धनकुटा : केही वर्ष अघिसम्म खानेपानीका मूलहरु धेरै थिए। अहिले ती मूलहरु सुक्दै गएका छन्। पहाडी क्षेत्रका हरेक घरसम्म बाटो पुगेका छन्। घरसम्म बाटो पुर्याउने क्रममा डोजर प्रयोग हुँदा धेरै मुहान सुके। जसको कारण खानेपानी समस्या बढ्दै गइरहेको छ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलका अनुसार अहिले खानेपानीका ९० प्रतिशत पुराना मूल मासिएका छन्। उहाँका अनुसार खोलामा बग्ने पानी नै खानेपानीको लागि प्रयोग गर्नुपर्ने वाध्यता हुन थालेको छ। खोला गाउँ वस्तीभन्दा तल गहिरोबाट बग्ने गरेकोले खोलाको पानी बस्तीसम्म ल्याउनका लागि लिफ्टिङ नै प्रभावकारी माध्यम हो। पहाडमा खानेपानी समस्या समाधानका लागि लिफ्ङि बाहेक अर्को विकल्प नभएको उहाँको भनाई छ।
सञ्चालनका लागि छैन सहजता
लिफ्टिङ प्रविधिले खानेपानी ल्याउन सहज भएपनि सञ्चालनमा भने धेरै चुनौती हुने गरेका उपभोक्ता समितिहरुको भनाई छ। यो एक प्रकारको महंगो प्रविधि हो। तर, खोलाको पानी वस्तीसम्म ल्याउन अर्को विकल्प समेत नभएको भेडेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष आशिष राईले बताउनुभयो । उहाँका अनुसार योजना कार्यान्वयन गर्न समस्या हुने गरेको छ।
लिफ्टिङ विद्युतबाट चल्ने योजना भएकोले पम्पबाट पानी फाल्ने प्रविधि महंगो हुन्छ। नियमित रुपमा विद्युत प्रभाव नहुँदा र भोल्टेजको अप डाउनले पम्प विग्रिने जोखिम हुन्छ। विद्युत नभएको बेला पानी तान्न सकिँदैन। मर्मत सम्भारमा महंगो लागत पर्न जाने उपभोक्ता समितिहरुको भनाई छ। अर्कोतिर पम्प मर्मत सम्भारका लागि दक्ष जनशक्ति सहज रुपमा पाउन सकिदैन।
साँगुरीगढी गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सञ्चालन भएका खानेपानी योजनाका प्राविधिकहरुलाई निःशुल्क प्लम्वर तालिम दिएको छ। विशेष गरी योजना सञ्चालनमा समस्या हुँदा स्थानीय स्तरवाटै समाधान होस् भन्ने उद्देश्यले तालिमको कार्यक्रम राखिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
खानेपानीको दिगो व्यवस्थापनका लागि जलाधार तथा सिमसार क्षेत्रको संरक्षण गर्ने, वृक्षारोपण गर्ने तथा वन विनास रोक्ने, पानीको मुहान वरपर अव्यवस्थित मानव वस्ती बस्न नदिने जस्ता कुरामा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। यसका लागि उपभोक्ता पनि सचेत र जिम्मेवार हुन जरुरी रहेको उनीहरुको भनाइ छ।