चितवन : होटल तथा विभिन्न व्यवसायिक प्रतिष्ठान र घरायसी तहबाट निस्कने फोहोरपानीलाई ढलमा नमिसाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ। फोहोरपानी ढलमा मिसाउँदा नाला जाम हुने, सडकको अवस्था बिगार्ने र दुर्गन्धित हुने भएकाले सम्बन्धित सबैलाई सेफ्टी ट्यांक खनेर व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको हो।
ढलको पानी सिधै नारायणी नदी किनारमा जाने गर्छ। जसले गर्दा नदीमा समेत असर पर्ने भएकाले आफैं व्यवस्थापन गर्न अनुरोध गरिएको हो महानरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले भन्नुभयो।
‘आकाशेपानीका लागि निर्माण गरिएको नालामा होटलबाट निस्किने फोहोर मिसाएपछि नाला पूर्ण रूपमा जाम हुने गरेको उहाँले बताउनुभयो। यो नालामा नारायणगढका नाम चलेका होटलले बोसो, तेल तथा घ्युजन्य फोहोरले नाला जाम भएपछि समस्या आएको छ,’ पाण्डेले व्यवसायीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘सोर्स ट्यांक निर्माण गरेर यस्ता फोहोर पानीको व्यवस्थापन गर्नू।’
महानगरले नाला दुर्गन्धित भएपछि चारवटा होटललाई आफ्नै सोर्स ट्यांक निर्माण गर्न पत्राचार पनि गरेको छ। महानगरले ट्यांक निर्माण नगरी सिधै नालामा तेल, बोसोजन्य पानी, होटलबाट निस्कने ठोस फोहोर मिसाएको पाइएमा स्थानीय सञ्चालन ऐन २०७४ अनुसार कारबाही गर्ने जनाएको छ। यसअघि त्यस्ता फोहोरहरू नारायणी नदी र पुङ्गी खोलामा मिसाउने गरिएको थियो।
व्यवसायीहरूले अहिले आफ्नै गल्ती लुकाउन पटक पटक विरोधका कार्यक्रम पनि गर्दै आइरहेका छन्। होटलले आफ्नै सोर्स ट्यांक निर्माण गरे समस्या समाधान हुने देखिन्छ।
लायन्सचोक क्षेत्रमा रहेका वधशाला सिधै नालामा रगत फाल्ने पनि यस क्षेत्र सधैं दुर्गन्धित बन्ने गरेको छ। यसका कारण हैजाजन्य रोग लाग्ने सम्भावना उच्च रहने उपसचिव पाण्डेले जानकारी दिनुभयो। महानगरलाई सुन्दर, शान्त र सुसंस्कृत महानगर बनाउने उद्देश्यले विभिन्न सरसफाइको काम भइरहे पनि यो क्षेत्रमा फालिने फोहोरका कारण बजार क्षेत्र सधैं दुर्गन्धित हुने गरेको छ।
महनगरले निर्माण गरेको नाला बर्षातको पानी बगाउने प्रयोजनका लागि बनाएको भए पनि उपभोक्ताले सबै प्रकारका फोहोर फाल्दा नारायणगढको लायन्स चोकदेखि पुलचोक दुर्गन्धित बनेको छ। नालामा फोहोर फाल्ने उपभोक्तालाई महानगरले कडा निगरानी गरी कारबाहीको दायरामा ल्याउने जनाएको छ।
महानगरका इन्जिनियर साकार लामाले सरसफाइ गर्ने काम महानगरको मात्र नभई सबै स्थानीयको रहने बताउनुभयो। भरतपुरको मानव मलमूत्र फोहोर व्यवस्थापनका लागि संघीय सरकारबाट तीन अर्बको खानेपानी तथा ढल व्यवस्थापनको काम हुन लागेको उहाँले बताउनुभयो।