पर्वत : पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ्गमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिना अगावै सम्पन्न भएको छ । ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिंँचाइ योजनामा पानी सञ्चालन गरिएको सिंँचाइ नहर उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिनुभयो। सम्झौता अवधिमा २०८१ चैतमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको थियो ।
सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनाभित्रमा निर्माण सम्पन्न गर्न सनफोर्स सोलार एण्ड कन्स्ट्रक्सन बालाजु काठमाडौंसँग २०८० भदौं १५ गते ९२ लाख ७७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रुपमा सुपरिवेक्षण भएकाले काम थालेको आठ महिनामै पानी सञ्चालन गर्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरी कृषकको करिब एक हजार रोपानी खेतबारी बाह्रै महिना सिँंचाइ सुविधा पुगेको पौडेलले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्का मार्फत कार्यान्वयन गरेको हो ।
भेडावारीदेखि एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरानजिक रहेको लुङ्दीखोलाबाट २२५ एमएमको एचडीपी पाइपलाइन मार्फत पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताउनुभयो।
उहाँका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ । योजनामा कुलोको मुहानदेखि भेडावारीसम्म १८ सय मिटर दूरीको पाइपलाइन जडान गरिएको उनले जानकारी दिनुभयो।
कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइपलाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो । योजनामा पानी सञ्चालनमा आए पनि केही काम बाँकी रहेको र बजेट अभावमा निर्माण व्यवसायीलाई करिब ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
विगत पाँच वर्षअघि मिलनचोक–सल्यना–घायखेत–धारापानी–ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्याएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर पुनर्निर्माण गरेको हो । सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले आकासे पानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइ अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो ।
सिँचाइ योजना बनेपछि किसान उत्साहित
सिँचाइ योजना सम्पन्न भएसँगै भेडावारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिनमा समेत खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो । वैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसाले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको आचार्यले बताउनुभयो । वैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उहाँको भनाइ छ ।
बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा ताजा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको आचार्यले बताउनुभयो ।धाईरिङ्गको सल्यान फाँटबाट वर्षेनी दुई करोडभन्दा बढीको तरकारी बिक्री हुने गरेको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।
सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राखेका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गरेको बताउनुभयो। योजना सम्पन्न भएपछि स्थानीय कृषकलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।