मन्त्री यादवले भने, स्वच्छ पानी वितरण गर्न जे चाहिन्छ त्यो भन्नुस, म व्यवस्था गर्छु

  वास खबर सम्बादाता  315 पटक हेरिएको

काठमाडौ: खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक ब्यबस्था गरि खानेपानी वितरण गर्न निर्देशन दिनुभएको छ । शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उहाँले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिनु भएको हो।

मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टर लगायतको निरीक्षण गर्नुभयो।

मन्त्री यादवले काठमाडौंवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह हर्नुभयो। उहाँले भन्नुभयो ‘मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।’

मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिनुभयो। उहाले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो।

मन्त्री यादवले काठमाडौंमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो। ‘पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ’ उहाँले भन्नुभयो।

मन्त्री यादवले काठमाडौंमा मात्र नभई देशका अन्य स्थान, विशेष गरी तराई–मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गर्नुभयो।

मधेसमा चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको उहाँले जानकारी गराउनुभयो। उहाँले भन्नुभयो ‘कुनै जमानामा तराई–मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो, तर अहिले चार सय फिट खन्दा पनि पानी आइरहेको छैन, समस्या विकराल छ, यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौँ ।

निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतको सहभागिता थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार