खानेपानी योजनामा अटोमेसन सिस्टम किन जडान गर्ने

  वास खबर सम्वाददाता  861 पटक हेरिएको


धादिङ : ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले बोर्ड मातहतमा रहेका खानेपानी आयोजना मध्ये ४ वटा खानेपानी आयोजनामा अटोमेसन सिस्टम जडान गरी सेवा प्रदान गर्न थालेको छ ।

बोर्डमा हस्तान्तरण भएर आएका १८ वटा खानेपानी आयोजनामध्ये नमूनाको रुपमा पुर्सू ढोला लिफ्ट खानेपानी आयोजना, झाक्रे पहरे खानेपानी आयोजना, डुडेगैरी खानेपानी आयोजना र माथिल्लो तल्लो केवरे खानेपानी आयोजनामा अटोमेसन डिभाइस जडान गरिएको बोर्डका प्रबन्धक सबिना रेग्मी छत्कुलीले जानकारी दिनुभयो ।

खानेपानीका स्रोतहरु वस्ती भन्दा धेरै तल रहेका कारण धेरै जसो योजनाहरु लिफ्ट सिस्टमबाट सञ्चालन गर्नुपर्ने वाध्यता छ । त्यस्ता खानेपानी योजनाहरुमा खानेपानी हेरालुहरु राखी खानेपानी सेवा सञ्चालन गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको, खानेपानी मुहान देखि रिजर्भ्वायर ट्याङकी सम्मको दुरी धेरै टाढा हुने भएकाले पनि खानेपानी हेरालुहरुलाई पानी खोल्न र वन्द गर्नकै लागि दिनभरिको समय लाग्ने र त्यसमाथि विजुलीको लाइन आउने जाने भैरहँदा पटक पटक मुहान र ट्याङ्की धाउँदैमा समय वित्ने भएकाले अटोमेसन सिस्टम जडान गर्नुपरेको प्रबन्धक छत्कुलीले बताउनुभयो ।

‘खानेपानी हेरालुहरुले पानी खोल्न र बन्द गर्न धाईरहनुपर्ने भएकाले असहज महसुस गरी काम प्रति वितृष्णा बढाउने, ट्याङकीमा पानीको लेवल, विद्युतको भोल्टेजको अनियमितताले गर्दा खानेपानी योजनामा मोटर जल्ने, मिटर पड्कने, प्यानल बोर्ड जल्ने जस्ता कार्यहरुले वारवार खानेपानी योजनामा खर्च भै बोर्डलाइ आर्थिक व्ययभार अत्याधिक वढेकाले पनि अटोमेसन सिस्टम जडान गरेका हौं’ उहाँले भन्नुभयो।


उल्लेखित समस्याहरु रहेका खानेपानी योजनामा नमूना परिक्षणको रुपमा अटोमेशन डिभाइस जडान गरी खानेपानी सेवा विस्तार गरेपछि सेवा सञ्चालनमा सहजता आएको उहाँको भनाइ छ । अहिले खानेपानी हेरालुहरुले घरैमा वसेर मोवाइल एप्सको एक क्लिकवाट मुहानको पानी आर वि टी मा तानी सहजताका साथ वितरण गर्न थालेका छन् ।बोर्डमा हस्तान्तरण भएका धेरै जसो खानेपानी आयोजनाहरु लिफ्ट प्रणालीमा आधारित छन् ।

डिभाइसले ट्याङ्कीमा पानीको लेवल घट्दा, विजुलीको पावर कम या वढि हुँदा, योजना सञ्चालनमा कुनै समस्या आउँदा मोवाइलमा एस एम एस मार्फत जानाकारी दिने वा अटोमेटिक रुपमा आफै वन्द हुने हुनाले खानेपानीका महत्वपूर्ण सामाग्रीहरु क्षति हुनवाट वचेको उहाँले बताउनुभयो । ‘कार्यालयमा नै वसेर खानेपानीको अवस्था पहिचान र जानकारी लिन सकिने भएकाले पहिले जस्तो झन्झट बेहोर्नु परेको छैन’ उहाँले भन्नुभयो ।

खानेपानी बोर्डले डिभाइस प्रयोग गरेका योजनाहरुमा पानीको स्रोतमा उपलव्ध भए सम्मको अवस्था मापन गरेर २४ घण्टा नै उपभोक्ताहरुलाइ पानी उपलव्ध गराउन सुरुवात गरेको छ । यी योजनाहरुमा प्रत्येक घरमा मिटर सहितको धारा भएकाले मिटरमा उठेको नियमानुसारको महसुल उपभोक्ताले तिर्ने भएकाले स्रोतबाट पुगे सम्म पानी उपलब्ध गराईने ज्वालामूखी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ।

प्रबन्धक छत्कुली भन्नुहुन्छ ‘यो डिभाइस हालको लागि नमूनाको रुपमा संचालन गरिएको छ तर छिट्टै नै यसको प्रभावकारिताको आधारमा बोर्डमा हस्तान्तरण भएका सवै लिफ्ट खानेपानी आयोजनामा अटोमेशन जडान गर्ने योजना छ ।’

यस कार्यको लागि बोर्डलाई ज्वालामूखी गाउँपालिका,अक्सफाम र फोकस नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ भने सुप्रिना इन्टरप्राइजेज पोखराले प्राविधिक सहयोग गरेको बोर्डले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार