दुर्गा सरको मन्त्र : नचिढ्याउनु, नबिझाउनु

  विनोद धौलागिरि  661 पटक हेरिएको

गएको २५ नोभेम्बरमा जन्मोत्सवको शुभकामना प्रकट गर्नका लागि टेलिफोनमा छोटो कुराकानी हुँदा दुर्गा सर (दुर्गा प्रसाद नेपाल, उहाँलाई मैले अक्सर दाइ भनेर सम्बोधन गर्छु) ले भन्नुभएको थियो, “जिन्दगी दुःखै दुःखमा छ यार । जति मुख बार्छु, त्यति नै सुताइरहन्छ ।”

खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा प्राविधिक र सामाजिक दुबै ज्ञान भएका एक हस्ती दुर्गा प्रसाद नेपाललाई रोगले आइतबार अन्ततः सदाका लागि सुतायो ।

निधनको खवर पाउनासाथ वास खवर सम्पादकीय टोली छोटो भिडियो कलमा बस्यौं । समाचार लेख्ने कि नलेख्ने ? अन्ततः निस्कर्ष निस्कियो ः समाचार नलेख्ने, किनकि समाचार निकै छोटो हुन्छ । तर दुर्गा प्रसाद नेपालका समाचारमा नआउने र सबैले सिको गर्नुपर्ने आयामहरु धेरै छन् । त्यसैले, लामो समयदेखि सँगत गरेको नाताले मैले अबिच्युअरी लेख्ने जिम्मेवारी प्राप्त गरें ।

सबैभन्दा बढी चोट त परिवारजनमा परेको हुन्छ, भाउजूले जीवनसाथी गुमाउनुभयो, दुई छोराहरुले आफ्नो अभिभावक असमयमा नै गुमाए । हामी यू.एन. ह्याबिट्याट, केयर नेपाल, एलजिसिडिपी लगायतका कार्यक्रम र संस्थामा कार्यरतहरुले आफ्नो सहकर्मी गुमायौं । नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रले एक बहुआयामिक विज्ञ गुमायो ।

त्यो तालिमदेखि यो सहकार्यसम्म

वि.सं. २०६६ सालतिर म कार्यरत तत्कालीन कार्यालय सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) बाट डडेल्धुरामा सामाजिक परिचालन तालिम सञ्चालन गर्न जाँदा दुर्गा सर विकास साझेदार संस्था केयर नेपालबाट स्थानीय साझेदार संस्थाका परियोजना कर्मचारीहरुसँगै सहभागीको रुपमा सो तालिममा हुनुहुन्थ्यो । हामीले पाँच दिनको तालिममा निकै गज्जबको सहकार्य गर्ने मौका मिल्यो ।

उहाँबाट हामीले केही सिक्यौं, हामीले केही सिकायौं । तालिम सकियो, हामी फर्कियौं । त्यसपछिका केही वर्ष हामीबीच कुनै सम्पर्क भएन । तर, विकास साझेदारको कर्मचारी भएर पनि पूरा तालिममा पूर्णकालीन सहभागीजस्तै भएर सिक्ने सिकाउने प्रक्रियालाई अघि बढाउन पूरापूर प्रयत्न गर्ने उहाँको वानीको हामीले सदैव कुरा गरिरहन्थ्यौं । समयका आधारमा, हामी पहिलो पटक चिनजान भएको चौध वर्ष करिब पूरा भएछ ।


सन् २०१६ मा म यू.एन. ह्याबिट्याटमा जिल्ला संयोजकको रुपमा धनुषा जिल्लामा कार्यरत थिएँ । उहाँ वास अफिसरको रुपमा यू.एन. ह्याबिट्याटको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रममा जोडिनुभयो । धनुषामा भेट भयो । उहाँले पहिलो भेटमा नै भन्नुभयो, “डडेल्धुराको तालिमपछि हाम्रो भेट बल्ल भयो, है ?” मलाई सुरुमा उहाँ दुर्गा प्रसाद नेपाल नै हो कि होइन भन्ने छुट्याउन केही समय लाग्यो । तर पनि छिटै नै निधो गरें, उहाँ नै हो । मैले पनि दरिलो हात मिलाउँदै भनें, “एउटै अफिसमा काम गर्न जुर्नुपर्ने रैछ भेट्नका लागि पनि ।” उहाँले पनि खुशी व्यक्त गनुृभयो ।

त्यसपछि परियोजना अवधिभर हामी ग्लोबल स्यानिटेसन फण्डमा नै रह्यौं । म सन् २०१७ को थालनीमा नै कोशी प्रदेशमा सरुवा भएर गएपछि पनि कहिले फिल्ड मिसन त कहिले तथ्यांक विश्लेषण, वास प्लान तयारी लगायतका काममा सधैं सँगसँगै रहिरह्यौं । साथी गौरव चौधरी र उहाँले तथ्यांक विश्लेषण गर्नुभएको देखेर मलाई पनि भित्रभित्रै लोभ लाग्थ्यो : यस्तै मैले पनि जान्न पाए । मेरो सुपरभाइजर राजेश मानन्धरले कोभिडको समयमा तथ्यांक विश्लेषणका लागि एपिएसएस सिक्ने मौका मिलाउनुभयो । वास्तवमा, आज ममा मात्रात्मक तथ्यांक संकलन र विश्लेषणको जुन सीप छ, त्यसका लागि भोक जगाइदिने पनि दुर्गा दाइ नै हुनुहुन्थ्यो ।

सन् २०२० को डिसेम्बरमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम समाप्त भैसकेपछि पनि हामी सँगसँगै रह्यौं । एनवास एप्लिकेशनको माध्यमबाट वास प्लान तयार गर्ने कार्यमा एक वर्ष हामी सँगसँगै नै रह्यौं । मैले अस्ती आइतबार उहाँको निधनको खवर सुन्नुभन्दा अघि पनि उहाँको वैयक्तिक विवरण (सिभी) सम्पादन गरिरहेको थिएँ । साथी द्रोणाचार्य पौडेलले फोन गरेर सोध्नुभयो, “दुर्गा नेपाल सरको बारेमा केही थाहा पाउनुभयो ?” उहाँ केही समय अघिदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहनुभएकोले मेरो मनमा चिसो पसिहाल्यो, र सोधें, “मलाई त केही जानकारी भएन । के खवर ?” उहाँले “नराम्रो खवर” मात्र बताउनुभयो । पछि सहकर्मी हरि बूढाथोकीसँग फोन हुँदा उहाँले विस्तृतमा बताउनुभयो ।

बहुविषयक ज्ञान


यू.एन. ह्याबिट्याटमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता अधिकृतको रुपमा कार्यरत रहेकोले उहाँ सोही क्षेत्रमा मात्र दख्खल राख्ने व्यक्ति हो कि भन्ने भ्रम धेरैलाई पर्न सक्छ । तर, उहाँका ज्ञान, सीप र क्षमताको विविधता थियो ।

उहाँले क्याम्पसमा अध्ययन गरेका विषयले पनि उहाँलाई यस कार्यमा सहयोग पुगेको हुनुपर्छ । प्रवीणता प्रमाणपत्र तहमा सिभिल इञ्जिनियरिङ, कम्प्युटर एप्लिकेशनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका कारण पनि उहाँमा प्राविधिक र सामाजिक दुबै क्षेत्रको ज्ञान हुनु स्वभाविक मानिन्छ । अध्ययनमात्र होइन, उहाँको पेशागत पृष्ठूमिका कारण पनि उहाँमा पर्याप्त व्यवसायिक क्षमता भएको हामीले महसुस गरेका छौं ।

उहाँ यू..एन. ह्याबिट्याटमा प्रवेश गर्नुअघि करिब दुई वर्ष स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चमा जिल्ला संयोजकको रुपमा बहुक्षेत्रीय पोषण कार्यक्रम सहजीकरण गर्नुभएको थियो, जसको प्रत्यक्ष प्रभाव ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रममा समेत देखिन्थ्यो । हामीले बालबालिकाको सरसफाइजन्य रोगको कुरा गरिरहँदा उहाँले खाद्य सुरक्षा, सन्तुलित भोजन तथा पोषण, गर्भवती महिलाको स्याहार र नवजात शिशुको सर्वाङ्गीण विकास लगायतका विषयलाई खानेपानी सरसफाइसँग जोडेर सहजीकरण गर्नुहुन्थ्यो ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मा शासन विज्ञको रुपमा करिब तीन वर्ष काम गरेका कारण उहाँमा स्थानीय सरकार सञ्चालन, नागरिकका आवश्यकता पहिचान, योजना तर्जुमा, सहभागितामूलक एवम् नतिजामुखी अनुगमन प्रणाली लगायतका विषयमा राम्रो ज्ञान थियो । उहाँमा भएको यही ज्ञान र सीपको प्रयोग गरी स्थानीय तहको आवधिक योजना निर्माणका लागि टिममा सँगसँगै काम गर्न सुरु भएकै बेला टिमले उहाँलाई गुमाउन पुगेको छ ।


केयर नेपालमा करिब दश वर्ष काम गर्दा उहाँले सामाजिक परिचालन तथा क्षमता विकास विज्ञ, जिल्ला कार्यक्रम संयोजक, परियोजना सहयोग अधिकृत र फिल्ड अधिकृतको जिम्मेवारी निभाउनुभयो, जुन क्षमता खुला दिसामुक्त अभियान तथा पूर्ण सरसफाइ अभियान सहजीकरणको क्रममा समेत प्रष्ट देखिन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, “हामीले गर्ने सहजीकरण व्यवहार परिवर्तनका लागि हो, जुन क्रमवद्ध र चरणवद्ध रुपमा गर्नुपर्छ । कोही कसैलाई पनि चिढाएर र मन बिझाएर सहजीकरण हुँदैन ।”

… र अन्त्यमा

विकास सहजीकरण क्षेत्रमा विषय विज्ञको कमी छैन । सबै विषयमा एक से एक विज्ञहरु हुनुहुन्छ । एक जना व्यक्ति नहुँदैमा यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ भनेर मैले पनि दावी गर्दिनँ । तर, यस्तै बहुआयामिक ज्ञान, सीप, अनुभव, क्षमता र दक्षता हुँदाहुँदै पनि आफूलाई सधैं सामान्य स्तरमा राखेर विकास सहजीकरण गर्ने यस्तै व्यवसायिक व्यक्ति अर्को भेट्न मुस्किल पर्छ ।

म दुई दशकभन्दा बढी समय पत्रकारितामा क्रियाशील रहेको व्यक्ति । तर पनि, मैले वास खवरमा लेख्ने लेखहरुमा उहाँले दिने सुझाव र प्रतिक्रियाबाट मैले आफूमा धेरै परिवर्तन ल्याउन पाएको छु । हामी आफूलाई बहुआयामिक र बहुविषयक सहजकर्ताको रुपमा विकास गर्दै लैजानु नै दुर्गा दाइप्रति सच्चा सम्मान ठहरिने छ ।
अलविदा, दुर्गा दाइ १११

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार