चौबीसै घण्टा खानेपानी उपलब्ध गराएपछि बिरामीहरुको परिक्षण गर्ने ठाउँ, बर्थिङ सेन्टरहरुमा हात धुने बेसिनहरु निर्माण गरी तत्काल हात धुन मिल्ने व्यवस्था मिलाएको थापाले बाउनुभयो । ‘स्वास्थ्य संस्थामा नियमित खानेपानी उपलब्ध हुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कसरी मद्दत पुग्छ भन्ने यो एउटा राम्रो उदाहरण हो’ थापाले भन्नुभयो ।
स्वास्थ्य संस्थामा अपाङ्गतामैत्री शौचालय
स्वच्छता परियोजना सञ्चालित २४८ वटा स्वास्थ्य संस्थामध्ये १८१ वटा स्वास्थ्य संस्थामा खानेपानी र सरसफाइ सम्बन्धी पूर्वाधारको निर्माण गरिएको छ । पूर्वाधार निर्माण भएका स्वास्थ्य संस्थामा अपाङ्गतामैत्री शौचालय अनिवार्य निर्माण गरिएको थापाले बताउनुभयो । यसले समेत स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न टेवा पुगेको छ ।
स्वास्थ्य संस्थामा अपाङ्गता भएका बिरामी पनि आउने वा स्वास्थ्यकर्मी आफै पनि अपाङ्गता हुनसक्ने भएकाले हरेक स्वास्थ्य चौकीमा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको परियोजना प्रमुख बी.बी.थापाले बताउनुभयो ।
स्वास्थ्य चौकीमा निर्माण गरिएको अपाङ्गतामैत्री शौचालयले अपाङ्गता भएका व्यक्तिहरुसम्म सरसफाइको सहज पहुँच पुग्ने र यसले स्वास्थ्य संस्थाको सेवाको गुणसतर बढाउने उहाँको अपेक्षा छ ।
स्वास्थ्य संस्थामा निर्माण गरिने खानेपानी तथा सरसफाइका पूर्वाधार परियोजनाले बनाउने नभई सम्बन्धित स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले नै निर्माण गर्दछ । यसका लागि स्वास्थ्य संस्था व्यवस्थापन समितिलाई नियमित सम्वाद, छलफल र तालिमको माध्यमबाट सशक्तिकरण गर्ने र उनीहरुले नै बनाउने उहाँले बताउनुभयो ।
संक्रमण रोकथाममा नवीन प्रयास
भनिन्छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस ।’ रोग लाग्नै नदिने अथवा संक्रमण रोकथामका लागि पनि स्वच्छता परियोजनाले विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । यसबाट विभिन्न रोगको संक्रमण दर घटेको र स्वास्थ्य संस्थामा आउने विरामी समेत घटेको सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरु बताउँछन् ।
स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई अन्य तालिमहरु सञ्चालन गर्नका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिने र नेपाल सरकारले विकास गरेको संक्रमण रोकथाम सम्बन्धी तालिम प्याकेजलाई स्वास्थ्य संस्था व्यवस्थापन समिति, त्यहाँका स्टाफहरु, सरसफाइ कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका सबैलाई तालिम दिने गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार महिला स्वयं सेविकाहरुले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी मुख्य पाँच वटा सन्देशहरु आमा समूहहरुसम्म पुर्याउँछन् ।
मुख्य पाँच सन्देशहरु :
१. सुरक्षित र स्वच्छ शौचालयको प्रयोग (Use of safe & hygienic toilets)
२. महत्वपूर्ण समयमा साबुन र पानीले हात धुने (Handwashing with soap and water at critical times)
३. बच्चाको दिसाको सुरक्षित व्यवस्थापन (Safe disposal of child feces)
४. पिउने पानीको सुरक्षित भण्डारण र उचित प्रशोधन (Safe handling and proper treatment of drinking water)
५. व्यक्ति र महिनावारी स्वच्छता व्यवस्थापन (Personal/menstrual hygiene management)
यिनै सन्देशहरु खोप केन्द्रमा खोप लगाउन आउने बालबालिकाका अभिभावक, स्वास्थ्य संस्थामा उपचारका लागि आउने विरामीलाई पनि स्वास्थ्यकर्मीले बारम्बार भनिरहेका हुन्छन् । यसले गर्दा मानिसहरुको स्वच्छता आनीबानीमा धेरै परिवर्तन भएको र यसको परिणामतः मानिसहरु कम बिरामी पर्ने गरेको नतिजाले देखाएको परियोजना प्रमुख थापाले बताउनुभयो ।
स्वच्छता बानी व्यवहार सम्बन्धी मुख्य पाँच सन्देशहरु कर्णाली प्रदेशका एफ.एम.रेडियोहरुबाट पनि प्रसारण भईरहेको छ ।
सोलार प्रणालीले आपतकालीन स्वास्थ्य सेवा प्रवाहमा सघाउ
स्वच्छता परियोजना सञ्चालित कर्णाली प्रदेशका २४८ स्वास्थ्य संस्थाहरु मध्ये ६१ वटा स्वास्थ्य संस्थामा सोलार सिस्टम जडान गरिएको छ । विजुली नभएको दुर्गमका स्वास्थ्य संस्थामा सोलार सिस्टम जडान गरेपछि रातको समयमा समेत सेवा प्रवाह गर्न सजिलो भएको र सौर्य उर्जाको माध्यमबाट स्वास्थ्य संस्थाका औजारहरु निसंक्रमण गर्न पनि सजिलो भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्यकर्मीका अनुसार यसले स्वास्थ्य संस्थाको सेवा प्रवाह जुनसुकै समयमा पनि रोक्नु नपरेको र संक्रमण हुनसक्ने जोखिमलाई समेत घटाएको छ ।
दिगोपनाका लागि यस्तो संयन्त्र
स्वच्छता परियोजना मार्फत निर्माण गरिएका पूर्वाधारहरुको हस्तान्तरण कहिल्यै हुँदैन । किनकि निर्माणको जिम्मेवारी नै सम्बन्धित स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको हुन्छ । परियोजना प्रमुख बी.बी. थापा भन्नुहुन्छ ‘जब निर्माणको काम नै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले गरेको हुन्छ भने त्यसमा हस्तान्तरणको जरुरी नै पर्दैन ।’
यो कामले दिगोपनासँग सीधा सम्बन्ध राख्दछ । कार्यक्रम कार्यान्वयनको दौरानमा समुदायसँग धेरै भन्दा धेरै छलफल तथा अन्तरक्रिया गर्ने गरिएको र यसबाट समुदायले कार्यक्रमको बारेमा जानकारी हासिल गर्ने, कसरी व्यवस्थापन गर्ने ? कसरी मर्मत सम्भार गर्ने भन्ने सीपको अभिवृद्धि हुँदै जाने उहाँको भनाइ छ ।
कार्यक्रम कार्यान्वयनको हरेक चरणमा समुदायलाई संलग्न गराउने, विस्तृत प्राविधिक सर्भे, सामाजिक तथा आर्थिक पक्षको विश्लेषण गर्ने क्रममा पनि समुदायलाई संलग्नता बढाउने, प्रतिबद्धताहरु लिने र कामको नेतृत्व दिएपछि यसको दिगोपनामा समस्या नआउने उहाँको विश्वास छ ।
मर्मत सम्भार कोष
पूर्वाधार निर्माणमा लाग्ने कुल रकमको २ प्रतिशत रकम सम्बन्धित स्वास्थ्य संस्थाको तर्फबाट संकलन गरी सुरुमै मर्मत सम्भार कोषमा जम्मा गरिन्छ ।
स्वास्थ्य संस्थामा निर्माण गरिएको खानेपानी तथा सरसफाइ संरचनामा आउने सामान्य मर्मत सम्भारको कामको लागि स्वास्थ्य संस्थाकै दुई जना कार्यालय सहयोगीहरुलाई मर्मत सम्भार सम्बन्धी तालिम प्रदान गरिएको थापाले बताउनुभयो ।
‘मर्मत सम्भार कार्यकर्ताले भोलिका दिनमा विग्रेपछि कसरी मर्मत सम्भार गर्ने भन्ने सीप सिकेका हुन्छन्, यसले पनि दिगोपनामा ठूलो योगदान पुर्याउनेछ भन्ने विश्वास गरेको छु’ उहाँले भन्नुभयो ।
स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको हरेक चरणमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने, तालिमहरुमा सहभागिता जनाउने र स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई नै क्षमतावान बनाई परिचालन गर्ने विधि नै स्वच्छता परियोजनाको सुन्दर पक्ष रहेको उहाँको दाबी छ ।
थापा भन्नुहुन्छ ‘स्वच्छता परियोजना टिमको भूमिका सहजीकरण गर्ने र प्राविधिक तथा आर्थिक सहायता गर्ने मात्र हो ।’ हरेक क्रियाकलापमा समुदायको अगुवाई हुने भएकाले अपनत्वको भावना सिर्जना हुने र दिगोपना सुनिश्चित हुने उहाँको विश्वास छ ।