फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा ९८ लाख अमेरिकी डलर सहयोग

  वास खबर सम्बादाता  448 पटक हेरिएको

काठमाडौ : फोहोरमैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न दक्षिण कोरियाले नेपाललाई ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ। अनुदान उपलब्ध गराउने सम्बन्धी अर्थ मन्त्रालय र कोरिया सरकारबीच समझदारी भएको छ।

समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्कले हस्ताक्षर गर्नुभएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत प्राप्त हुने सो रकम पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिनेछ।

उक्त कार्यक्रम सयुंक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत सञ्चालन हुने समझदारीपत्रमा उल्लेख छ। परियोजनाको संयोजन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालका अनुसार पोखरा महानगरपालिकासँगको सहकार्यमा फोहोरमैला व्यवस्थापनको माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ।  परियोजनाको लक्ष्य नगरपालिकाको क्षमता अभिवृद्धि, सूक्ष्म, साना तथा मझौला उद्यम प्रवर्द्वन गरी दिगो विकास लक्ष्य हासिल गर्नु रहेको मन्त्रालयले जनाएको छ।

महानगर क्षेत्रभित्रका घरहरुबाट निस्कने अव्यवस्थित उक्त रकम फोहोरको पुनः प्रयोग तथा फोहोरमा आधारित उद्योगहरुलाई आर्थिक र प्राविधिक सहयोग गर्नुका साथै बजारसँगको पहुँच वृद्धिका लागि खर्च गरिनेछ।

समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थसचिव मरासिनीले कोरियाले नेपालको आर्थिक विकासमा गर्दै आएको सहयोगका लागि धन्यवाद ब्यक्त गर्नुभयो।

राजदूत पार्कले हरित रोजगारी परियोजना मार्फत बेरोजगारीहरुले रोजगारीको अवसर प्राप्त गर्ने तथा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको स्मरण गर्दै नेपाल आफूहरुको प्राथमिकतामा रहेको राजदूत पार्कले बताउनुभयो। उहाँले नेपाललाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समे ब्यक्त गर्नुभयो।

नेपालका लागि कोइकाका आवासीय निर्देशक कङ मुहेओनले यस परियोजनाले सर्वसाधारणमा फोहोरको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे ज्ञान समेत प्राप्त हुने बताउनुभयो।

पछिल्ला समय फोहोर व्यबस्थापनको क्षेत्रमा विभिन्न प्रबिधी भित्रिएको छ। प्रविधिको माध्यमबाट फोहोरलाई मोहोरमा रुपान्तरण गर्दै आएको छ। फोहोर प्रशोधनको शीलशीलामा धेरैले रोजगारी समेत पाएका छन।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार