काठमाडौ : सरकारले निर्धारण गरेको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार खानेपानी सेवा प्रदायक संस्थाहरुले २८ वटा पारामितीहरु परिक्षण गर्नुपर्छ । तपाईलाई यी सबै पारामितिहरु सधैं परिक्षण गर्नुपर्छ कि भन्ने पनि लाग्न सक्छ ।
तर त्यसो होइन, खानेपानी गुणस्तर मापदण्ड अनुसार अबको पाँच बर्षभित्र सबै प्रणालीमा १९ वटा पारामितिहरु सबै सेवा प्रदायकले अनिवार्य एक पटक परिक्षण गरी आधार तथ्याङ्क तयार गर्नुपर्नेछ । ती १९ वटा पारामितीहरु मध्ये पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने पारामितीको भने निश्चित समय अवधिमा परिक्षण गराईरहनु पर्छ भने प्रणालीको सञ्चालन प्रक्रियाहरुको प्रभावकारिता वा पानीको सामाजिक स्वीकार्यता सँग सम्बन्धित पारामितीहरु भने एक पटक परिक्षण गरेपछि लामो समयसम्म परिक्षण नगर्दा पनि हुन्छ ।
आर्सेनिक, फ्लोराईड, नाईट्रट, क्लोरिन अवशेष, इकोली जस्ता पारामितिहरु मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरसँग प्रत्यक्ष सम्बन्धित हुन् । खानेपानीको परिक्षण किन गरिनुपर्छ ? खानेपानीको परिक्षण कति कति समयको अन्तरालमा गर्दा राम्रो हुन्छ ? के सबै पारामितिहरुको परिक्षण निश्चित समयको अन्तरालमा गराईरहनु पर्छ ? यिनै प्रश्नहरुको जवाफ दिदै हुनुहुन्छ, खानेपानी तथा ढल व्यवस्थापन विभागको केन्द्रीय पानी प्रयोगशालाकी केमिस्ट अनुराधा ज्ञवाली :
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले जम्मा ९ वटा पारामितिहरु भने जोखिम तथा सान्दर्भिकताको आधारमा प्राकृतिक प्रक्रिया, औद्योगिक क्रियाकलाप, मानव वस्तीबाट उत्सर्जित हुन सक्ने हानिकारक धातु तथा ढलजन्य यौगिक, कृषिजन्य क्रियाकलापका कारण पानीमा उत्पन्न हुन सक्ने भौतिक, जैविक तथा रासायनिक प्रदुषणलाई समेत मध्यनजर राखी परिक्षण गर्नुपर्ने उल्लेख छ ।
यस गुणस्तरमा समावेश नभएका तर प्रणाली विशेषमा आकर्षित हुने स्वास्थ्यको दृष्टिकोणबाट हानिकारक पारामिति जस्तै कृषिजन्य बिषादीबाट निस्कने यौगिक समूह र तिनको अवशेषजन्य प्रदुषक आदिको हकमा सघनन् सीमा विश्व स्वास्थ्य संगठनको खानेपानी गुणस्तर निर्देशिका २०१७ बमोजिम हुनुपर्ने राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेख छ ।