खानेपानी विभाग र सुस्वाको टोलीद्वारा कर्णालीका आयोजनाहरुको संयुक्त अनुगमन

  वास खबर सम्वाददाता  287 पटक हेरिएको


जुम्ला : खानेपानी तथा ढल व्यवस्थापन विभाग र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को संयुक्त टोलीद्वारा कर्णाली प्रदेशको विभिन्न जिल्लामा सुस्वाले निर्माण गरेका खानेपानी योजनाहरुको अनुगमन गरिएको छ ।

संयुक्त अनुगमन टोलीले पहिलो दिन मुगुमा सञ्चालित जलवायु उत्थानशीलता, मूलाधार क्षेत्र व्यवस्थापन तथा वायो इन्जिनियरिङ सम्बन्धी तालिमको अवलोकन गर्नुका साथै सहभागी तथा प्रशिक्षक सँग अन्तरक्रिया गरिएको सुस्वाको डेपुटी टिम लिडर एवं अनुगमन तथा मूल्यङ्कन विज्ञ विमल शर्माले जानकारी दिनुभयो ।

‘स्रोत संरक्षण कसरी गर्ने ? पानीको स्रोत कसरी बढाउन सकिन्छ ? यसमा जलाधार क्षेत्रको संरक्षण र सुधार कसरी गर्ने र पानीको पुनर्र्भरण कसरी गर्न सकिन्छ जस्ता बिषयमा तालिम केन्द्रित थियो’ उहाँले भन्नुभयो ।


यस्तै आयोजनाका वास सल्लाहकार तथा पालिकाका वास संयोजकहरुसँग आयोजना सन्चालन गर्दा आईपरेका कठिनाई तथा समस्याहरुका बारेमा पनि छलफल गरिएको उहाँले जानकारी गराउनुभयो।

संयुक्त अनुगमन टोलीले जुम्लाको हिमा गाउँपालिकामा निर्माण सम्पन्न भएको बाजागाडा खानेपानी आयोजनाको अवलोकन एवं उपभोक्ताहरुसँग अन्तरक्रिया गरेको छ। खानेपानी उपभोक्ताहरुसँग अन्तरक्रिया गर्ने क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राम कुमार श्रेष्ठले सोध्नुभएको थियो ‘तपाईहरु यस अघि पानी लिन कहाँ जानुहुन्थ्यो?’ उपभोक्ताहरुले आयोजना सम्पन्न हुनु अघि २ घण्टा लगाएर खोलाको पानी खाने गरेको र दैलोमै खानेपानीको धारा बनेपछि दुःख हटेको बताएका थिए ।


सुस्वाले सरकारको ‘एक घर एक धारा’ नीति अनुसार हरेक घरमा खानेपानीको धारा निर्माण गर्दै आएको छ।

यस्तै संयुक्त अनुगमन टोलीले हिमा गाउँपालिकाको वडा नं. २ स्थित हिमा आधारभूत विद्यालयमा निर्माण गरिएको लैङ्गिक समावेशी शौचालयको अवलोकन तथा शिक्षक, विद्यार्थीसँग अन्तरक्रिया गरेको छ ।


अवलोकनको क्रममा अनुगमन टोलीले हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीसँग पालिकामा सुस्वाले गरेको कार्यक्रमहरुका बारेमा अन्तरक्रिया गरिएको सुस्वाका डेपुटी टिम लिडर शर्माले बताउनुभयो । सुस्वाले हिमा गाउँपालिकामा आर्थिक बर्ष ०७९/८० मा तीन वटा खानेपानी तथा तीन वटा विद्यालयमा समावेशी शौचालय निर्माण र आर्थिक बर्ष २०८०/८१ मा ६ वटा खानेपानी आयोजना निर्माण गर्न सघाउ पु¥याएको अध्यक्ष शाहीले जानकारी गराउनुभयो ।


उहाँले खानेपानी योजना सञ्चालन गरेर हिमाको जनताको खानेपानीको समस्या हल गर्न सहयोग गरेकोमा सुस्वालाई धन्यबाद व्यक्त गर्नुभयो । ‘योजना पारदर्शी छ, समावेशी पनि छ, वास युनिटको परिकल्पना गरेर खानेपानी तथा सरसफाइ कार्यक्रमहरु सञ्चालन गरिएको छ, कामहरु सबै उपभोक्ता मार्फत हुन्छन् । सुस्वाको कार्य पद्धति एकदम प्रशंसायोग्य छ’ अध्यक्ष शाहीले भन्नुभयो।

संयुक्त अनुगमन टोलीमा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राम कुमार श्रेष्ठ, सुस्वा फोकल पर्सन एवं विभागको गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्ण प्रसाद रिमाल, संघीय खानेपानी तथा ढल व्यवस्थापन अयाोजना सुर्खेतका प्रमुख तथा सुस्वाको आयोजना समन्वय इकाइ प्रमुख मनिष कुमार राज, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख दिपेन्द्र भट्ट र सुस्वाको डिपुटी टिम लिडर एवं अनुगमन तथा मूल्यङ्कन विज्ञ विमल शर्मा लगायत हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार