सरसफाइकर्मीको त्यो शब्द जसले सुनिरहेकाहरुलाई समेत स्तब्ध बनायो

  वास खबर सम्वाददाता  426 पटक हेरिएको


ललितपुर : फोहोरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत सफाइकर्मीहरुसँग छलफल भैरहेको थियो। गोदावरी प्राबल्य वास परियोजनाले आयोजना गरेको उक्त छलफलका सबै मुख्य वक्ताहरु सरसफाइ व्यवसायी तथा कर्मचारी हुनुहुन्थ्यो।

सफाइकर्मीले भोगिरहेको बर्तमान अवस्था पहिचान गरी उक्त अवस्थामा सुधार ल्याउन कार्ययोजना निर्माण गर्ने हेतुले आयोजना गरिएको उक्त छलफलमा एक जना सफाइकर्मीको ‘शब्द’ ले कार्यक्रम स्थल नै स्तब्ध भयो।

मञ्चमा हुनुहुन्थ्यो, सरसफाइ व्यवसायी प्रदिप ढुङ्गाना, सरसफाइकर्मी संगीता लामा, अर्का सरसफाइकर्मी सरस्वती कुमाल र गोदावरी नगरपालिकाको वातावरण शाखा प्रमुख अनिता बोहोरा ।


छलफल कार्यक्रमको सञ्चालन गर्नुभएको थियो गोदावरी प्राबल्य वास परियोजनाका प्रमुख आनन्द गौतमले। सुरुमा व्यवसायी प्रदिप ढुङ्गाना त्यसपछि संगीता लामालाई प्रश्न गरेपछि पालो आयो अर्का सरसफाइकर्मी सरस्वती कुमालको ।

कुमाललाई सीधै प्रश्न गर्नु अघि उहाँले केही भूमिका बाँध्नुभयो। ‘सिर्जनसीप सेवा प्रा.लि.को फोहोर संकलन केन्द्रमा फोहोर छुट्याउने काम गर्नुहुन्छ। उहाँको आफ्नै श्रीमानले पनि सँगै काम गर्नुहुन्छ । ९ बर्ष भयो यो काम गर्न थाल्नुभएको । तपाईलाई काम गर्दा खास कस्तो समस्या छ ?’


सरसफाइकर्मी कुमालले आफूहरुले भोगिरहेको समस्यासँग आफ्नो मनोभावना पनि व्यक्त गर्नुभयो ‘मलाई चाहिं के डर छ भने म त यो फोहोरमैलामा काम गरिरहेको छु, मेरो कारणले घरको बालबालिकाहरुलाई चाहिं रोग नलागोस् भन्ने चाहन्छु। हामीलाई मास्क पञ्जा भनेको बेला हुँदैन। यसका कारणले पनि मलाई अलि डर लाग्छ । अहिले अनेकथरि रोगहरु आईरहेको छ ।’

कुमालले आफ्ना कुरा सुनाई रहँदा हल चकमन्न भयो। सफाइकर्मी कुमालको कुरा सकेको केहीबेर पछि कार्यक्रम सञ्चालकले सहभागीको विचार संकलन गर्नुभयो। सोही क्रममा ग्लोबल वाटर अपरेटर्स पार्टनर्सीप एलायन्स (GWOPA) की सेनिटेसन एक्सपर्ट Shobana Srinivasan ले भावुक हुँदै भन्नुभयो ‘तपाईले धेरै मनछुने कुराहरु गर्नुभयो, साँच्चिकै म भावुक भएको छु । मैले यसरी काम गर्छु, तर मेरा छोराछोरीहरुलाई चाहिं रोगहरु नलागोस् भन्ने खालको कुरा छ, यसले एउटी आमाले बालबच्चाको जीवनका लागि आफ्नो जीवन नै त्याग्न पनि पछि पर्दैन भन्ने कुरा तपाईको भनाईले पुष्टि गर्छ।’


सरस्वती कुमालको भनाइलाई अंग्रेजी उल्था गरिरहेका अनुवादकको स्वर समेत त्यत्तिखेर अवरुद्ध भएको थियो।

छलफल कार्यक्रममा सरसफाइ क्षेत्रका विविध समस्याहरु उजागर भएका छन् ।

विस्तृतमा हेर्नुहोस् यो भिडियोः

छलफल कार्यक्रममा सहभागी विदेशी विज्ञले भने आफ्ना व्यक्तिगत सुरक्षा सामग्रीहरु मास्क, पञ्जा, गम्बुट, साबुन पानीले हात धुने व्यवस्था जस्ता सुविधाका साथै पहिलो प्राथमिकता कार्यस्थल नै सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् ।

छलफल कार्यक्रम आयोजना गर्नु अघि विदेशी विज्ञ टोलीले घरायसी स्तरबाटै फोहोर संकलन कसरी गरिन्छ ? फोहोर वर्गीकरण केन्द्रमा लगेपछि त्यसलाई कसरी छुट्याईन्छ ? सहर सफा राख्न अग्रपङ्तिमा खटिरहने सफाइकर्मीहरुले भोगिरहेको वास्तविक जीवन कस्तो छ भनेर स्थलगत अवलोकन गरेका थिए ।


सरसफाइकर्मीले कार्यस्थलमा भोगिरहेको वर्तमान अवस्थालाई सुधार गर्न गोदावरी प्राबल्य वास परियोजना मार्फत विभिन्न कार्य योजना बनाई कार्यान्वयन गरिने स्वीडेन स्थित भ्याकिनका प्रोजेक्ट म्यानेजर एलिनले प्रतिबद्धता व्यक्त गर्नुभयो।

फोहोरमैला संकलन स्थलमा विदेशी विज्ञ टोली

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार