पहिले तिर्खालु धाउँथे, अहिले खोली धाउँछन्

दिगोपनाका लागि जगेडा पम्पदेखि सोलार अपरेटर तालिम सम्म

  वास खबर सम्वाददाता  690 पटक हेरिएको

दैलेख : उही पानीको स्रोत, पिउने मानिस पनि पहिलेकै । पहिले तिर्खालु धाउँथे, अहिले खोली धाउँछन् । भालेको डाकमा डोको बोकेर पँधेरा नगएसम्म पानी पिउन नपाईने गाउँमा अहिले धाराको टुटी खोल्न साथ आँगनमै पानी झर्छ ।

छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सञ्चालनमा आएपछि वस्ती भन्दा आधा किलोमिटर तलतिरको पानी घर आँगनमै उक्लिएको हो । खानेपानी योजना नबन्दा सम्म पानीको मुहान धाउँदै आएका दैलेखको दुल्लु नगरपालिका ८ बडागाउँका ४६ घरको आँगनमै खानेपानी झर्न थालेको छ ।
.
हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, स्थानीय साझेदार सोसेक नेपाल, दुल्लु नगरपालिका र छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त प्रयासबाट वडागाउँको घरघरै खानेपानी पुगेको हो । खानेपानीबाट ४ घर दलित सहित ४६ घरपरिवारका २६१ जनसंख्या लाभान्वित भएका छन् ।

यसका लागि बस्तीभन्दा ६८० मिटर तलतिर रहेको छहरेखोलाको पानीलाई दुईवटा इन्टेक निर्माण गरी २० घनमिटरको रिजर्भ्वायरमा संकलन गरिएको छ । उक्त पानीलाई सोलार पम्पको सहायताले बस्ती भन्दा माथि डाँडामा रहेको १४/१४ घनमिटरका दुई वटा फेरोसिमेन्ट ट्याङ्कीमा लिफ्टिङ गरिएको छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मधुप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार त्यहाँ संकलित पानी १ हजार ३५५ मिटर वितरण पाइपलाइनबाट निजी पाइपलाइन हुँदै उपभोक्ताको धारा धारासम्म पुग्छ । निजी पाइपको लम्बाई २ हजार ३४१ मिटर छ ।

घर आँगनमै पानी झार्नका लागि निजी धारा जडान सहित उपभोक्ताले ६ लाख ९७ हजार ७२९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । खानेपानी योजना निर्माणका लागि दुल्लु नगरपालिकाले १० लाख ९ हजार ८२ रुपैयाँ अनुदान र हेल्भेटास नेपाल, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले वस्तुगत तथा नगद गरी २९ लाख ४ हजार १३ रुपैयाँ अनुदान गरी जम्मा ४६ लाख १० हजार ८ सय २४ रुपैयाँ लगानी भएको अध्यक्ष उपाध्यायले जानकारी गराउनुभयो ।

सकिए पानीको दुःखका दिन

बडागाउँकी ललिता आचार्यसँग पानी लिन जाँदाका दुःखहरु भनिसाध्य छैनन् । ती दुःखका दिनहरु सम्झिँदा अहिले पनि उहाँको आँखा रसाएर आउँछ रे । आचार्य भन्नुहुन्छ ‘पानी नल्याई नहुने भएपछि भूत, प्रेत, सर्प, बाघ केही नभनी डोकोमा गाग्री बोकेर राती नै कुवामा पुग्थ्यौं । साथी लिएर जाँदा पानी नपुग्ने भएकाले वल्लो घर पल्लो घर कसैलाई थाहा नदिई जान्थ्यौं ।’

दिउँसो जाँदा पानी नपाए पछि प्रायः सबै जना सुतेपछि राती कुवामा जानुपर्ने उहाँको बाध्यता रहेछ । छोरी, बुहारी र नाती नातिनाले आफूले जस्तो पानी बोक्नु नपरेकोमा उहाँ खुसीले गदगद हुनुहुन्छ । ललिता नातानातिना सँग गफिदै कहिलेकाहीं पानीको दुःखका कथा समेत सुनाउनुहुन्छ ।

पानी पर्याप्त भएपछि वस्तुभाउ पालेको र करेसाबारीमा हरिया सागपात फलाउन थालेको उहाँले सुनाउनुभयो । ‘अहिले आराम छ, पानीको सुबिस्ता छ, उबेला पानी ओसार्नुपर्थ्यो, अहिले त पिईदिए पुग्छ, अर्थोक केही गर्नुपर्दैन’ खुसी हुँदै उहाँले पहिले र अहिलेको अवस्था सुनाउनुभयो ।

पानीले ल्याएको परिवर्तन यत्तिमा मात्र सीमित छैन । पानीले गर्दा केटाकेटीलाई समयमै स्कुल पठाउन पाएकोमा वडागाउँकी कमला पौडेल दंग हुनुहुन्छ । घर आँगनमै पानी आएपछि व्यक्तिगत सरसफाइ बढेको, आफ्नै बारीमा तरकारी फलाउन पाएको उहाँले सुनाउनुभयो । ‘पहिले महिना दिनमा नुहाईन्थ्यो, अहिले दिनहुँ नुहाउन पनि मिल्छ ।’

बडागाउँमा केही बर्ष पहिले हेल्भेटास नेपालकै आर्थिक सहयोगमा बनेका सिमेन्टका घैंटाहरु पनि छन् । ती घैंटामा बर्षातको पानी संकलन गरी कपडा धुने, नुहाउने, भाँडा माझ्ने, गाईवस्तुलाई खुवाउने र सिँचाई गर्ने काममा प्रयोग भईरहेको उहाँले बताउनुभयो ।

छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य हिमकुमारी शर्मा आचार्य घरमै खानेपानी उपलब्ध भएपछि पानी ओसार्न लाग्ने समय अन्य काममा उपयोग गर्न पाएको बताउनुहुन्छ । ‘महिलाले बैठक, तालिम, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काममा पनि सहभागी हुन पाएका छौं, यो सबै खानेपानीकै देन हो’ उहाँले भन्नुभयो ।

दिगोपनाका लागि जगेडा पम्पदेखि सोलार अपरेट तालिम सम्म

हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले खानेपानी योजना उपभोक्ता समितिको लागि जगेडा पम्प पनि उपलब्ध गराएको छ । कथंकदाचित पम्प बिग्रिहालेमा खानेपानी आपूर्ति बन्द नहोस् भन्ने हेतुले जगेडा पम्प उपलब्ध गराएको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेले बताउनुभयो ।

अहिलेसम्मको अनुभवले सोलार पम्प दुई अढाई बर्षमा बिग्रन सक्ने देखिएको र सो अवधिमा मर्मत सम्भार कोषमा जम्मा गरेको रकमले पम्प मर्मत गर्न वा किन्न रकम अपुग हुने भएकाले सुरुमै जगेडा पम्प वितरण गरिएको उहाँले बताउनुभयो ।

‘नयाँ पम्प किन्न निक्कै रकम लाग्छ, उपभोक्ताले ठूलो रकम संकलन गरेर पम्प किन्नु परेमा आर्थिक भार पर्न सक्छ । यदि किन्न नसकेमा खानेपानीको दिगोपना हुँदैन, त्यसैले दिगोपनाको लागि पनि जगेडा पम्प उपलब्ध गराएको हो’ उहाँले भन्नुभयो ।

सोलार लिफ्ट खानेपानी योजनामा सौर्य शक्तिले पानी तान्ने हुँदा विजुलीमा जस्तो पानी लिफ्टिङ गरेको रकम लाग्दैन । एक पटक जडान गरेपछि विजुलीको खर्च जस्तो महिनै पिच्छे तिर्नु नपर्ने भएकाले उपभोक्ताले थप आर्थिक भार बेहोर्नु नपर्ने पाण्डेले बताउनुभयो ।

खानेपानीमा भैपरी आउने समस्या समाधानका लागि एक जना मर्मत सम्भार कार्यकर्ता नियुक्त गरिएको छ । मर्मत सम्भार कार्यकर्तालाई खानेपानी योजना निर्माणको सुरुको चरण देखि नै संलग्न गराउने र थप तालिमहरु समेत प्रदान गरिने भएकाले सम्बन्धित काममा पोख्त हुन्छन् ।

मर्मत सम्भार कार्यकर्ता नवराज आचार्य भन्नुहुन्छ ‘मैले सोलार अपरेटर तालिम लिएको छु, मर्मत सम्भार सम्बन्धी तालिम पनि लिएको हुनाले सामान्य मर्मत सम्भारका कामहरुमा अरु कसैलाई गुहार्नु पर्दैन ।’

स्थानीय स्तरमै सीप प्रदान गरी खानेपानी प्रणालीमा आउन सक्ने समस्या, समाधान गर्ने तरिका र आवश्यक सामग्रीहरु कहाँ पाईन्छन् भनेर समेत जानकारी गराई सकेकाले खानेपानीको दिगोपना हुनेमा आफू विश्वस्त रहेको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ पाण्डेले बताउनुभयो ।

दुई तीन चरणका लिफ्टिङ खानेपानी योजनाहरु निर्माण गर्दा दिगोपनामा समस्या हुने र उपभोक्ता समितिको क्षमताले मात्र धान्न नसकिने भएकाले प्रायः सिङ्गल लिफ्टका खानेपानी योजनाहरुलाई बढी प्राथमिकता दिईदै आएको पाण्डेले बताउनुभयो ।

‘दुई तीन चरणमा पानी लिफ्टिङ गर्न हरेक स्टेजमा पम्प राख्नुपर्छ, ती मध्ये एउटा मात्र पम्प विग्रेको अवस्थामा खानेपानी सेवा बन्द हुन्छ । त्यसैले हामीले चाहि सिङ्गल स्टेज र त्यसमा पनि सोलार लिफ्टिङलाई नै बढी जोड दिईदै आएका छौं’ उहाँले भन्नुभयो ।

सोलार लिफ्टिङ गर्दा घाम लाग्न साथ अटोमेटिक पानी तान्न सुरु हुने र घाम अस्ताउन साथ अटोमेटिक बन्द पनि हुने भएकाले यो सजिलो प्रविधि छ । एक पटक जडान गरेपछि विजुलीलाई जस्तो मासिक विद्युत महसुल पनि तिरिरहनु नपर्ने भएपछि उपभोक्ताले आर्थिक भार बेहोर्नु नपर्ने उहाँको भनाइ छ ।

छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना एक स्टेजको लिफ्टिङ खानेपानी योजना हो । पहिलो रिजर्भ्वायर र अन्तिम रिजर्भ्वायर बीचको दुरी ६ सय ८० मिटर छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार