तानसेन : पाल्पाको तानसेन नगरपालिका –५ छापथोकको घर–घरमा खानेपानी पुगेको छ । तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा सिस्नेमुलको पानीलाई घर–घरमा पुर्याईएको हो ।
खानेपानीको हालै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले धारा खोलेर उद्घाटन गर्नुभयो। खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले घर–घरमा पानी झर्न थालेपछि छापथोकका नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। घर–घरमा खानेपानी ल्याउने लक्ष्य पहिलेदेखि नै राखिएको भए पनि एक दुई जना व्यक्तिको अवरोधले रोकिदै आएको र हाल आएर सफल भएको उहाँले बताउनुभयो।
तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले छापथोकबासीले जस्तै सेतिपोखरी, धरमपानी र शिवपोखरीका स्थानीयको समेत तिर्खा मेटाउने बताउनुभयो। उहाँले आगामी दिनमा खानेपानीको महसुल समायोजन गरिने समेत बताउनुभयो।
स्वच्छ खानेपानीको अभावमा काकाकुल जस्तै बनेका यहाँका स्थानीयले अहिले घरमा पानी पुगेपछि राहतको महशुस गरेका छन् । हरेक निर्वाचनमा कालिगण्डकीको पानी घर–घरमा वितरण गर्ने आश्वासन हरेक राजनीतिक दलका उम्मेदवारले दिने गरे पनि त्यो अहिलेसम्म हुन सकेको थिएन । तानसेन नगरपालिकामा सन्तोषलाल श्रेष्ठको नेतृत्वमा आएको जनप्रतिनिधि र मोहन प्रसाद श्रेष्ठको नेतृत्वमा खानेपानी उपभोक्ता समितिको टिमले उक्त सपना विपनामा परिणत गराएका हुन् ।
तानसेनको छापथोक सहित माथिल्लो धरमपानी, सेतिपोखरी र शिवपोखरीका स्थानीयले एक हप्ता बढी श्रमदान समेत गरेका थिए । पानी आएसँगै यहाँका ४० घरधुरीलाई निकै सजिलो भएको स्थानीय विष्णु बहादुर बोहोराले बताउनुभयो। खानेपानी उदघाटन कार्यक्रममा कार्यक्रममा उपप्रमुख प्रतिक्षा सिंजाली, कार्यबाहक वडा अध्यक्ष मान बहादुर कार्की, खानेपानी डिभिजन कार्यालयका प्रमुख आविद हुषेन,समाजसेवी शलिकराम रावल, दिनेश रावल, तुल बहादुर रावल लगायत उपस्थित हुनुहुन्थ्यो।