सबै संरचना ध्वस्त हुँदा पनि नढलेको शौचालय र स्वच्छता संरचना

  वास खबर सम्वाददाता  307 पटक हेरिएको

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका स्थित बाहुनथाना स्वास्थ्य चौकीको सबै वार्डहरु अहिले त्रिपालमा खुम्चिएको छ। करिब १६० जनाको ज्यान लिएको जाजरकोट भूकम्पले स्वास्थ्य चौकीको भवनबाट सेवा दिनै नमिल्ने गरी चर्किएपछि त्रिपालमा सारिएको हो।

स्वास्थ्य सेवा दिनै नमिल्ने गरी स्वास्थ्य चौकीको भवन चर्किएपछि विश्व स्वास्थ्य संगठन (WHO) ले उपलब्ध गराएको त्रिपालबाट सेवा दिईरहेको स्वास्थ्य चौकीकी अनमि यौमा वलीले बताउनुभयो।


स्वास्थ्य चौकीको भवन कामै नदिने गरी चर्किए पनि स्वास्थ्य चौकीको पछाडि पट्टि रहेको शौचालयमा भने कुनै क्षति पुगेन । शौचालयमा दुईवटा कोठा छन् । महिला र पुरुषका लागि बनाएको शौचालयको दुवै कोठा अपाङ्गता भएका व्यक्तिको लागि समेत पहुँचयोग्य छ।


भेरी नगरपालिका र युएसएआईडी/स्वच्छता परियोजनाद्वारा स्तरोन्नति गरिएको शौचालयमा कत्ति पनि क्षति नपुगेको चौकीका अहेब नवराज आर.सी.ले बताउनुभयो। भवन भत्किए पनि शौचालयमा कुनै पनि क्षति नपुगेपछि सेवा दिन केही हदसम्म सजिलो भएको उहाँले बताउनुभयो। ‘शौचालय नै भत्किएको भए अस्थायी शौचालय बनाउनुपर्थ्यो, अस्थायी शौचालयको समस्या त मैले भनिरहनु परेन’ उहाँले भन्नुभयो।


स्वच्छता परियोजनाले शौचालयको स्तरोन्नति गर्नुका साथै खानेपानीको प्रबन्ध समेत मिलाएको छ। शौचालयको छतमा एक/एक हजारका दुईवटा प्लाष्टिक ट्याङ्कमा खानेपानी संकलन गरी खानेपानीको आपूर्ति गर्दै आएको छ। खानेपानीको मुहान थोरै धास्सिएको बाहेक आपूर्ति प्रणालीमा कुनै क्षति नभएको उहाँले बताउनुभयो।


परियोजना मार्फत बाहुनथाना स्वास्थ्य चौकीमा सुत्केरीको सालनाल व्यवस्थापनका लागि प्लासेन्टा पिट र सिसी, सिरिन्ज लगायत व्यवस्थापनका लागि व्युरेल पिट समेत निर्माण गरेको थियो । ती कुनै पनि संरचनामा क्षति नभएको कार्यालय सहयोग जगत खड्काले बताउनुभयो।


गुणस्तरीय निर्माण सामग्रीको प्रयोग र मापदण्ड पूरा गरेर बनाएकाले भूकम्पले अन्य संरचनामा क्षति पु¥याउँदा पनि स्वच्छताले निर्माण गरेका संरचनाहरुमा कुनै क्षति नपुगेको अहेव नवराज आर.सी.ले बताउनुभयो।

केन्द्र बिन्दुमा पनि दुरुस्तै संरचना

बाहुनथाना स्वास्थ्य चौकीमा मात्र होइन, भूकम्पको केन्द्रबिन्दु रामीडाँडामा समेत स्वच्छता परियोजनाद्वारा निर्मित कुनै पनि संरचनामा क्षति नपुगेको रामीडाँडा स्वास्थ्य चौकीका प्रमुख बिष्णु ज्योतिले बताउनुभयो।


स्वच्छता परियोजनाको गुणस्तरीय कामका कारण भूकम्पले समेत कुनै क्षति नपुगेको उहाँको ठम्याई छ । ‘अपाङ्गतामैत्री शौचालय, खानेपानीको व्यवस्थापन र सेवा दिने वार्डहरुमा धारा तथा हात धुने वेसिन निर्माण भएको थियो, ती कुनै पनि संरचनामा क्षति नपुगेको देख्दा साँच्चिकै भूकम्प प्रतिरोधी संरचना निर्माण भएको रहेछ भन्ने लाग्यो’ उहाँले भन्नुभयो।

उहाँका अनुसार निर्माणको समयमा परियोजना मार्फत एक जना प्राविधिक चार महिनासम्म खटाएको थियो। ‘निर्माण पक्षले खरिद गर्दा निर्माण सामग्रीको गुणस्तरमा समस्या हुने भएर होला ? निर्माण सामग्री परियोजनाले नै खरिद गरी यहाँसम्म ढुवानी गरेर ल्याईदिएको थियो’ उहाँले भन्नुभयो।

रामीडाँडा स्वास्थ्य चौकीमा १५० मिटर पाइप लाइन कार्य, पानी शुद्धिकरण युनिट, महिला तथा अपाङ्गतामैत्री शौचालय तथा हरेक वार्डमा हातधुने वेसिन निर्माण एवं प्लम्बिङ कार्य गरेको थियो।

यसका लागि स्वच्छता परियोजनाको तर्फबाट बाह्य सामग्री खरिद तथा ढुवानी, दक्ष तथा अदक्ष कामदार ज्याला, सुपरभाइजर तलब तथा घरभाडा लगायत गरी १० लाख ७१ हजार ४ सय १६ रुपैयाँ र भेरी नगरपालिकाको तर्फबाट खानेपानी आपूर्ति तथा सरसफाइ योजनाको मर्मत सम्भार कोष र निर्माण कार्यमा सहभागिता बापत २ लाख ३१ हजार २ सय ७३ रुपैयाँ गरी कुल १३ लाख २ हजार ६ सय ८९ रुपैयाँ लगानी गरेको थियो।


युएसएआईडी/स्वच्छता परियोजनाले जाजरकोट जिल्लाको ७ पालिकाका ३४ वटा स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। ती मध्ये २९ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता (वास) का पूर्वाधारहरु निर्माण गरेको छ भने १५ वटा स्वास्थ्य संस्थामा सोलार प्रणाली जडान गरेको छ। यस्तै ३४ वटै स्वास्थ्य संस्थामा संक्रमण रोकथाम र सेवा प्रदायकको व्यवहार परिवर्तन र २९ वटा स्वास्थ्य संस्थामा व्यवहार परिवर्तन सञ्चार शिक्षा सञ्चालन गरिएको छ।।


सन् २०१६ देखि कर्णाली प्रदेशको डोल्पा, जाजरकोट, सल्यान, रुकुम पश्चिम, दैलेख र सुर्खेत तथा लुम्बिनी प्रदेशको रुकुम पूर्व गरी ७ वटा जिल्लाका २४८ वटा स्वास्थ्य संस्थामा सञ्चालित स्वच्छता परियोजना आगामी अगष्ट महिनादेखि समापन हुँदैछ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार