कर्णालीका महिलाहरु निर्णय प्रक्रियामा अग्रसर हुँदै

  वास खबर सम्बादाता  321 पटक हेरिएको

जुम्ला : निर्णय प्रक्रियामा महिला सहभागिता बढ्दै गएको तथ्य हालैै जुम्लाको हिमा गाउँपालिकाको एक कार्यक्रमका महिला सहभागिताले प्रमाणित गरेको छ । कर्णाली प्रदेशका स्थानीय तहहरुमा हुने कार्यक्रममा महिलाहरुले अर्थपूर्ण सहभागिता जनाउन थालेका छन् ।

घर व्यवहार जस्तै चुलो चौको, मेलापातमै सीमित हुने यस पालिकाका महिला चेतनाको बृद्धिसँगै विकास निर्माणदेखि राजनीतिक तथा सामाजिक नेतृत्व लिन अग्रसर हुन थालेका हुन् ।

हाम्रो समाजमा महिला नेतृत्व सहजै स्वीकार नगर्ने परम्पराबादी सोचलाई बिस्तारै परिबर्तन सङ्गै अहिले महिलाहरु आफ्नो अधिकार खोजी गर्न सक्ने भएको हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाहीले बताउनुभयो।

‘गाउँपालिकामा सुस्वा परियोजनाले खानेपानी विकास र सरसफाईमा मात्रै लगानी गरेको छैन् । पालिकाका महिला जनप्रतिनिधिदेखि कर्मचारीलाई शसक्त बनाउन बिभिन्न क्षमता अभिबृद्धिका कार्यक्रम गर्ने गरेको छ । जसले गर्दा स्थानीय महिलाहरु आफ्ना पीडा बेदनाका कुरा खुलेर राख्न सक्ने भएका छन्’ उपाध्यक्ष शाहीले भन्नुभयो।

अधिकांश महिला जनप्रतिनिधिहरु पालिकाको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता नहुने बिगतको परम्परागत मान्यतालाई तोडदै हालका दिनहरूमा निर्णयमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको भुमिका धेरै अर्थपूर्ण र समाबेसी रहेको पाइएको छ । महिलाहरुसँग विचार नभएर बोल्न नआएर होईन, बोली हालेमा केही विग्रिन्छ कि, बोलेपनि कार्यान्वयन हुदैन कि भन्ने भावनामा परिवर्तन भएको देख्न सकिन्छ ।

गाउँमा विभिन्न विकास आयोजनाहरुमा महिला सहभागिताको ईच्छा चाहना हुँदा हुँदै पनि नेतृत्वमा महिलालाई नराख्ने परिपाटी त्यहाँको पुरुष प्रधान समाजमा कायमै रहेका कारण स्थानीय महिलाहरु हरेक क्षेत्रको नेतृत्वमा पछि परेका छन् ।

महिलाहरुका यी विविध समस्यालाई मध्यनजर गर्दै हिमा गाउँपालिका जुम्ला र सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) परियोजना मार्फत निर्वाचित महिला जनप्रतिनिधि र पालिकामा कार्यरत महिला कर्मचारीहरुलाई नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको वास संयोजक सुमित्रा शाहीले बताउनुभयो।

‘सुस्वा आयोजनाले पालिकाको खानेपानी सरसफाइको विकाससँगै महिला शसक्तिकरण, नेतृत्व विकास,आनीवानी सुधारमा विभिन्न खाले क्रियाकलापहरुलाई अगाडि बढाइ काम गरिरहेको छ। जसले महिलाको क्षमता अभिवृद्धि हुने र नेतृत्वमा अग्रसर हुने अपेक्षा राखिएको छ’ शाहीले भन्नुभयो।

स्थानीय महिला जनप्रतिनिधि लगायत कर्मचारीहरुको नेतृत्व विकास सम्बन्धी गोष्ठीको सहजीकरण सुस्वा आयोजना सहयोगी इकाई सुर्खेतका सुशासन बिज्ञ निराजन श्रेष्ठले गर्नुभएको थियो। सुस्वा आयोजनाले हिमा गाउँपालिकामा आर्थिक बर्ष ०७९/८० देखि खानेपानी, सरसफाइ र महिनावारी स्वच्छतामा उल्लेखनीय काम गरिरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार