कैलाली : सुदूरपश्चिमकै केन्द्रविन्दु मानिने कैलालीको अत्तरिया बजारमा पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तिको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको छ । तर अब भने एशियाली विकास बैंक (एडिबी)को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दुई वर्षअघि १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको करिब ९० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ । सम्झौता अनुसार अझै निर्माण अवधि पाँच महिना बाँकी रहेकाले समयमै काम सम्पन्न गरिने निर्माण कम्पनी चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्सले बताएको छ ।
निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैलासँगै दिसाजन्य लेदोको छुट्टाछुटै व्यवस्थापन हुने बताउनुभयो । उहाँले ठोस फोहोरलाई कुहिने, रिसाइकल हुने र कामै नलाग्ने फोहोरमा विभाजन गरेर व्यवस्थापन गरिने भन्दै दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि पाँच घनमिटर र आठ घनमिटरका छुट्टै सेड निर्माण गरिएको बताउनुभयो ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घनमिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ । ठोस र दिसाजन्य फोहोर ट्याङ्करमा लोड गरेर केन्द्रसम्म पुर्याइने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि तीन वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्नेगरी सम्झौता गरिएको छ ।
पाँच हेक्टर क्षेत्रफलमा फैलिएको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यो कार्यक्रम सुदूरपश्चिमका चार पालिकाका लागि आए पनि अन्य पालिकाले यसलाई कार्यान्वयन गर्न सकेका छैनन् । जग्गा उपलब्ध गराउन नसक्दा कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको भीमदत्त र लालझाडी नगरपालिकाले काम सुरु गर्न नसकेको हो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रराज भट्टले फोहोरमैला व्यवस्थापनका लागि यति ठूलो परियोजना कार्यान्वय ल्याउन निकै मिहेनत गर्नुपरेको बताउँदै यसबाट अब कम्पोष्ट मल उत्पादन गरी गोदावरीमा फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताउनुभयो ।
नगर प्रमुख भट्टले फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ठुलो क्षेत्र आवश्यक पर्ने भएकाले जग्गाको व्यवस्थापन गर्न निकै चुनौती भए पनि आफूहरु त्यसमा सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एडिबिको पहिलो सर्त वनको जग्गा क्लियर गरेर दिनुपर्ने थियो । हामीले शनिबारको दिन पनि काम गरेर रुख कटाउने आदेश पाएर यो काम गर्न सफल भएका हौ ।’’
गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको चौकीडाँडा सामुदायिक वन क्षेत्रमा निर्माणा भइरहेको फोहोरमैला व्यस्थापन केन्द्र निर्माणका लागि सो क्षेत्रमा एक हजार बढी रुख काटिएका थिए। यो खबर गोरखापत्रमा प्रकाशन गरिएको छ।
परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्ने गरी डिजाईन गरिएको बताइएको छ । यसको निर्माणका लागि ७५ प्रतिशत एडिबीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग रहेको छ ।