जाजरकोट : जाजरकोट भूकम्पबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाइ योजना मध्ये ४० वटा खानेपानी आयोजनाको मर्मत सम्भार गरिएको छ। यसबाट भूकम्प प्रभावित क्षेत्रका २० हजार जनसंख्या लाभान्वित भएका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, युनिसेफ नेपाल वास कार्यक्रम र वास क्षेत्रका विकास साझेदारहरुको सहभागितामा खानेपानी तथा सरसफाइ योजना मर्मत सम्भार गरिएको हो।
मंसिर ३ गते गएको जाजरकोट भूकम्पबाट ५९२ खानेपानी योजना र ४२ हजार ८२० घरको शौचालयमा क्षति पुगेको थियो। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्याङ्क अनुसार २७९ विद्यालय र २९ वटा स्वास्थ्य संस्थाको खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा प्रभावित भएको थियो।
भूकम्पपछि १४८ रिजर्भ्वायर ट्याङ्कीमा क्लोरिनेसन गरि ७४ हजार नागरिकलाई गुणस्तरीय खानेपानी सेवा प्रवाहमा सहयोग पुर्याएको सुस्वाका वास अफिसर राजेन्द्र जोशीले जानकारी दिनुभयो।
भूकम्प प्रभावित समुदायका ५९२ वटा आकस्मिक शौचालय तथा २ हजार ५५७ वाटर सिल शौचालय निर्माण गरी खुल्ला दिशामुक्त अवस्था कायम राख्न सहयोग पुगेको उहाँले जानकार दिनुभयो।
यही अवधिमा १० वटा सामुदायिक विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता सेवा सुधार गरिएको छ भने ४० वटा विद्यालयमा खानेपानी र सरसफाइ सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन भैरहेका छन् ।
खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा प्रभावित समुदायको खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रको प्रतिकार्यका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको नेतृत्व र युनिसेफ नेपालको सह-नेतृत्व एवं वास कलस्टर सदस्यको सक्रियतामा क्रियाकलाप सञ्चालन गरी मानवीय सहायतामा सरिक भएको थियो । हरेक दिन वास कलस्टरको बैठक बसी प्रतिकार्यका क्रियाकलाप सञ्चालन गरिएको वास अफिसर जोशीले बताउनुभयो।
उहाँका अनुसार जाजरकोटको नलगाड, भेरी नगरपालिका, कुसे, बारेकोट गाउँपालिका, रुकुम पश्चिमको सानीभेरी, चौरजहारी, त्रिवेणी र आठबिसकोट पालिका र सल्यानको दारमा गाउँपालिकाका २४ हजार ५१० परिवारलाई स्वच्छता किट तथा सरसफाइ प्रबर्द्वन सत्र सञ्चालन गरिएको छ।
विपदको समयमा खानेपानी सरसफाइ तथा स्वच्छताजन्य विपद् हुन नदिन ४८ जना स्थानीय स्वयंसेवकहरु, खानेपानी उपभोक्ता समितिहरु परिचालन गरी घरघरसम्म खानेपानी, सरसफाइ तथा स्वच्छताबारे सन्देश पुर्याईएको छ।
जाजरकोट भुकम्पमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको नेतृत्वमा वास क्लस्टर सदस्य मध्येबाट जाजरकोट जिल्लाका सम्पुर्ण स्थानीय तहहरुमा हेल्भेटास नेपाल, रुकुम-पश्चिममा युनिसेफ नेपाल र सल्यान जिल्लामा सुस्वा परियोजनाले आवश्यक समन्वय गर्ने निर्णय गरी विकास साझेदारहरु सँग आग्रह गरेको थियो। सोही निर्णय बमोजिम जाजरकोट भूकम्प प्रतिकार्यका लागि युनिसेफ नेपाल, रेडक्रस, एलाईन्स फिप्टिन Helvetas, WHH, PIN, केयर नेपाल, प्लान इन्टरनेसनल नेपाल, सुस्वा, सेभ द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन लगायत संघसंस्थाले विभिन्न क्रियाकलापहरु सञ्चालन गरी खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा समन्वय र सहकार्य गरिरहेको छ ।
जाजरकोट भूकम्पबाट ९५ बालबालिका (५९ बालिका र ३६ बालक) सहित १५४ जनाको ज्यान गएको थियो।