ललितपुर : काठमाडौ उपत्यकामा सधैंजसो पानीको अभाव झेल्नुपर्छ । हाल मेलम्चीको पानीले केही राहत मिले पनि मेलम्ची बन्द हुनासाथ काठमाडौमा पानीको हाहाकार सुरु हुन्छ।
तर काठमाडौ भन्दा केही पर अर्थात देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट १६ किलोमिटरको दुरीमा चौबीसै घण्टा खानेपानी वितरण भैरहेको छ, त्यो पनि सुरक्षित पानी । ललितपुरको गोदावरी नगरपालिका स्थित वडा नंं. ६ कालिटारका बासिन्दाले चौबीसै घण्टा सुरक्षित पानी उपभोग गर्दै आएका हुन्।
वाटर एड नेपालको ४९ लाख १० हजार १५३ रुपैयाँ, गोदावरी नगरपालिकाको २ लाख ५८ हजार ८४० रुपैयाँ र ५ लाख ७४ हजार ३४१ रुपैयाँ बराबरको श्रमदान गरी ५७ लाख ४३ हजार ३३४ रुपैयाँको लागतमा कालिटार खानेपानी योजना सम्पन्न भएपछि गोदावरी नगरपालिकाको वडा नं. ६ का १२० घरधुरीले सुरक्षित खानेपानी उपभोग गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिनुभयो।
कालिटारको खानेपानी वितरण प्रणालीबारे अवलोकन गर्न पुगेका ‘गोदावरी प्राबल्य वास परियोजना’ सँग सम्बद्ध स्वीडेन स्थित भ्याकिन संस्थाका पदाधिकारीहरुलाई समितिका अध्यक्ष खड्काले सुरक्षित पानी पिउन थालेको चार महिना मात्र भएको जानकारी गराउनुभयो।
टोलीमा भ्याकिनका पदाधिकारीहरु सहित गोदावरी नगरपालिकाका इन्जिनियरहरु सुनिल श्रेष्ठ र सीताराम कार्की, सिआईयुडीका कार्यक्रम निर्देशक सुदर्शन राजभण्डारी, वाटर एड नेपाल, विकन परियोजनाका प्रमुख कबिन्द्र पुडासैनी, गोदावरी प्रावल्य वास परियोजनाका प्रमुख आनन्द गौतम, वाटर एड नेपालका सिनियर कम्युनिकेसन तथा फण्ड रेइजिङ कोअर्डिनेटर आभाष कर्माचार्य हुनुहुन्थ्यो।
सुरक्षित खानेपानी कसरी सम्भव भयो ?
खानेपानी परिक्षणका क्रममा इकोली भेटिएपछि क्लोरिन डोजिङ युनिट जडान गरी नियमित रुपमा क्लोरिनेसन गरेर मात्र पानी वितरण गरिएको उहाँले बताउनुभयो।
भ्याकिनका पदाधिकारीहरुले क्लोरिन डोजिङको प्रयोग गर्ने तरिका, क्लोरिनेसन गरेपछि धाराको पानीमा क्लोरिनको मात्रा पुगे नपुगेको कसरी पहिचान गर्ने भन्ने बिषयमा चासो राखेका थिए ।
कालिटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव कुमार खड्काले क्लोरिन ट्याङ्कीमा एक पटक क्लोरिनेसन गरेपछि दुईदिन सम्म टिक्ने र त्यसको मात्रा निश्चित गरेपछि स्वचालित रुपमा पानीमा मिसावट भैरहने बताउनुभयो।
उहाँले धारामा क्लोरिनको मात्रा रहे नरहेको हरेक १५ दिनको फरकमा परिक्षण हुँदै आएको र ट्याङ्कीबाट धारामा पुग्दा ०.१ मिलिग्राम प्रतिलिटर क्लोरिनको अवशेष भेटिएको बताउनुभयो।
‘क्लोरिनको मात्रा नाप्दै आएका छौं, यसलाई हामी निरन्तरता दिन्छौं, हाम्रो पठाउने पानी सुरक्षित छ भन्नेमा हामी ढुक्क छौं’ उहाँले भन्नुभयो।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले क्लोरिन प्रयोग हुने प्रणालीमा क्लोरिनको अवशेष न्युनतम ०.१० मिलिग्राम प्रतिलिटर देखि अधिकतम ०.५० मिलीग्राम प्रतिलिटर तोकेको छ ।
टोलीमै रहेका वाटर एड नेपालको विकन परियोजना प्रमुख कबिन्द्र पुडासैनीले ग्रामीण भेगमा सञ्चालित खानेपानी योजनाहरुमा ‘क्लोरिन डोजिङ युनिट’ जडान गर्न सके सुरक्षित पानीमा पहुँच पुग्ने बताउनुभयो।
‘क्लोरिनेसन गरेर पानी वितरण गर्दा सुक्ष्म जीवाणुहरु नष्ट हुन्छन्, हामी कहाँ सञ्चालित धेरै जसो खानेपानी उपभोक्ता समितिहरुले कुनै प्रशोधन बिनै वितरण गरिरहेका छन्’ उहाँले भन्नुभयो ‘उपभोक्ता समितिलाई क्षमता अभिवृद्धि गराई खानेपानीको संरचनामा क्लोरिन डोजिङ पम्प जडान गरेर अनिवार्य क्लोरिनेसन गर्न सके इकोली मिसिएको पानी पिउनु पर्दैनथ्यो।’
कालिटार खानेपानी तथा सरसफाइ आयोजनामा ‘क्लोरिन डोजिङ युनिट’ जडान गर्न १ लाख ५० हजार रुपैयाँ लगानी भएको छ।
विज्ञको प्रश्न ‘मानव मलमूत्रको व्यवस्थापनमा’
विदेशी विज्ञ टोलीका मर्मत सम्भार प्राविधिक Jimmy Solander ले खानेपानीको आपूर्ति राम्रो सँग भैरहेपनि ढलको उचित व्यवस्थापन हुन नसके खानेपानी प्रदुषण हुनसक्ने भन्दै मानव मलमूत्रको व्यवस्थापन के कसरी भैरहेको छ भन्ने जिज्ञासा राख्नुभयो।
जवाफमा वडाध्यक्ष बिष्णुमान महर्जनले भौगोलिक अवस्था र ग्रामीण बस्ती भएकाले हालसम्म ढल प्रणालीको प्रबन्ध नभएको र सबै घरमा सेप्टिक ट्याङ्कको व्यवस्था रहेको बताउनुभयो। ‘सेप्टिक ट्याङ्की भरिएमा सम्बन्धित घरले नै ट्याङ्करहरु बोलाएर खाली गरेर पठाउनुहुन्छ’ उहाँले भन्नुभयो।
दिगोपनाका लागि चाहिं के छ त योजना ? भ्याकिनकै टोलीको प्रश्नमा कालिटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर खड्काले अर्को स्रोतको पानी थप गर्नुपर्ने बताउनुभयो। ‘हामीले स्रोतको पहिचान पनि गरेका छौं, बस्तीबाट करिब साढे ३ किलोमिटर टाढा छ,यसका लागि हामी नगरपालिका तथा तपाईहरु जस्तै दाताको खोजीमा छौं’ उहाँले भन्नुभयो।
खानेपानी समस्या समाधान, वडाको जिम्मेवारी : वडाध्यक्ष
वडाध्यक्ष बिष्णुमान महर्जनले भने वडाबासीलाई खानेपानीको सुविधा पुर्याउने आफ्नो जिम्मेवारी भएकाले साना साना समस्यामा दाताको बाटो नहेर्न अनुरोध गर्नुभयो। ‘उहाँहरुले प्राविधिक सहयोग गर्नुभएको छ, प्रविधि हस्तान्तरण गरेपछि हामीले नै गर्ने हो’ उहाँले भन्नुभयो ‘वडामा आउनुहोस्, बोरिङ गर्नुपर्छ कि, लिप्टिङ गर्नुपर्छ कि के गर्नुपर्छ वडा कार्यालय तयार छ।’
एक घर एक धारा पुगेको वडा घोषणा हुँदै
उहाँले यसबर्ष मात्र दुई वटा खानेपानी योजनाहरु सम्पन्न गरी १५१ घरधुरीमा स्वच्छ पानीको सुविधा उपलब्ध गराएको जानकारी गराउनुभयो। ‘सरकारको नीति अनुसार एक घर, एक धारा सबै घरमा पुर्याउनका लागि विगत सात बर्षदेखि क्रियाशील छु’ उहाँले भन्नुभयो ‘यसमा मलाई सफलता पनि मिलिरहेका छ, यही आर्थिक बर्षभित्र बडाबासीको सबै घरमा खानेपानी पुर्याईसक्छौं’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार वडाका ७ घरधुरीमा मात्र व्यवस्थित तरिकाले खानेपानी पुर्याउन बाँकी छ। ‘उहाँहरुले पनि पाइप प्रणालीबाटै पानी पिउनु भएको छ, तर स्रोत व्यवस्थित गरिएको छैन’ उहाँले भन्नुभयो।
अपुग घरमा पनि यही आर्थिक बर्षभित्र व्यवस्थित धारा बनाएर सबै घरमा एक घर एक धाराको पहुँच पुगेको वडा घोषणा गर्ने योजना रहेको उहाँले सुनाउनुभयो।
गोदावरी प्रावल्य वास परियोजनाका प्रमुख आनन्द गौतमले चालु आर्थिक बर्षभित्रै एक घर एक धारा पुगेको वडा बन्न लागेकोमा वडाअध्यक्ष एवं वडाबासीलाई धन्यबाद व्यक्त गर्नुभयो। उहाँले खानेपानी पाउनु मात्र ठूलो कुरा नभएकाले यसको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो। पानीको नियमित परिक्षण गर्न, क्लोरिनेसन गरेर मात्र वितरण गर्न र धारामा क्लोरिनको अवशेष निश्चित समय अवधिमा परिक्षण गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र वितरण गर्न पनि आग्रह गर्नुभयो।
स्वीडेनको भ्याकिन (Vakin) नामक संस्थाका पदाधिकारी र वाटर अपरेटर पार्टनरसीप एवं वाटर एड युकेका एडभाइजर Jeanne Col सहितको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न वडाका खानेपानी तथा सरसफाइ आयोजनाहरुको अवलोकन, स्थानीयबासिन्दासँग अन्तरक्रिया एवं नीति निर्माण तहसँग छलफल गरिरहेको छ ।
वाटर एड नेपाल, भ्याकिन र गोदावरी नगरपालिकाको साझेदारीमा विगत १५ महिनादेखि ‘गोदावरी प्रावल्य वास परियोजना’ सञ्चालन भैरहेको छ ।
परियोजनाले स्थानीय तहमा रहेका अभाव र असमानताहरुको पहिचान गरी दिगो विकास लक्ष्य ६.१ र ६.२ प्राप्तिका लागि सेवाग्राही एवं सेवा प्रदायकसँग समन्वय एवं प्राविधिक सेवा उपलब्ध गराउने, खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा योजना तर्जुमा, स्रोत परिचालन र ज्ञान तथा सीप अभिवृद्धि गर्ने, एकीकृत योजना तर्जुमा गर्न क्षमतामा सुधार ल्याउने लगायत कामहरु गर्दै आएको छ।