आकाशेपानीको सार्थक संयोजन

  डा. महेश्वर प्रसाद यादव/निलम यादव  4627 पटक हेरिएको

डा. महेश्वर प्रसाद यादव/निलम यादव

पृष्ठभूमि :

भौतिक विकासको बढ्दो क्रमसँगै मानिसहरूमा बढी भन्दा बढी पानीको उपयोग गर्ने बानीको विकास भइरहेको छ । सरसफाइ, स्वच्छता र अन्य घरायसी प्रयोजनका लागि पानीको उपयोग बढिरहेको हो, जुन स्वाभाविक पनि छ । तर एकातिर बढ्दो जनसंख्या अनि अर्कातिर अव्यवस्थित रूपमा भइरहेको वन फँडानी, चुरे र नदी प्रणालीको अव्यवस्थित दोहन, सङ्कटग्रस्त जैविक विविधता, जलवायु परिवर्तन तथा प्राकृतिक विपद् लगायतका विभन्न कारणहरूले पानीको मुहान सुक्ने वा घट्ने गरेको देखिन्छ ।

पानीको घट्दो उपलब्धता र बढ्दो उपयोगको यो विडम्वनापूर्ण अवस्थाको अन्त्यका लागि पानीका स्रोतहरूको पहिचान, व्यवस्थापन र उपयोग गर्नु अपरिहार्य भइसकेको छ ।

हामीले उपयोग गर्न सक्ने पानीका मुख्य स्रोतहरू भूमिगत पानी, सतहको पानी र आकाशेपानी हुन् । भूमिगत पानी र सतहको पानीको स्रोतहरूको उपलब्धता दिन प्रतिदिन घट्ने क्रम जारी छ । तसर्थ, पूरक स्रोतको रूपमा आकाशेपानीको उत्तम विकल्पका रूपमा देखा परेको छ । मुल वा मुहान, कल र कुवाहरू भूमिगत पानीका स्रोतहरू हुन् भने सतहको पानीको उदाहरणका रूपमा ताल, नदी वा जलाशय आदिलाई लिन सकिन्छ । त्यसैगरी, फोहोर पानीबाट पुनःनिर्मलीकरण गरिएको पानी अर्को स्रोतको रूपमा लिन सकिन्छ । यसको अतिरिक्त, वैकल्पिक स्रोतको रूपमा आकाशेपानीलाई लिन सकिन्छ ।

जलविज्ञान चक्र अनुसार  जमिनमा पानी पर्दा केही पानी जमिनको छेउका खोला वा तालहरूमा बग्छ, केही पानी वाष्पीकरण भएर वायुमण्डलमा पुग्छ, केही बोटबिरुवाले लिन्छ र केही जमिन मुनि संचित हुन्छ । यसरी हेर्दा, भूमिगत र सतहको पानीको मुख्य स्रोत आकाशेपानी नै रहेको देखिन्छ ।

आकाशेपानी: पानीको भरपर्दो वैकल्पिक स्रोत

विश्वव्यापी जलवायु परिवर्तनको असरले गर्दा पानीको स्रोत सुक्ने वा घट्ने क्रम पहाड र मधेश दुवैतिर जारी छ । पहाडतिर मुहान सुकेर तथा तराई मधेशमा भूमिगत जलस्रोतको सतह घटेकोले खानेपानी र सिंचाईका लागि पानीको अभाव देखिन थालेको छ । पानीको यस्तो अभावका बीच पानीको आपूर्तिका लागि पानीको सदुपयोगका साथै उपलब्ध अन्य स्रोतहरू तथा ‍ वैकल्पिक स्रोतको रूपमा आकाशेपानी संकलन गर्नु उपयोगी हुने देखिन्छ ।

आकाशेपानी संकलन प्रणाली भनेको आकाशबाट परेको पानीलाई संकलन गरी पानीको अभाव हुने बेलामा उपयोग गर्न ट्याङ्की वा पोखरीमा भण्डारण गर्नु वा जमिन मुनिको पानीलाई पुनःसिंचित गर्नु हो ।  आकाशेपानी संकलन प्रक्रिया सजिलो छ । धेरैजसो घरको छाना वा कौसीमा परेको पानीलाई डुँड हुँदै संकलन ट्याङ्कीमा जम्मा गरिन्छ । यो प्रविधि सजिलो र किफायती छ । प्रणालीको लागत सम्बन्धित आकाशेपानी प्रणाली उपयोग गर्ने जनसंख्याको आधारमा डिजाइन गरिएको आकारको आधारमा ठाउँ अनुसार फरक हुन्छ ।

घरको छाना तथा कौसीबाट संकलित पानीको मात्रा र गुणस्तर संकलन क्षेत्रको प्रकार र क्षेत्रफलमा निर्भर हुन्छ । आकाशेपानी पिउनको लागि उपयोग गर्ने हो भने, जस्तापाता वा सिमेण्ट ढलान गरेको छानालाई पानी संकलन गर्ने क्षेत्रको रूपमा लिनु उत्तम मानिन्छ । त्यसैगरी पानी उमाल्ने, फिल्टर गर्ने, क्लोरिनेसन, सोडिस आदि गरेर आकाशेपानीलाई पिउने प्रयोजनको लागि उपयोग गर्न सकिन्छ ।

छानाबाट संकलन गरिएको आकाशेपानीलाई ट्याङ्कीसम्म पुर्‍याउने माध्यम सम्प्रेषण प्रणाली हो । यस अन्तर्गत डुँड र पानी तल बग्ने पाईपहरू पर्दछन । छानाबाट संकलन भएको पानीलाई डुँडद्वारा संकलन गरी ट्याङ्कीसम्म पाईपद्वारा लैजाने गरिन्छ । डुँडहरू बाँस, टिनको पाता वा पोलिथिन पाईप आदिबाट तयार गरिन्छ । डुँडको मुख्य काम छानामा परेको सम्पूर्ण पानीलाई संकलन गरि सम्प्रेषण प्रणालीसम्म पुर्‍याउनु हो ।

घरको छानामा धूलो, फोहोर र चराचुरुङ्गीका बिष्टाहरू हुन सक्छन्, जुन धेरै दिनपछि पहिलोपटक परेको पानीले बगाएर ट्याङ्कीमा लैजाने सम्ंभावना हुन्छ र ट्याङ्कीको पानी संक्रमित हुन सक्छ । त्यसैले पहिलो पटक पानी परेपछि घरको छाना वा कौसी पखाँलिदा जम्मा हुने फोहोर पानीलाई अलग्गै बगाई सफा पानीलाई मात्र ट्याङ्कीभित्र पठाउनु नै प्रणालीको मुख्य काम हो ।

पानीलाई ट्याङ्कीमा संकलन गर्नु अघि छान्ने प्रणाली राख्नु उपयुक्त हुन्छ । पानी छान्ने फिल्टर निर्माण गर्दा गिट्टि, बालुवा आदिको उपयोगरी बनाइने स्लो स्याण्ड फिल्टर र मसिना जालीहरूको उपयोग गर्न सकिन्छ ।

आकाशेपानी अभावको समयमा उपयोग गर्नका लागि ट्याङ्कीमा भण्डारण गरिन्छ । पानी संकलन ट्याङ्कीमा मानिस र पशुपंक्षीबाट हुने प्रदुषण तथा अन्य वातावरणीय संक्रमणलाई सकेसम्म कम गर्नका लागि छोपेर राख्नु पर्दछ । नेपालको सन्दर्भमा पोलिथिन, ढुङ्गा वा ईंटाको गारो लगाएएका आर.सि.सि ढलान र फेरो सिमेण्टका ट्याङ्की तथा घैंटाहरू नै बढी प्रचलनमा छन् ।

यसको अतिरिक्त, आकाशेपानी संकलन गर्दा सामान्य पानी छान्ने प्रणालीको उपयोग गरी वा नगरी पोखरीमा भण्डारण गरेर वा जमिन मुनिको पानीलाई पुनःसिंचित गरेर भूमिगत जलस्रोतहरूको सतह बढाउन सकिन्छ ।

आकाशेपानी प्रणाली निर्माण प्रक्रिया सरल र साधारण भएकोले स्थानीय व्यक्तिहरूलाई तालिम दिएर सजिलै निर्माण गर्न सकिन्छ । यसमा संचालन तथा मर्मत संम्भार खर्च कम लाग्छ । पानीको अभाव भएको ठाउँमा आकाशेपानी संकलन गरी आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । संकलित पानी पिउन, खान पकाउन, वस्तुभाउलाई खुवाउन, सरसफाइ गर्न, सिँचाई गर्न लगायतका विविध प्रयोजनका लागि उपयोग गर्न सकिन्छ ।

पानी संकलन गर्ने छाना, डुँड, ट्याङ्की, पानी राख्ने भाँडा सफा भएमा आकाशेपानीको गुणस्तर राम्रो हुने र सामान्य उपचार पछि पिउन सकिने हुन्छ । घरकै आँगनमा पानीको उपलब्धताले पानी बोक्ने समयको बचत हुने हँदा, बचेको समयमा आर्थिक उपार्जनका काम गरी परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ । पानीको अभावका कारण बालबालिकाहरूले टाढासम्म पानी लिन जानु पर्ने बाध्यता र कठोर परिश्रमबाट मुक्ति पाउनुको साथै बचेको समय पढाईमा उपयोग गर्न सक्छन् ।

वातावरणीय सन्तुलनमा टेवा

आकाशेपानी संकलनले धेरै वातावरणीय फाइदाहरू पुर्‍याएको देखिन्छ । यसले जल चक्रलाई सन्तुलित बनाउन सहयोग गर्नुका साथै बग्ने पानीबाट हुने बाढीलाई कम गर्ने, ऊर्जाको बचत गर्ने, कार्बन उत्सर्जन घटाएर वातावरण संरक्षण गर्ने र स्वस्थ बिरुवाहरूको विकास गर्न मद्दत गर्दछ ।

आकाशेपानी संकलनका धेरै फाइदाहरू भए तापनि आकाशेपानी संकलन प्रणालीको पानी वर्षभर घरेलु उपयोगका लागि पर्याप्त नहुने हुनाले यो प्रणाली कार्यान्वयन गर्दा केही चुनौतीहरू रहेको देखिन्छ । भूमिगत पानी वा सतहको पानीसँग आकाशेपानी सङ्कलन प्रणालीको संयोजन गरी यो चुनौतीको सामना गर्न सकिन्छ । कतिपय समुदायमा आकाशेपानी शुद्ध नभएको तथा धेरै दिन भण्डारण गरेकाले बासी भएको भनी पिउने उद्देश्यका लागि उपयोग नगर्ने गरेको पनि देखिएको छ ।

लामो समयसम्म वर्षा नहुनाले गर्दा संकलित आकाशेपानीले  धेरै दिनको माग धान्न सक्दैन । वर्षभरि पानीको अभाव हुने क्षेत्रका लागि यो उपयुक्त नहुन सक्छ । जलवायु परिवर्तनका कारण वर्षैपिच्छे वर्षाको ढाँचामा परिवर्तन हुँदै गएकाले मानिसको खानेपानीको माग पूर्ति गर्न चुनौती थपिएको छ । यी चुनौतीहरूको सामना गर्न, अन्य स्रोतहरूसँग आकाशेपानीको  संयोजनबाट सम्बन्धित समुदायका मानिसहरूको पानीको माग पूरा गर्न सकिन्छ ।

विश्वव्यापी जलवायु संकटको नतिजा कुनै न कुनै रूपमा पानीसँग जोडिन्छ । जलवायु परिवर्तनले पानीको चक्रलाई परिवर्तन गराउँछ । जलवायु परिवर्तनले खानेपानी सेवाहरूको दिगोपनलाई असर गरिरहेको हुन्छ । पानीको उपलब्धता घटाउँछ । पानीको गुणस्तरलाई असर गरिरहेको हुन्छ । दिगो विकासलाई खतरामा पारिरहेको हुन्छ । बढ्दो पानीको मागले गर्दा ऊर्जामा आधारित गतिविधिहरू जस्तै पानी पम्पिङ र यसको शुद्धिकरणको आवश्यकता बढेको देखिन्छ ।

पानीका मुहान र भूमिगत जलस्रोतहरू घटेर मधेशमा गत वर्ष गर्मीयाममा काकाकुल अवस्था देखिएको सम्झना ताजै छ ।  वीरगञ्ज  र जनकपुरधाम जस्ता शहरहरूमा महिला तथा बालबालिकाहरूले पानीको लागि नसुकेका चापाकल र ट्याङ्कर खोज्न भौतारिएको निकै देखिएको हो । यो अवस्था पूर्व पश्चिम राजमार्ग वरपर र खासगरी चुरेको फेदीतिर झनै विकराल बनेको छ । यी ठाउँहरूमा खानेपानी, सिँचाई तथा अन्य प्रयोजनका लागि पानीको अभाव भयो ।

यसको जोहो गर्न निकै कष्टकर रह्यो । महिलाको कार्य बोझ नियमितको भन्दा बढ्यो । बालबालिकाको पढाईमा असर परेको प्रष्ट देखियो । भूमिगत पानीको सतह तल सरेकोले ४० देखि ५० फिटमा पानी आउने तराई मधेशमा चार देखि पाँच सय फिट भन्दा बढी तलबाट पानी तान्नु पर्ने देखियो । यस वर्ष पनि खडेरी हुने संकेत देखिन थालेको छ । यसवर्ष पनि भूमिगत पानीको सतह तल गएकोले ट्युवेल सुख्खा हुन थालेको संकेत मधेशको केही जिल्लाहरूमा देखिन थालेको छ ।

मधेशमा खानेपानीको चरम अभाव चुरे वा शिवालिक क्षेत्र वरपर वातावरणीय प्रभावको मूल्यांकन नगरी सडक तथा अन्य संरचना निर्माण तथा नदीबाट बालुवा, ढुङ्गा, गिट्टीजस्ता सामग्रीहरूको अनियन्त्रित उत्खनन्ले गर्दा पानीको स्रोतहरूमा असर परेर अभाव हुन थालेको विश्लेषण ढिलो गरी शुरु भएको छ ।

त्यसैगरी, पहाडतिर जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा डोजरबाट जथाभावी र अव्यवस्थित सडक निर्माणबाट भइरहेको वातावरणीय प्रभावले गर्दा पहिरो जस्तै विभिन्न खाले विपद्को साथै पानीका स्रोतहरू पनि सुक्ने वा घट्ने क्रम जरी छ । जसले गर्दा सिचाई र खानेपानीको लागि पानीको उपलब्धता कम भएको अवस्था सहजै देख्न सकिन्छ । यस्तो अवस्थामा आकाशेपानी सङ्कलन र उपयोग जलवायु अनुकूलनको लागि एक महत्त्वपूर्ण विधि हुन सक्छ ।

भावी पुस्ताका लागि पानी संरक्षण गर्ने क्रममा दुरगामी असर गर्ने संरचना निर्माण गर्दा त्यसको वातावरणीय, वित्तीय, र सामाजिक असरको गहन विश्लेषण पश्चात मात्र त्यस्तो निर्माण गर्ने वा नगर्ने निर्णय लिनुपर्छ । नत्र भावी पुस्ताको जीवनयापन ज्यादै कष्टकर बन्ने निश्चित छ । अत: पानीको अभावबाट जुध्नको लागि उपलब्ध अन्य स्रोतको साथसाथै आकाशेपानीको व्यवस्थापन र उपयोग गर्नु अपरिहार्य छ ।

मुलुकको सहरी क्षेत्रदेखि दुर्गम क्षेत्रसम्म जताततै पानीको एक महत्वपूर्ण स्रोत आकाशेपानीलाई लिन सकिन्छ । आकाशेपानी संकलन गर्ने प्रणाली जडान गरी घरायसी तहमा रिचार्ज पिट बनाएर सहरी क्षेत्रमा पानीको अभाव समाधान गर्न सकिन्छ । यसले पिउने पानीको उपलब्धता बढाउनुका साथै जमिन मुनिको पानीको सतह बढेर इनारमा पानीको वृद्धि हुनेछ ।

साथै, तराई/मधेसका समतल भूभागमा पोखरीहरू वा रिचार्ज पिटहरू निर्माण गरेर भूमिगत पानी रिचार्ज गर्न आकाशेपानीलाई महत्त्वपूर्ण स्रोतको रूपमा लिन सकिन्छ । भविष्यमा पानीको बढ्दो माग पूरा गर्न यसलाई ठूलो मात्रामा उपयोग गर्न सकिन्छ । त्यसैले आकाशेपानीको उपयोगलाई एउटा गतिलो पुरकको रूपमा लिनुपर्छ ।

बाढी, पहिरो, कोभिड, भूकम्प, खडेरी आदि जस्ता प्राकृतिक विपद्‍का समयमा नेपालमा तारे होटेलदेखि चिया पसलसम्म चर्कै बहस हुन्छ । यसै विषयमा सभा, सम्मेलन, गोष्ठी बाक्लै हुन्छ । लेख रचनाहरू पनि प्रशस्त लेखिन्छन् । आयोगहरू गठन हुन्छन् । समाधानका विविध उपायहरू पनि सुझाउने काम हुन्छ ।

विडम्बना, विपद् मत्थर हुने बित्तिकै न त यस्ता विषयमा छलफल हुन्छ न सुझाव नै कार्यान्वयन हुन्छ । सबै बिर्से जस्तै गरिन्छ, मानौं यस्तो विपद् दोहिरिने छैन जस्तै लाग्छ । तसर्थ घर जल्न थालेपछि आगो निभाउन कुवा खने जस्तो नगरी विपद गहिरिनु भन्दा अगावै त्यसको समाधानतिर लाग्नु बुद्धिमानी हुनेछ । यस आलेखका सन्दर्भमा भन्ने हो भने अब ढिलो नगरी पानीको अन्य स्रोतसंगै आकाशेपानीको सार्थक संयोजन गरेर पानीकोअभाव टार्न सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार