८ बर्षदेखि कर्णाली र लुम्बिनीको सात जिल्लामा सञ्चालित स्वच्छता परियोजनाको विधिवत समापन

  वास खबर सम्वाददाता  377 पटक हेरिएको

काठमाडौ : विगत आठ बर्षदेखि कर्णाली प्रदेशको ६ वटा जिल्ला र लुम्बिनी प्रदेशको एउटा जिल्ला सहित ७ जिल्लाका २ सय ४८ वटा स्वास्थ्य संस्थामा सञ्चालित स्वच्छता परियोजना विधिवत रुपमा सम्पन्न भएको छ । काठमाडौमा सिकाई आदानप्रदान तथा समापन कार्यक्रमको आयोजना गरी युएसएआईडी/स्वच्छता परियोजना सम्पन्न भएको घोषणा गरिएको हो ।

स्वच्छता परियोजना, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोग र DevWorks International को व्यवस्थापनमा कर्णाली प्रदेशको डोल्पा, जाजरकोट, सल्यान, रुकुम पश्चिम, सुर्खेत, दैलेख र र लुम्बिनी प्रदेशको रुकुम पूर्वमा सन् २०१६ को फेब्रुअरी देखि परियोजना सुरुवात गरिएको थियो ।

स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधाबाट स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्ने र सरसफाइ र स्वच्छता व्यवहारको माध्यमबाट संक्रमण रोकथाम गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको परियोजनाका चिफ अफ पार्टी बि.बी.थापाले जानकारी गराउनुभयो।

परियोजनाको समापन कार्यक्रममा थापाले स्वास्थ्य संस्थामा चौबीसै घण्टा निरन्तर सुरक्षित र सफा खानेपानी, अपाङ्गता भएका व्यक्ति र लैंगिकमैत्री चर्पीको निर्माण, स्तरोन्नति, सञ्चालन र मर्मत सुधार र सुशासन, नियमित खोप मार्फत स्वच्छता प्रवर्द्धन र संक्रमण रोकथाम तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको सरसफाई व्यवहार, स्वास्थ्य संस्थाका सेवाग्राहीलाई सरसफाई व्यवहार परामर्श र सामुदायिक सरसफाईमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकाको संलग्नता, प्रमुख कार्यक्षेत्र रहेको बताउनुभयो ।

स्वच्छताका मुख्य सिकाई

सिकाई आदानप्रदान तथा समापन कार्यक्रममा उहाँले खानेपानी सरसफाई र स्वच्छता क्षेत्रमा स्वच्छता परियोजनाका मुख्य सिकाईहरु बुँदागत रुपमा प्रस्तुत गर्नुभयो ।

√  निर्माण सुरु हुनु अघि मर्मत सम्भार कोषको स्थापना गर्न आवश्यक – दिगोपना

√ मर्मत सम्भार कर्यकर्ता र प्राविधिकहरूलाइ तालिम र वैठकमा सहभागी गराई उनीहरुको क्षमता अभिबृद्धि भएको

√ सरकारी अधिकारीहरूले स्वास्थ्य संस्थाहरुको निरन्तर अनुगमन गर्नुपर्दछ र सुधारहरूको लागि सुझाव दिनु पर्छ – सरकारी स्वामित्व

√ सार्वजनिक लेखा परीक्षण  (Public Audit) – जवाफदेहिता र पारदर्शिता

√  हातधुने ठाउमा साबुन र पानीको पहुँच भएमा हात धुने अभ्यासहरू प्रवर्द्धन हुने – सरुवा जन्य रोग नियन्त्रण

√ लैङ्गिक र अपाङ्गता–मैत्री शौचालय स्वास्थ्य संस्थामा उपलब्ध हुनुपर्छ – समावेशिता

√ खानेपानीको श्रोत दर्ता हुनुपर्छ – कुनै विवाद हुन नदिन सुनिश्चित गर्ने

√ Whole site अभिमुखीकरणले संक्रमण रोकथाम र गुणस्तरीय स्वास्थ्य सेवा वितरणमा स्वास्थ्यकर्मीहरूको क्षमता बढाएको

√ सेवाप्रादायकको व्यवहार परिवर्तनको अभिमुखीकरणले प्रभावकारी सेवाग्राही परामर्श अभ्यासहरू बढाएको छ – प्रभावकारी परामर्श अभ्यासहरू बढेको

√ नियमित स्वास्थ्य संस्था सञ्चालन तथा व्यवास्थापन समितिको बैठक फलोअप र अनसाइट कोचिंगले गुणस्तरिय स्वास्थ्य सेवा वितरणमा भएका कमीकमजोरीहरु पहिचान गर्न र स्वास्थ्य सुविधाहरूको सेवा तत्परता सुधार गरेको गरको छ – जवाफदेही र सेवाको तत्परता सुधार

√ स्वास्थ्य संस्थाहरूमा WASH होर्डिङ बोर्ड र शैक्षिक स्वास्थ्य सामग्रीको उपलब्धताले सामुदायमा चेतनाको वृद्धि

√  नियमित खोप सेवा मार्फत स्वच्छता प्रवर्धनका (Hygiene Promotion Through Routine Immunization) लागि व्यवहार परिवर्तन संचार सामग्रीहरूले द्वारा खोप क्लिनिकहरूमा नियमित खोप सेवा र स्वच्छता प्रवर्द्धन बढेको छ


यसरी हुनसक्छ दिगोपना

स्वच्छताका चिफ अफ पार्टी थापाले परियोजना अवधिमा हासिल भएको उपलब्धीलाई निरन्तरता दिन र दिगो बनाउन केही सुझावहरु समेत व्यक्त गर्नुभयो ।

♦  WASH पूर्वाधार र संक्रमण रोकथाम अभ्यासहरुको निरन्तरता दिन पालिका र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवास्थापन समिति बाट नियमित अनुगमन गर्ने र यदी समस्या पाइएमा आवश्यक श्रोत खोजि बजेट छुट्याउने र योजनाबद्ध रुपमा कार्यन्वयन गर्ने

⮚ स्वास्थ्य संस्थामा WASH को नियमित सञ्चालनका लागि स्वास्थ्यकर्मी र ग्रामिण मर्मत सम्भार कार्यकर्तालाइ (VMWs)आवश्यक प्रशिक्षण, सल्लाह र सुझाव दिने

⮚ पानी सुद्धिकरणका लागि Aquatabs Flo खरिद गरि स्वास्थ्य संस्थामा प्रदान गर्ने र नियमित रुपमा खानेपानी को गुणस्तर परीक्षण गर्ने

⮚ N-WASH प्रणाली खानेपानी र स्वच्छताको तथ्यांक अद्यावधिक गर्ने

⮚ नेपाल सरकारको स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवास्थापन सम्बन्धि निर्देशिका प्रयोग गरि उचित व्यवास्थापन गर्ने, फोहोरमैला राम्रोसंग छुट्याएर उचित ठाउमा विसर्जन गर्ने

⮚ संक्रमण रोकथाम सम्बन्धि गुणस्तर सुधार चेकलिस्ट (SR-05)  र न्यूनतम सेवा मापदण्डहरूको कार्यान्वयन गर्ने र आवश्यक सामाग्रीहरुको सुनिश्चितता गर्ने

⮚ WASH को ५ मूल मन्त्र लाइ प्रयोग गरि व्यवहार परिवर्तन संचारलाई बढावा गर्ने

⮚ हरेक क्रियाकलापहरु र निर्णय लिने प्रक्रियाहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (GESI) लाइ समावेश र अनुगमन गर्ने

⮚ स्वास्थ्य सेवा र WASH को प्रभावकारीताको लागि सेवाग्राहीको सन्तुस्टी फाराम भर्ने र मूल्याङ्कन गर्ने

⮚ गुणस्तर सुधार र उच्च प्रदर्शन गर्ने स्वास्थ्य संस्थाको पहिचान गरि इनाम, हौसला र कोष वृद्धि को लागी वकालत गर्ने

कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको प्रमुख आतिथ्य एवं स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण कुमार थापाको सभापतित्वमा सम्पन्न भयो ।


कार्यक्रममा देव वर्क्स इन्टरनेशनल युएसएका आस्था थापा, युएसएआईडी नेपालका एक्टिङ मिसन डाइरेक्टर बेथ होगन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र खानेपानी मन्त्रालयका सहसचिव माधव प्रसाद अधिकारी लगायत मन्तव्य व्यक्त गर्नुभयो ।

स्वच्छताकै मोडेलमा काम सुरु

कार्यक्रममा जाजरकोटको भेरी नगरपालिका का मेयर चन्द्र प्रकाश (सिपी) घर्तीले स्वच्छता परियोजनाको साझेदारीमा पाँच वटा स्वास्थ्य चौकीमा निर्माण भएका संरचना जस्तै पालिका भरिकै स्वास्थ्य संस्थामा निर्माण गरिने बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय डोल्पाका सिनियर अनमी दुर्गा ओझा, बाहुनाथाना स्वास्थ्य चौकी जाजरकोटकी अनमी यौमा ओली, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन विभागका जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुंगाना बीच गरिएको प्यानल छलफलमा मेयर घर्तीले स्वच्छता परियोजनाको काम गर्ने मोडेल नै फरक रहेकाले यसलाई अन्य स्वास्थ्य चौकीमा समेत अंगीकार गरिएको बताउनुभयो ।


‘हाम्रो नगरपालिकामा १२ वटा स्वास्थ्य संस्था छन्, ५ वटा स्वास्थ्य संस्थामा स्वच्छता परियोजनासँग साझेदारी गरी खानेपानी र सरसफाइका पूर्वाधार निर्माण गरेका छौं भने बाँकीमा पनि त्यस्तै मोडेलमा निर्माणको काम अगाडि बढाईएको छ’ उहाँले भन्नुभयो।

प्यानल छलफलमा बाहुनथाना स्वास्थ्य चौकीकी अनमी यौमा वलीले पहिले स्वास्थ्य संस्थाका लागि भनेर खानेपानीको कुनै व्यवस्था नभएको र कार्यालय सहयोगीले ओसारेको पानीमै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले विजुलीको अभावमा कहिले टुकी र कहिले टर्चलाइटको भरमा सुत्केरी गराएका दिनहरु स्मरण गर्दै स्वच्छताले सोलार प्रणाली जडान गरेपछि रातीको समयमा सुत्केरी गराउन, मोबाइलहरु चार्ज गर्न, स्वास्थ्य उपकरणहरु निर्मलीकरण गर्न पनि सहज भएको बताउनुभयो।

प्लानल छलफलमा स्वास्थ्य सेवा कार्यालय डोल्पाकी सिनियर अनमी दुर्गा ओझाले पुनर्ताजगी तालिमहरु भैरहेमा परियोजनाको सहयोगमा प्राप्त उपलब्धीको रक्षा गर्न सकिने बताउनुभयो। ‘पहिले तालिम लिएका कर्मचारीहरु अहिले हुनुहुन्न, समायोजनको क्रममा कता कता पुग्नुभयो, अहिले म मात्र छु, तसर्थ यसको दिगोपनाको लागि तालिमहरु बेला बखत भैरहनुपर्छ’ उहाँले भन्नुभयो।

प्यानल छलफलका समीक्षक एवं कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रादेशिक स्वास्थ्य निर्देशक डा. रबिन खड्काले स्वच्छता परियोजनालाई सुरुवाती चरणदेखि नै आफूले नियालिरहेको र यसको काम गर्ने ढाँचा नै फरक रहेको पाईएको बताउनुभयो। ‘मैले स्वच्छता परियोजनाको विज्ञापन गरेको होइन, तर जुन लागतमा निर्माण भएका संरचनाहरु छन्, त्यो सरकारी तवरबाट कुनै पनि हालतमा सम्भव हुँदैन’ उहाँले भन्नुभयो ।

सरकारी स्तरबाट गर्ने हो भने एउटा शौचालय निर्माणका लागि बोलपत्र गर्दा, निर्माणकर्ता छनौट गर्दा नै निक्कै समय व्यतित हुने भएकाले गुणस्तरमा समेत प्रश्न सिर्जना हुने स्थिति हुने उहाँले बताउनुभयो।

संक्रमण रोकथामका लागि परियोजनाले अपनाएका टुल्सहरु, विधिहरु साँच्चिकै अनुकरणीय रहेको र केही स्वास्थ्य संस्थामा भिजिट गर्दा पहिलेको तुलनामा धेरै सुधार भएको पाएको उहाँले बताउनुभयो । ‘ती स्वास्थ्य संस्थाहरुमा पानीजन्य रोगहरुमा कमी आएको, स्वास्थ्य संस्थामा बिरामी भएर आउने दर नै कम भएको जस्ता इण्डिकेटरहरु पनि देख्यौं, साँच्चिकै प्रसंशनीय काम भएको छ’ उहाँले भन्नुभयो ।

समापन कार्यक्रममा स्वास्थ्य संस्थाहरुमा निर्माण गरिएको शौचालयको नमुना समेत प्रदर्शन गरिएको थियो।

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार