बुटवल : बुटवल सेनेटरी प्रा.लि. दिसाजन्य लेदोबाट दैनिक एक देखि डेढ टन मल उत्पादन गर्दैै आएको छ । कम्पनीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रको सेप्टिक ट्याङ्क खाली गरी दैनिक ८० हजार देखि १ लाख लिटर दिसाजन्य लेदोबाट मल उत्पादन गर्दै आएको हो ।
कम्पनीले दिसाजन्य लेदोसँगै कुखुराको सुली र गोबरको मात्रा मिलाएर मेसिनको सहायताबाट मल उत्पाद गर्दै आएको छ ।
मल उत्पादनको प्रक्रिया
शौचालयको सेप्टिक ट्याङ्क खाली गरेपछि ट्याङ्करको माध्यमबाट ढुवानी गरी दिसाजन्य लेदो प्रशोधन केन्द्रसम्म ल्याईन्छ । प्रशोधन केन्द्रको अघिल्तिर रहेको स्लज स्क्रीन बारमा लेदो खन्याईन्छ । स्क्रीन बार ड्रमलाई प्वाल पारेर बनाईएको छ । यसमा लेदोमा मिसिएर आउने प्लाष्टिकका टुक्रा, कपडा, साबुनको खोल, स्यानिटरी प्याड लगायत ठोस पदार्थहरु छानिन्छन् ।
बाँकी दिसाजन्य लेदो थिग्राउने पोखरी (बोलीचालीको भाषामा) मा जान्छ । यस्ता थिग्राउने पोखरी दुईवटा छन् । ती दुवै पोखरीमा लेदो थिग्रिने र तरल पदार्थहरु छानिदै प्रशोधन हुने प्रक्रिया शुरु हुन्छ । दुवै थिग्राउने पोखरीमा गेट भल्व जडान गरिएको छ ।
पोखरीकै अगाडि पट्टि निर्माण गरिएको छ ‘मिक्सिङ पोण्ड’ अर्थात मिश्रण गर्ने पोखरी । जहाँ थिग्राउने पोखरीको गेट भल्व खोल्दा लेदो जत्ति मिक्सिङ पोण्डमा आएर जम्मा हुन्छ । मिक्सिङ पोण्डमा दिसाजन्य लेदोसँगै कुखुराको सुली र गोबरको घोल बनाईन्छ ।
मिक्सिङ पोण्ड भित्र पानी तान्ने पम्प राखिएको छ । सोही पम्पको सहायताले तानेको घोल पाइपको माध्यमबाट मेसिनसम्म पुग्छ । उक्त मेसिनले तरल जत्ति छुट्याएर एकातिर पठाउँछ भने घोलमा रहेको ठोस पदार्थ जत्तिलाई मलमा रुपान्तरण गर्छ । यो क्रम मिक्सिङ पोण्ड रित्तिने समयसम्म चलिरहन्छ ।
दिसाजन्य लेदो प्रशोधन केन्द्रको सारा रेखदेख गर्दै आउनुभएका धर्मेन्द्र रानाका अनुसार एक पटकमा १२ हजार लिटर दिसाजन्य लेदोसँग १ क्वीन्टल २५ किलो सुली र गोबर मिसाएर घोल बनाईन्छ । गोबरको मात्रा भने दिसाजन्य लेदोको बाक्लोपनमा भर पर्छ । ‘लेदो बाक्लो छ भने गोबरको मात्रा घटाइन्छ, पातलो छ भने गोबरको मात्रा बढाउँछौं’ रानाले भन्नुभयो । यसबाट ८ सय किलो मल उत्पादन भईरहेको छ ।
आम्दानीको आशा, मलमा भरोसा
दुई बर्ष अघि खुला ठाउँमा विसर्जन गर्न पाउँदा महिनाकै डेढ÷दुई लाख सम्म आम्दानी गरेका सफाइ व्यवसायीले अहिले भने त्यस्तो आम्दानी लिन सकेका छैनन् । भएको कमाई जत्ति सबै प्रशोधन केन्द्र निर्माणमै खर्च भएपछि कम्पनी घाटामा सञ्चालन भईरहेको अध्यक्ष थापाले बताउनुभयो ।
आम्दानीको एउटै आशा मलको बजारीकरणमा रहेको उहाँले बताउनुभयो । कम्पनीले उत्पादित मललाई प्याकेजिङ गरी बजारमा पठाउने तयारी गरिरहेको छ । मलको नाम ‘नेपाल जैविक मल’ राखिएको छ ।
मलको बजारीकरण गर्नका लागि रुपन्देही र लुम्बिनीमा गरी ८ ठाउँमा मलको डेमोस्ट्रेसन गरिएको अध्यक्ष थापाले बताउनुभयो । ‘जैविक मल हालेको धान एकदम सप्रेको पाएका छौं, युरिया मल हालेको सँधियारको भन्दा जैविक मल हालेको धानको उत्पादन राम्रो भएको छं’ उहाँले भन्नुभयो ।
मलको प्रयोगशाला परिक्षण गरिसकेको र हरेक मापदण्ड सरकारले तोकेको भन्दा केही बढी भएकाले मलको बजारीकरणमा कुनै समस्या नआउने उहाँको अपेक्षा छ । ‘हामीले जत्ति लगानी गर्नु थियो गरिसक्यौं, धेरै जसो लगानी परिक्षण गर्दैमा सकियो । अब सफल भईसकेकाले हाम्रो उत्पादन विक्रीबाट लगानी फिर्ता हुँदै जाने अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो ।
कम्पनीले मलको कच्चा पदार्थ आपूर्तिको लागि शुद्धोधन गाउँपालिकामा रहेको श्रीनगर ह्याचरी उद्योगसँग सुलीको लागि र उमा गाई फार्मसँग गोबरको लागि सम्झौता गरेको छ । कुखुराको सुली प्रति किलो ४ रुपैयाँ ६२ पैसा र गोबर प्रति ट्याक्टर ३५ सय रुपैयाँमा खरिद गर्दै आएको उहाँले बताउनुभयो ।
कम्पनीमा हाल ट्याङ्कर चालक, सहचालक, प्रशोधन केन्द्रका श्रमिक गरी २१ जना कार्यरत छन् ।
पेशागत स्वास्थ्य सुरक्षामा हेलचेक्राई
ट्याङ्कर चालक, सहचालक र प्रशोधन केन्द्रका श्रमिक गरी कम्पनीमा कार्यरत २१ जना कर्मचारी पूर्ण रुपमा दिसाजन्य लेदोको सम्पर्कमा रहेर काम गर्छन् । तर उनीहरुले आफ्नो स्वास्थ्य सुरक्षाका कुनै पनि उपाय अपनाएका छैनन् ।
कतिपय कर्मचारीले गम्बुट सम्म लाउने गरेको भएपनि बहुसंख्यक कर्मचारीले गम्बुट समेत नलगाई काम गर्छन् । पञ्जा लगाउँदा हातमा पानी पस्ने र झनै समस्या हुने भएकाले पञ्जा नलगाएको एक श्रमिकले बताउनुभयो । अर्का श्रमिकले भने पञ्जा बारम्बार च्यातिरहने र काम गर्न पनि असजिलो हुने भएकाले नलगाएको बताउनुभयो ।
मास्क लगाएर काम गर्दा निस्सासिने, पसिना आएपछि मुखमै टाँसिने भएकाले लगाउन छाडेको बताउनुभयो । आफूहरुलाई यसैमा बानी परेकाले खासै सुरक्षात्मक उपायका बारेमा ध्यान नदिएको उनीहरुको भनाइ छ । सरसफाइमा संलग्न भएर काम गरेपनि यसको दुरगामी असरबारे उनीहरुले अनभिज्ञता प्रकट गरे ।
सरसफाइकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीहरु पिपिई, पञ्जा, मास्क, गम्बुट, रेनकोट, ज्याकेट जस्ता साधनहरु अनिवार्य जस्तै हुन् । कतिपय कम्पनीले सफाइकर्मीहरुको लागि दुर्घटना बीमा सुविधा, स्वास्थ्य बीमा, जोखिम भत्ता, कार्यस्थलमा दुर्घटना भएर ज्यान गएमा क्षतिपूर्ति उपलब्ध गराउने, बार्षिक रुपमा स्वास्थ्य परिक्षण गर्ने जस्ता सुविधा समेत प्रदान गर्दै आएका छन् । तर बुटवल सेनेटरी प्रा.लि.मा कार्यरत कर्मचारीहरुका लागि भने उल्लेखित कुनै पनि सुविधाहरुको प्रबन्ध गरिएको छैन ।
कम्पनी भर्खरै स्थापना भएको र अझै पनि लगानी गर्ने चरणमै रहेकाले कर्मचारीको सेवा सुविधाका बिषयमा सोच भएर पनि उपलब्ध गराउन नसकेको कम्पनीका अध्यक्ष याम बहादुर थापाले बताउनुभयो ।
छुट्टै दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्दै उपमहानगरपालिका
निजी क्षेत्रको लगानीमा निर्माण भएको दिसाजन्य लेदो प्रशोधन केन्द्रको लागि कुनै पनि सहयोग नगरेको बुटवल उपमहानगरपालिकाले छुट्टै प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
यसका लागि नगर प्रमुखले दक्षिणी भारतको विभिन्न शहरको दिसाजन्य लेदो व्यवस्थापनको अभ्यासबारे अवलोकन अध्ययन गरिसकेको र उपमहानगरको वडा नं. १० को जंगल क्षेत्रमा व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढाएको प्रवक्ता शिव रानाले बताउनुभयो ।
प्लान्ट निर्माणको लागि कन्सल्ट्याण्टको तर्फबाट काम भईरहेको र वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सार्वजनिक सुनुवाई पनि भईसकेको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखाका वातावरण इन्जिनियर योगेश चापागाईका अनुसार शिवनगर सामुदायिक वन उपभोक्ता समितिको जंगलमा प्रशोधन केन्द्र निर्माण गर्ने बारेमा छलफल भईरहेको छ ।
बुटवल उपमहानगरपालिकाले हरेक घरमा सेप्टिक ट्याङ्क हुनुपर्ने व्यवस्थालाई अनिवार्य बनाएको छ । सेप्टिक ट्याङ्कमा जम्मा भएको मलमूत्र भरिएपछि सफाइ व्यवसायीले खाली गरी लैजाने गरेका छन् भने बर्षातको पानी र शौचालय बाहेकको घरायसी फोहोरपानी तिनाउ नदी र सुकौरा खोलामा विसर्जन गर्दै आएको छ ।
‘तिनाउ नदीमा खस्ने तीन वटा आउटलेट पोइन्ट छन् । सुकौरा खोलामा एउटा मेन आउलेट छ, त्यहाँ ग्रे वाटर (खैरो पानी) मात्र विसर्जन हुँदै आएको छ’ वातावरण इन्जिनियर चापागाईले भन्नुभयो ।
बुटवल सेनेटरी प्रा.लि.ले संकलन गरेको दिसाजन्य लेदो बाहेक अन्य व्यवसायीले सुकौरा खोलामै विसर्जन गर्दै आएको छ । दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी उपमहानगरपालिकाले हालसम्म कुनै पनि नीतिगत व्यवस्था गरेको छैन ।
अबको बाटो
दिसाजन्य लेदोलाई सुरक्षित तवरले व्यवस्थापन गर्ने र कच्चा पदार्थलाई कत्ति पनि खेर जान नदिने गरी व्यवस्थापन गर्ने कम्पनीको योजना छ । हाल मल उत्पादनका क्रममा फ्याँकिने तरल पदार्थलाई पनि झोल मलमा रुपान्तरण गर्ने कम्पनीको योजना रहेको कम्पनीका अर्का सेयर होल्डर राजकुमार श्रेष्ठले बताउनुभयो । ‘पहिले जैविक मलको विक्री होस्, त्यताको अवस्था व्यवस्थित भएपछि झोल मल बनाउने योजना बनाएका छौं । मुख्य समस्या लगानीकै हो ।’ उहाँले भन्नुभयो ।
दिसाजन्य लेदो प्रशोधनमा गरिएको लगानीको प्रतिफल पाउने वा नपाउने निश्चित नभएकाले संरचना निर्माण वा मल विक्रीमा नगरपालिकाले अनुदान दिनुपर्ने उहाँले बताउनुभयो । ‘अहिलेसम्म निजी क्षेत्र एक्लैले लगानी गरिरहेको छ । निजी क्षेत्रले त तत्काल फाइदा हुने ठाउँमा हात हाल्ने हो । तर हामीले त जानी जानी यसमा लगानी फसाएका छौं, हाम्रो लगानी सुरक्षित गर्ने काममा स्थानीय सरकारले पनि ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।
सेनेटरी कम्पनी भएकाले सामुदायिक वनले चासो देखाएमा सालको पातबाट दुना टपरी बनाउने योजना पनि छ कम्पनीको । यसबाट प्लाष्टिकका भाँडावर्तनको प्रयोगमा कमी आउने र वातावरण संरक्षणमा टेवा पुग्ने कम्पनीको अपेक्षा छ ।