पोखरा : पोखरा महानगरपालिकाको वडा नं. ३२ खुदीखोलामा डकर्मीहरुका लागि सेप्टिक ट्याङ्की निर्माण सम्बन्धी अभिमुखीकरण गरिएको छ । सेप्टिक ट्याङ्कीको बिषयमा डकर्मीहरुको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने र सफा वातावरणको लागि सेप्टिक ट्याङ्कीको उचित निर्माण र सही तरिकाले कार्य गरे नगरेको एकिन गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की सिनियर वास एण्ड जेसी अफिसर सृजना कार्कीले बताउनुभयो।
अभिमुखीकरण कार्यक्रमको सुरुमा दुर्गा आमा समूहकी अध्यक्ष लक्ष्मी तामाङले आराधना टोलमा निर्माण भएका शौचालयको सेप्टिक ट्याङ्क अव्यवस्थित भएकाले व्यबस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सेप्टिक ट्याङ्क भनेर निर्माण गरिएको भए पनि त्यसको गारोमा प्लाष्टर नगरिएको र भुँई पनि खुल्ला रहेकाले यसको व्यवस्थापन गर्न आवश्यक महसुस भैरहेका बेला आयोजना गरिएको अभिमुखीकरण एकदम उपयोगी भएको बताउनुभयो।
‘बायोग्यास प्लाण्टमा जडान गरिएका शौचालयहरुको सेप्टिक ट्याङ्क सिल भए पनि त्यसबाट निस्किने फोहोरपानीको व्यवस्थापन भएको छैन’ उहाँले भन्नुभयो।
अभिमुखीकरण कार्यक्रममा एन्फोका प्रोग्राम म्यानेजर केशव श्रेष्ठले नेपालमा सरसफाइ र सेप्टिक ट्याङ्कीको अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले ललितपुरको महालक्ष्मी नगरपालिकामा गरिएको अध्ययन बारे जानकारी गराउँदै सेप्टिक ट्याङ्क भनेर बनाएका संरचनाहरु सेप्टिक ट्याङ्की नभएको र कतिपय आवश्यकता भन्दा ठूलो भएको पाईएको बताउनुभयो। चाहिएको आकार भन्दा ठूलो बनाउँदा आर्थिक रुपमा बढी खर्चिलो भएको उहाँको भनाइ थियो।
उहाँले सरकारी प्रावधानबारे बुझ्न, सेप्टिक ट्याङ्कीबारे गलत बुझाइलाई चिर्न, विद्यमान भण्डारण ट्याङ्कीको साइजबारे थाहा पाउन र अनावश्यक आर्थिक भार कटौती गर्न र भूमिगत पानीको प्रदुषण रोक्नका लागि पनि सेप्टिक ट्याङ्कीबारे चर्चा गर्नुपरेको बताउनुभयो।
एन्फोका इन्जिनियर देबेन्द्र श्रेष्ठले स्तरीय सेप्टिक ट्याङ्कीबारे जानकारी गराउँदै सेप्टिक ट्याङ्की नचुहिने र नरसाउने खालको हुनुपर्ने जानकारी गराउनुभयो । उहाँले सेप्टिक ट्याङ्क फोहोरपानी भण्डारण र प्रशोधन गर्ने संरचना भएकाले यसले राम्रो सँग काम गर्न स्तरीय खालको बनाउनुपर्ने बताउनुभयो।
‘सेप्टिक ट्याङ्क रसाउने, चुहिने खालको बनाउँदा जमिन मुनिको पानी प्रदुषण हुन्छ, फलस्वरुप हामी पानीजन्य रोगहरुको शिकार हुन्छौं’ उहाँले भन्नुभयो।
सेप्टिक ट्याङ्क दुई खण्डको निर्माण गर्नुपर्ने र सेप्टिक ट्याङ्कबाट निस्किने फोहोरपानीलाई सोकपिट मार्फत जमिनमुनि पठाउनुपर्ने बताउनुभयो। ‘सोकपिट पानीलाई सुरक्षित विधिबाट जमिनमुनि पठाउनका लागि बनाई एउटा सरल प्रविधि हो।’ उहाँले भन्नुभयो ‘सोकपिट बेग्लै संरचना भएपनि यसलाई सेप्टिक ट्याङ्कीकै अभिन्न अंगको रुपमा लिइन्छ ।’