चितवन : शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो। यो अवधिमा उहाँले खानेपानी बोक्नका लागि नै दैनिक दुई घण्टा भन्दा बढी समय छुट्ट्याउनु पर्दथ्यो। तर, हिजोआज भने दैलोमा खानेपानी आएपछि उहाँमा खुसीको सीमा छैन।
‘स्याङ्दीबाट विवाह भएर यहाँ आएको ३५ वर्ष भइसक्यो। सोमभरी खोलामा पुगेर पानी ल्याउँदा आधा घण्टा लाग्थ्यो’, विगतका दिन सम्झँदै गुरुङले भन्नुभयो ‘दिनमा तीन चार खेप बोक्नुपर्दा केही नभए पनि दुई तीन घण्टा त पानी ओसार्नमै समय बित्थ्यो।’ उहाँले बस्तुभाउलाई पानी बोकेर नै दिने गर्नु भएको थियो। बर्खामा बाढी आउँदा खानेपानी समेत खान नपाएको अनुभव उहाँसँग प्रशस्त छन्। ‘कुवाको खानेपानी लिन जान खोला तरेर जानु पर्दग्थ्यो। बाढी आउँदा तर्न सकिँदैन। बलेनीको पानी थापेर खानुपर्दथ्यो, उहाँले भन्नुभयो उकालोमा पानी बोक्न साह्रै कठिन हुन्थ्यो।’
यो समस्या सिमलढापकी ६९ वर्षिया मोतिमाया मगरको पनि थियो। पानीको खोजीमा २ घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै उहाँमा खुबी छाएको छ। जीवनको उत्तरार्द्ध सम्म समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएकोमा उहाँ निकै खुसी हुनुहुन्छ। ‘राति नै उठेर मकै पिस्न पर्दथ्यो। अनि पानी भर्न आधा घण्टा लगाएर जानु पर्दथ्यो। त्यसपछि घाँस काट्न जानु पर्दथ्यो। अचेल त रानी जस्तो भएका छौँ क्यारे। घर घरमा धारा आएको छ,’ उहाँले भन्नुभयो।
खानेपानीको सधैँ हाहाकार, मध्य वर्षातमा पनि अभाव हुन्थ्यो। सिङ्गो गाउँ नै एउटै मुहानमा जाँदा खानेपानी भर्नेको लाइन उस्तै हुन्थ्यो। एक ग्रागी पानीको लागि रातभर नसुतीकन बस्नुपर्ने अवस्था स्थानीय महिलाका लागि कम कष्टकर थिएन। ‘यहाँका स्थानीय महिलाहरूले बषौँदेखि आधा घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे। अहिले एक घर, एक धारा निर्माण भएपछि समस्याबाट मुक्ति पाइएको छ,’ खेतबारीकी चिज गुरुङले भन्नुभयो, अहिले घरमै पानी भएपछि शौचालय, बस्तुभाउ र करेसाबारीलाई समेत राम्रो भएको छ।’ बचत भएका समय खेतीपातीमा लगाउने उहाँले बताउनुभयो।
पानी नहुँदा मान्छे, बस्तुभाउ पाल्ने लगायतका दैनिक कामहरूमा असहजता उत्पन्न भएको सोही ठाउँकी सुमित्रा चेपाङले बताउनुभयो। इच्छाकामना गाउँपालिकाले वाइन टु वाटरको सहयोगमा करिब चार किलोमिटर टाढाबाट पानी पुर्याएपछि खेतबारी र सिमलढापका ७१ घरधुरी लाभान्वित भएका छन्। वाइन टु वाटर नेपालको ६५ प्रतिशत, गाउँपालिकाको २५ र उपभोक्ताको १० प्रतिशतको लागतमा धारा जडान गरिएको हो। यस परियोजना सम्पन्न गर्न ७१ लाख रुपैयाँ लागेको वाइन टु वाटर नेपालका निर्देशक रोशनी कार्कीले जानकारी दिनुभयो। यस परियोजना मार्फत इच्छाकामनामा १७ वटा कार्यक्रम सञ्चालित छन्। त्यसमध्ये १५ वटा परियोजना सम्पन्न भएको उहाँले बताउनुभयो।
पालिकाले एक घर एक धारा सहित घरघरमा धारा जोड्ने अभियान सञ्चालन गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो। ‘हाम्रो नीतिमै एक घर एक धारा जोड्ने छ। हामीले ७५ प्रतिशत घरधुरीमा धारा जडान गरिसकेका छौँ, अध्यक्ष गुरुङले भने‘ एक दुई बर्षभित्र सबै घरघरमा धारा जडान गरिसक्छौँ।’ इच्छाकामना गाउँपालिकामा छ हजार पाँच सय घरधुरी छन्। खानेपानी योजना सम्पन्न भएपछि डोकोमा पानी बोक्ने दिनको अन्त्य भएको बताउनुभयो।
चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रम अन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताउनुभयो। यो खबर नागरिक दैनिकले प्रकाशन गरेको छ। यहाँ रहेका २० घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ। गाउँपालिकाका प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले आफ्नो नीति अनुसार गाउँपालिकाले खानेपानीमा काम गरिरहेको बताउनुभयो। गाउँपालिकाका सबै वडामा खानेपानीको परियोजनाका काम तीव्र रुपमा सञ्चालन भइरहेको उहाँको भनाइ छ।