सिन्धुली : १६ देखि २० वर्षका युवाको अगुवाइमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा रहेका विद्यालय तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधामा सुधार भएका छन् ।
सदरमुकाममा रहेका कमला जनज्योति माध्यमिक विद्यालय सिलामेमा सेनिटरी प्याड विसर्जनका लागि सुरक्षित स्थल नभएकोमा युवाहरुले युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याएर सेनिटरी प्याडको सुरक्षित विसर्जन स्थल नभएको सवाल उठान गरेपश्चात् नगरपालिकाले एकसाथ २१ वटा विद्यालयका लागि प्याड जलाउने मेसिन उपलब्ध गराएको छ ।
“हामीले विभिन्न आधारमा युवाहरुको छनौट गरी क्षमता अभिवृद्धिपश्चात् युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याउन सहजीकरण गरेका छौ”, स्थानीय स्वयंसेवी युवाहरुलाई सहयोग पु¥याइरहेको संस्था मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीका कार्यक्रम प्रवन्धक रोहित ढकाल भन्नुहुन्छ, “युवाहरुले पहिलो चरणमा स्थानीय स्वास्थ्य संस्था र विद्यालयहरु छनौट गरी जवाफदेहिता अभिवृद्धिका लागि सवालहरुको पहिचान गरिएको छ ।”
प्लान इन्टरनेशनल नेपालले तयार गरेको युवा नागरिक अंकपत्र ढाँचामा आधारित भएर गरिएको युवा नागरिक अंकपत्र कार्यान्वयनका क्रममा विद्यालयमा पर्याप्त शौचालय नभएको, सेनिटरी प्याड कमसल भएको, सेनिटरी प्याड विसर्जन तथा व्यवस्थापन स्थल नभएको, पर्याप्त पिउने पानीको सुविधा नभएको, विद्यालयमा दिइने दिवा खाजाको स्वच्छता नभएको लगायतका सवाल उठेको ढकालले बताउनुभयो ।
यसैगरी, विद्यालयमा विद्यार्थीको बसाइ व्यवस्थापन उपयुक्त नभएको, विद्यालयमा पंखा बिग्रिएर सञ्चालन नभएको, स्वास्थ्य संस्थामा सुरक्षित खानेपानीको दिगो व्यवस्थापन हुन नसकेको, स्वास्थ्य संस्थामा नै विरामी महिलाका लागि सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउनुपर्ने, विरामी र स्वास्थ्यकर्मीका लागि अलग अलग शौचालयको व्यवस्था हुनुपर्ने लगायतका सवाल उठान गरिएको बुधबार सिन्धुलीमा आयोजित पत्रकार संवाद कार्यक्रममा जनाइएको छ ।
युवाहरुले चरणवद्ध रुपमा विद्यालय र समुदायका सवालहरुको उठान गरेको युवा स्वयंसेवक देवराज लामाले पत्रकार संवाद कार्यक्रममा जानकारी दिनुभयो । “सुरुमा हामीले विभिन्न समूहसँग अलग अलग लक्षित समूह छलफल गरी सवालको पहिचान गरेपश्चात् परिणाम कथन र अधिकार मापन तालिका तयार गरिन्छ”, उहाँले भन्नुभयो, “फरक फरक समूहले अधिकार मापन तालिका भर्नुका साथै परिणाम कथनमा उल्लेख भए बमोजिम सेवाको उपलब्धताको आधारमा अंक प्रदान गरिन्छ ।”
सबैभन्दा कम अंक प्राप्त गर्ने अर्थात् सबैभन्दा कमजोर सवाललाई प्राथमिकतामा राख्नुका साथै बहुसरोकारवालाबीच आमने–सामने छलफल गरिन्छ, जसमा सरोकारवालाहरुले सवालको सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गरिन्छ । सोही अवसरमा मुख्य सरोकारवालाको प्रतिवद्धता समेत लिइन्छ ।
“कार्ययोजना कार्यान्वयनमा आए नआएको अनुगमनका गर्नका लागि सहजकर्ता युवाहरु समेतको सहभागितामा अनुगमन समिति गठन गरिएको हुन्छ, जसले योजनाको कार्यान्वयन भएको कुराको सुनिश्चितता गर्दछन्”, स्वयंसेवक लामाले बताउनुभयो ।
तत्कालै परिवर्तनको थालनी
सञ्चारकर्मी संवादको क्रममा युवा स्वयंसेवकहरुले जानकारी दिए अनुसार विद्यालय र अस्पतालमा उठान गरिएका सवाल सम्बोधनको कार्य थालनी भएको छ । जनता माध्यमिक विद्यालय सहित २१ विद्यालयमा नगरपालिकाले सेनिटरी प्याडको दिगो व्यवस्थापनका लागि प्याड जलाउने मेसिन उपलब्ध गराएको छ ।
“विद्यालयमा बिग्रिएका धाराका टुटी फेर्ने, शौचालयमा चुकुल राख्ने स्थान परिवर्तन गरी बालमैत्री बनाउने, स्वास्थ्य संस्थामा नागरिक वडापत्र टाँस गर्ने, विद्यालय तथा स्वास्थ्य संस्थामा शौचालय निर्माण गर्ने विषयलाई वडाको वार्षिक कार्यक्रममा समावेश गर्ने, विद्यालयमा सुधार गर्नुपर्ने भौतिक पूर्वाधारका विषयलाई विद्यालय सुधार योजनामा समावेश गर्ने कार्य भइरहेको छ।”
सहयोगी संस्था प्लान इन्टरनेशनल नेपालमा लिड एण्ड डिसाइडको वरिष्ठ प्राविधिक सल्लाहकार रक्षा पौडेलले भन्नुभयो, “युवाहरुको क्षमता विकास गर्दै उनीहरुको सहभागितामा स्थानीय सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्धेश्यले सञ्चालन गरिएको परीक्षण परियोजनामा नेपालमा सफल भएको छ ।” दोस्रो चरणमा यसलाई विस्तार गर्दै लैजाने समेत उहाँले जानकारी गराउनुभयो ।
संवाद कार्यक्रममा सञ्चारकर्मीहरुले कुनै पनि परियोजनाको थालनीदेखि नै सञ्चार क्षेत्रलाई कार्यान्वयनको साझेदारको रुपमा सँगसँगै लिएर जान सुझाव दिनुभयो । सञ्चार माध्यमलाई नियमित सूचना उपलब्ध गराउन र सूचनामा पहुँचको सुनिश्चितता गर्ने कार्य गैरसरकारी संस्थाहरुले गर्नुपर्ने सुझाव समेत सञ्चारकर्मीहरुले दिनुभयो ।
युवाले नगर उपप्रमुखलाई बुझाए सवालको सूची
६ वटै वडाका युवाहरुले नागरिक अंकपत्र कार्यान्वयनको क्रममा उजागर भएका सवाललाई संक्षेपीकरण गरी आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा समावेश गर्नका लागि बुधबार नै कमलामाई नगरपालिकामा पेश गरेका छन् ।
“स्वास्थ्य तर्फका २१ र शिक्षा तर्फका १५ गरी ३६ वटा सवालहरुको सूची पेश गर्दै युवाहरुले सबै सवाललाई सम्बोधन गर्नका लागि नगर प्रमुखलाई अनुरोध समेत गरेका छन्”, ह्याण्ड्स नेपालका युवा संलग्नता अधिकृत सदीक्षा न्यौपानेले भन्नुभयो, “नगरपालिकाले समेत यसलाई सकारात्मक रुपमा लिएको र कार्यपालिका बैठकमा छलफल गरिने नगर उपप्रमुखले बताउनुभएको छ ।”
सवाललाई सम्बोधन गर्ने नगर उपप्रमुखको प्रतिवद्धता
युवाहरुले पेश गरेको सवालहरुको सूची बुझदै नगर उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले उठान गर्नुपर्ने विषय र सवाललाई युवाहरुले पहिचान गरी ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । “हामी वार्षिक विकास कार्यक्रममा समावेश गर्ने योजना संकलन गर्नका लागि टोल तहमा त जाने गरेका थियौं, तर विद्यालय र स्वास्थ्य संस्थामा पुग्न सकेका थिएनौं”, नगर उपप्रमुख देवकोटाले भन्नुभयो, “हामीले गर्न नसकेको काम युवाले गर्नुभएको छ, हामीले गर्नैपर्ने कार्यमा सहयोग गर्नुभएको छ ।”
युवाहरुले पेश गरेको सो सूचीसहितको पत्र आज नै दर्ता गरी आगामी कार्यपालिकाको योजना तयारी बैठकमा पेश गर्नका लागि नगर उपप्रमुखले तोक लगाउँदै सबै विषय गम्भीर र अत्यावश्यक विषय भएकोले वार्षिक विकास कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । “अधिकांश कार्यक्रम एक वर्षभित्र सम्पन्न गर्न सकिने छन्, जुन तुरुन्त सम्बोधन हुन्छन्”, नगर उपप्रमुख देवकोटाले भन्नुभयो, “एक वर्षभित्र सम्पन्न गर्न नसकिने कार्यक्रमलाई क्रमागत वा बहुवर्षै योजनामा राखेर भए पनि स्थानीय सरकारले सम्बोधन गर्ने प्रयास गर्छ ।”