जुम्ला : बढ्दो डोजरे विकास र वन फडानीले पानीका मुहान सुक्न थालेका छन् । स्थानीय सरकारले डोजरे विकासलाई प्राथमिकता दिनु र नागरिकले व्यक्तिगत प्रयोजनका लागि आवश्यकताभन्दा बढी वन जंगल फडानी गर्नुले पानीका मुहान सुक्न थालेका हुन् । संघीयतापछि स्थानीय सरकारले सडक विकासलाई विशेष प्राथमिकता दिएका छन् । वातावरणीय प्रभाव मूल्यांकन बिना हचुवामै डोजर चालकको भरमा जथाभावी रूपमा सडक निर्माण गर्न गरेका छन् ।
निर्माण भएका अधिकांश सडक प्रयोगमा छैनन् । करोडौं बजेट खर्चिएर निर्माण गरेका सडक नत प्रयोगमा छन् । नत स्थानीय नागरिकले राहत पाएका छन् । विकासका नाममा बढेको विनासले गर्दा खानेपानीका मुहान सुक्दै आएपछि पानीको हाहाकार हुन थालेको छ । किर्डाक नेपालद्वारा जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित सुमात्रा परियोजनाले सार्वजनिक गरेको तथ्यांकनुसार पातारासीमा मूल (नाउला) २४१ वटा, साना खोल्सा २३३ वटा, खोल्सा १९ वटा, नदी दुईवटा गरी जम्मा पानीका स्रोत ४९५ वटा रहेका छन् ।
कुल ४९५ पानीका स्रोतमध्ये १२९ वटा पानीका स्रोतमात्रै प्रयोगमा छन् भने ३६६ वटा पानीका स्रोत प्रयोगविहीन छन् । प्रयोगविहीन ३६६ वटा स्रोतमध्ये वन फडानी र डोजरे विकासले अधिकांश सुक्दै गएका छन् । संरक्षणमा नजुटे केही वर्षमा पातारासीले खानेपानीको अभाव खेप्ने छ । अहिले प्रयोगमा आएका १२९ वटा छन् भने नीति र लगानी अभावले ३६६ वटा पानीका स्रोत प्रयोगविहीन अवस्थामा पुगेका हुन् ।
पातारासीमा १८ प्रतिशत खानेपानी, ३ प्रतिशत सिँचाइ, एक प्रतिशत विद्युत, १ प्रतिशत पानीघट्ट, खानेपानी तथा सिँचाइमा ३ प्रतिशत र ७४ प्रतिशत पानीको स्रोत प्रयोगमा छैनन् । खानेपानीका स्रोतको उचित परिचालन गर्ने ठोस नीति र पर्याप्त बजेट लगानी नहुँदा पातारासीका ३७४ वटा पानीका स्रोत प्रयोगविहीन भएका हुन् । साथै पातारासीमा १२ वटा सिँचाइ आयोजना छन् । राम्रोसँग सञ्चालनमा रहेका ३ वटा आयोजना छन् भने ६ वटा सिँचाइ आयोजना बिग्रेको अवस्थामा छन् ।
नयाँ २४ वटा र मर्मत गर्नुपर्ने ३ वटा सिँचाइ आयोजना तर्जुमा भएका छन् । पानीबाट सञ्चालन हुने पातारासी गाउँपालिकामा १२ वटा लघुविद्युत आयोजना सञ्चालित छन् । यी आयोजनाबाट २०९ किलोवाट विद्युत उत्पादन भइरहेको छ । पानीबाट सञ्चालन हुने पातारासीमा २५ वटा पानीघट्ट रहेका छन् । यसमध्ये पाँच वटा घट्ट नियमित सञ्चालन छन् । तर पानीको स्रोत घटेपछि खानेपानीको अभावमात्र भएको छैन । सिँचाइको अभाव, पानीघट्ट लोपोन्मुख अवस्थामा पुगेका छन् ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहरा सडक विकास र वन जंगलको प्रयोगमा सावधानी नअपनाउँदा पानीका मुल सुक्दै गएको बताउँछन् । स्थानीय सरकार संचालनको पहिलो पाँच वर्षमा सडक निर्माण पहिलो प्रथामिकतामा थियो । सोहीनुसार गाउँगाउँमा सडक पुर्याइएको छ ।
उनले भने, ‘सडक गाउँगाउँमा पुग्नु । वन जंगलसम्म सडक पुग्नु गलत हैन । तर मापदण्डनुसार सडक निर्माण नहुँदाको प्रत्यक्ष असर पानीका स्रोत मासिँदै गएका छन् भने पछिल्ला वर्षामा वन जंगलको बढ्दो फडानीले समेत पानीको स्रोत सुक्दै गएको देखिन्छ । जल, जमीन, जंगल र जडिबुटी पातारासी समृद्धिका आधार हुन् । यी स्रोतको संरक्षण र परिचालन जरुरी छ ।’
पूर्व सामुदायिक वनका अध्यक्षसमेत रहेका अध्यक्ष बोहराले वन जंगल फडानी, जडिबुटी जथाभावी उत्खनन् हचुवामा हुने सडक विकासले पानीका मुहान सुक्न थालेका हुन् । नासिए गएपछि पानी मूल पनि नासिँदै सुक्दै गएका छन् । बढ्दो जलवायु परिवर्तनका कारण समयमा हिउँ नपर्दा हिमाल काला पत्थरमा परिणत भएका छन् ।
सुमात्रा परियोजनाले पातारासीको जल स्रोत संरक्षण र परिचालनका लागि नीति निर्माण र पूर्वाधार विकासम आवश्यक लगानी गर्दै आएको उल्लेख गरे । उनका अनुसार वन फडानी बढेर पानीका मुहान सुक्ने, विभिन्न विपद आउन थालेपछि वन संरक्षण अभियान तथा मापदण्डनुसार मात्र सडक निर्माण थालिएको छ । किर्डाक नेपालका कार्यक्रम विकास तथा गुणस्तर सुनिश्चतता प्रबन्धक असिम पौडेलले पानीको स्रोत संक्षरणमा स्थानीय सरकार नीति बनाउन चुक्दै आएको बताए ।
उनका अनुसार सुमत्रा पातारासीको खानेपानी विकास र जलस्रोत संरक्षणका नीति बनाउन पहल गरिरहेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प पीडितलाई राहत वितरण गरेको, शिक्षा, स्वास्थ्य, मानव अधिकार संरक्षण, जीविकोपार्जन, विपद्लगायतका क्षेत्रमा किर्डाकले काम गर्दै आएको उनको भनाइ छ। यो खबर कारोबार दैनिक बाट साभार गरिएको हो।
पानीका स्रोत पर्याप्त भए पनि जुम्लाको पातारासी गाउँपालिका मात्र नभई कर्णालीका सबै स्थानीय सरकार जलस्रोतको संरक्षणमा ठोस नीति बनाउन र लगानी गर्न अग्रसर छैनन् । जसका कारण पानीका स्रोत घट्दै गएका छन्