सुनकोसीको पानी विद्युतिय लिफ्ट माध्यमबाट उपभोक्ताको धारा धारामा

  वास खबर सम्वाददाता  346 पटक हेरिएको

सिन्धुलीमाढी : सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका-३ शिखरकटेरी देउरालीका बासिन्दाले विद्युतिय लिफ्टबाट घर-घरमा खानेपानीको सुविधा पाएका छन्।

‘एक घर, एक धारो’ अभियान अन्तर्गत सुनकोसीको पानी लिफ्ट गरी उक्त गाँउको घर घरमा पुर्‍याएपछि ५९ घरका उपभोक्ताई खानेपानी सुविधा मिलेको हो । भर्खरै शिखरकटेरी देउराली लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरी सञ्चालन गरिएको स्थानीय उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ता टिकामाया श्रेठ खानेपानी योजना उद्घाटन हुँदा खुशीले गाँउभरिका उपभोक्ता एक ठाँउ भेला भएर दिनभरि नाचेको बताउनुहुन्छ ।

“हामीलाई खानेपानीको धेरै दुःख थियो, अब त्यो समस्या सँधैलाई हटेको छ,” उहाँले भन्नुभयो, “अहिले गाँउभरिमा नै एक घर, एक धारा निर्माण भएको छ । चौबिसै घण्टा धारामा पानी आइरहेको छ । धेरै उत्साहित भएका छौं ।’ उपभोग गरेर बढी भएको पानीले करेसा बारीमा आफुलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने अवसर मिलेको छ ।”

उक्त ठाँउका लागि ल्याएको पहिलेको खानेपानी योजना धेरै पुरानो भएको र मुहान सुकेर आउन छाडेपछि गाँउपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारमा  नयाँ योजना निर्माण गरिएको उक्त वडाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘पहिले बस्तिभन्दा छ किलोमिटर माथि फलानचौरको फेदी तितौरे मुहानबाट पानी ल्याई उपभोक्ताले उपभोग गरेका थिए । अहिले मुहान पनि सुकेको र उक्त योजना पुरानो भई पाईप पनि लथालिङ् भएर पानी आउन छाडेको थियो ।’ गत पुस महिनादेखि नयाँ योजना निर्माण सुरु गरिएको र कुल ८१ लाख रुपियाँ लागत रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त लागतमध्ये गाँउपालिकाको २९ लाख रुपियाँ, नेवाको ३२ लाख रुपियाँ र बाँकी रकम उपभोक्ताको श्रमदान रहेको छ । शिखरकटेरी देउराली लिफ्ट खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत सुनकोसी नदीमा ईनार, करिब ११ हजार लिटर क्षमताको एउटा ट्याङ्की, छ/छ हजार लिटर क्षमताको अरु दुई वटा ट्ङ्की, पावर हाउस, पाईप लाइन विस्तार लगायतका संरचना निर्माण भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।

ईनारको पानी करिब बिजुलीको सहयाताले करिब १६ सय मिटरमाथि लिफ्ट गरेर फ्याकी उपभोक्तालाई खानेपानीको बन्दोबस्त गरिएको उहाँले बताउनुभयो। खानेपानीको उपभोग गरेको बापत मासिक रुपमा उपभोक्ताले न्यूनतम शुल्क एक सय रुपियाँ र प्रति युनिट १० रुपियाँका दरले शुल्क निर्धारण गरिएको उक्त आयोजनाका अध्यक्ष बुद्धरत्न गुभाजुले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार