कुपोषणका कारण चेपाङ समुदायका ४ बालबालिकाको मृत्यु

स्वच्छता बानी व्यवहार र सुरक्षितको पानीको अभावमा पनि हुन सक्छ कुपोषण

हेटौंडा : कुपोषणका कारण मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा चार बालबालिकाको मृत्यु भएको छ । पाँच वर्षमुनिका २ बालिका र २ बालकको मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले गत साउनदेखि माघसम्म वडा ३, ४ र ७ का कुपोषणले ग्रस्त चार बालबालिकाको मृत्यु भएको बताए ।

जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा बालबालिका, सुत्केरी तथा गर्भवतीमा कुपोषणको दर उच्च देखिएको छ । राक्सिराङमा भने यस वर्ष कुपोषणका कारण ज्यान गएको घटना नभएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए ।

अशिक्षा र गरिबीको चपेटामा रहेको चेपाङ समुदायमा कुपोषणको समस्या घट्न नसकेपछि त्यसको पहिचान र उपचारका लागि कैलाश गाउँपालिकाले चालु आवदेखि कुपोषण निराकरण अभियान चलाउँदै आएको छ । पालिकाले कडा शीघ्र कुपोषण भएकालाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी तथा मध्यम शीघ्रकालाई नियमित रूपमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

पालिकाले ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ सहित हरेक टोलमा पुगेर कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको हो । उक्त अभियानअन्तर्गत गाउँपालिकामा चालु आवमा ३४ महिला र ४८ बालबालिकामा कुपोषण पाइएको थियो । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शीघ्र कुपोषित रहेका भेटिए ।

गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयंसेविका १० वटै वडामा परिचालन गरी एक साताको अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिलारबालबालिकाको खोजी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख यादवले बताए । गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु वर्षमा ५० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कुपोषित महिला र बालबालिकालाई नियमित पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरूलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख यादवले बताए ।

हरेक बार खाना चार कार्यक्रम

कुपोषणग्रस्त गर्भवती तथा सुत्केरीका लागि गाउँपालिकाले ‘हरेक बार खाना चार’ कार्यक्रम अन्तर्गत अन्डा, क्वाँटी, हर्लिक्स, घिउ, मासको दाल, ओखर, काजु र सरसफाइ कीट उपलब्ध गराउँदै आएको छ । यसैगरी कुपोषित बालबालिकाका लागि मासिक रूपमा पोषण खीर, पोषण खिचडी, पोषण हलुवा उपलब्ध गराउँदै आएको छ । सन्तुलित रूपमा नियमित पोषणयुक्त खानेकुरा पकाउनेबारे पनि सम्बन्धित परिवारका सदस्य राखेर जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कडा शीघ्र कुपोषणको उपचारका लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । वडा ३ को कटुन्जे स्वास्थ्य चौकी, ८ को भार्ता स्वास्थ्य चौकी र वडा ७ को निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ । ‘उपचार केन्द्रमा कडा शीर्घ कुपोषणका सिकिस्त बिरामी भए भर्ना गरेर राखिन्छ, सामान्य भएपछि २ साताका लागि पूर्वतयारीयुक्त उपचारात्मक खाना दिएर पठाउने गरेको छ । पोषणयुक्त उपचारात्मक खाना नियमित खाएपछि कुपोषण कम हुँदै गएर स्वस्थ हुँदै आउँछ,’ स्वास्थ्य शाखा प्रमुख यादवले भने । गाउँपालिकाको ३, ४, ७ र ८ वडामा सबैभन्दा बढी कुपोषणका बिरामी छन् । ती वडाहरूलाई लक्षित गरी उपचार केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य मापदण्डअनुसार ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाप ११।५ सेन्टिमिटरभन्दा कम भएमा, खुट्टा सुन्निएको र भोक नलाग्ने समस्या देखिएमा त्यसलाई कडा शीघ्र कुपोषण मानिन्छ । साथै ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाम ११।५ देखि १२।५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टि गरिन्छ । यसैगरी गर्भवती र ६ महिनाभित्रको सुत्केरी महिलाको हकमा पाखुराको नाप २१ सेन्टिमिटरभन्दा कम भएमा कडा शीघ्र कुपोषण मानिन्छ । २१ देखि २५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टि गर्दै उपचार विधि सुरु गरिने स्वास्थ्य शाखाका प्रमुख यादवले बताए ।

अशिक्षा, गरिबी र बालविवाहका कारण गाउँपालिकामा कुपोषण बढिरहेको कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तानको भनाइ छ । ‘पहिलो कुरा त गरिबीका कारण सन्तुलित खाना खान पाउँदैनन्, अशिक्षाका कारण पोषणयुक्त खानेकुराको ज्ञान पनि छैन र सानै उमेरमा बिहे गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवै कुपोषणको सिकार हुने सम्भावना हुन्छ,’ अध्यक्ष मुक्तानले भने । कुपोषितको उपचारका साथै उनीहरूलाई आयआर्जनमुखी काममा जोड्न तरकारीको बीउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको अध्यक्ष मुक्तानले बताए ।

राक्सिराङका ९८ बालबालिकामा कुपोषण 

कैलाशसँगै जोडिएको चेपाङ बाहुल्य रहेको अर्को राक्सिराङ गाउँपालिकामा पनि कुपोषित बालबालिका उल्लेख्य छन् । यहाँ ५ वर्षमुनिका ९८ बालबालिका कुपोषणले ग्रस्त छन् । पालिकाले उनीहरूका निम्ति पोषणको व्यवस्था गरेको छ । गत वर्ष वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको अध्ययनअनुसार मकवानपुरमा ११ महिना उमेरसम्मका १ सय ४७ र १ वर्षदेखि २३ महिना उमेरका ७६ बालबालिका कुपोषणले ग्रसित रहेको पाइएको थियो । वाग्मती प्रदेशका १३ जिल्लामध्ये ११ महिनासम्मका बालबालिकामा सबैभन्दा धेरै कुपोषित ललितपुरका छन् ।

ललितपुरमा यो उमेर समूहका ७ सय ४ बालबालिका कुपोषित रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताए । ११ महिना उमेर समूहमा चितवनका २ सय ७ र धादिङका १ सय ९७ बालबालिका कुपोषणबाट ग्रसित छन् । १ वर्षदेखि २३ महिनासम्मका बालबालिकामा सबैभन्दा धेरै कुपोषितको संख्या २ सय ७५ धादिङमा रहेको निर्देशनालयले जनाएको छ । उक्त उमेर समूहका चितवनमा २ सय २० बालबालिका कुपोषणग्रस्त छन् । वाग्मती प्रदेशमा सबैभन्दा कम कुपोषित बालबालिकाको संख्या रसुवामा छ । उक्त जिल्लामा ११ महिनासम्मका २ जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना गरेर रसुवामा ८ जना मात्र कुपोषित बालबालिका रहेको स्वास्थ्य निर्देशक दीपकबाबु तिवारीले बताए । सिन्धुलीमा २३ महिनासम्मका १ सय ३५ बालबालिका कुपोषित छन् भने सिन्धुपाल्चोकमा १ सय १० कुपोषित बालबालिका छन् ।

वाग्मती प्रदेशमा २३ महिनासम्मका १ लाख ५४ हजार ७ सय ५९ बालबालिका रहेकामा २ हजार ५ सय ९५ जना कुपोषणले ग्रसित छन् । कुपोषणग्रस्त बालबालिकामध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ रहेको निर्देशनालयका तथ्यांक अधिकृत भण्डारीले बताए । ‘खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका बस्तीका अधिकांश बालबालिका कुपोषणले ग्रसित भेटिएका छन्,’ निर्देशनालयका निर्देशक तिवारीले भने, ‘बालबालिकालाई कुपोषणबाट मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालय लगायत अन्य निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’

बालभिटा खाने बालबालिकाको संख्या न्यून

बालबालिकालाई कुपोषणबाट मुक्त गर्नका लागि सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको भए पनि अधिकांश अभिभावकले बालभिटा खुवाउने नगरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । मकवानपुरको स्थानीय तहमा लक्ष्य र तथ्यांकअनुसार बालभिटा खाने बालबालिकाको संख्या ज्यादै न्यून छ । स्थानीय तहले बालभिटा खपत नभएपछि म्याद नाघेर नष्ट गर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन् ।

जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फूर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिएको हो । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ ।

बच्चा जन्मेको ६ देखि ११ महिनासम्म, १२ देखि १७ महिनासम्म र १८ देखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले तीन पटक बालभिटा वितरण गर्ने गरेको छ । तर मकवानपुरको स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलो पटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रो पटक लिन आउनेको संख्या निकै कम रहेको छ । बच्चा जन्मिएपछि दुई वर्षभित्रमा ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले निःशुल्क रूपमा बालभिटा वितरण गरिरहँदा पनि अभिभावकले बालबालिकालाई बालभिटा खुवाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । ‘गाउँमा रहेका महिला स्वयंसेविकालाई बालबालिकालाई बालभिटा खुवाउन अनुरोध गर्दा पनि टेर्दैनन् । गर्भ परीक्षण गराउनुपर्छ र सुत्केरी स्वास्थ्य चौकीमा हुनुपर्छ भनेर जोडबल गर्दा पनि मान्दैनन्,’ राक्सिराङका स्वास्थ्य शाखा प्रमुख कापरीले भने । यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो।

हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा। हरिबहादुर खड्काले स्तनपान, खाद्य असुरक्षा, स्वास्थ्य सेवामा पहुँच र खानामा पोषक तत्त्वको अभावले शीघ्र कुपोषणको समस्या देखिएको बताए । स्वास्थ्य संघसंस्थामा आएका कुपोषणबाट ग्रसित बालबालिकाको अवस्था भने सुधार भइरहेको उनले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार