मेलम्ची : खानेपानी मन्त्री राजेन्द्रकुमार राईले मेलम्चीको बाँधस्थल सार्न प्रस्ताव गरिएको सर्कथली क्षेत्रको अवलोकन गर्नुभएको छ। बाढीले ध्वस्त बनाएको मेलम्चीको बाँधस्थल पुग्नुभएका मन्त्री राईले सर्कथलीको अवलोकनपछि मुहान सार्ने विषयमा छलफल भइरहेको बताउनुभयो।
शनिवार खानेपानीमन्त्री सहित आयोजनाका पूर्वसचिव, प्रमुख, इन्जिनियर, मेलम्ची नगरपालिकाकी उपप्रमुख सहित स्थानीय नेताहरुले मेलम्ची खानेपानी आयोजना क्षेत्रको स्थलगत अवलोकन गरेका गर्नुभएको हो।
‘मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने विषयमा विज्ञहरुसँग उच्चस्तरीय छलफल भइरहेको छ’ मन्त्री राईले भन्नुभयो।
खानेपानीमन्त्री राजेन्द्रकुमार राई सहितको टोलीलाई हेलम्बु गाउँपालिकाका स्थानीय बाढीपीडितले एक टपरी बालुवा र रोडा उपहार दिएका छन् । आफूहरुको माग पूरा नभएको भन्दै असन्तुष्ट स्थानीयले शनिवार हेलम्बु गाउँपालिका-२ किउलमा १७ बुँदे ज्ञापनपत्र समेत बुझाए । आक्रोसित स्थानीयले आफूहरुको माग पूरा नभए अस्थायी अडिट पनि बन्द गरिदिने चेतावनी दिए ।
बाढीको क्षतविक्षत बनाएको झण्डै तीन वर्ष पुग्नै लाग्दा सम्म पनि मेलम्चीको मुहान सार्ने विषयमा छलफल नै चलिरहेको छ। आफूले मन्त्रीको जिम्मेवारी लिएको दुई महिना मात्रै भएको र मुहान सार्नेबारे के-के गर्नुपर्ने हो, विज्ञसँग उच्चस्तरीय छलफल भैरहेको मन्त्री राईले बताउनुभयो।