सिमकोट : सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोला आसपास वसोवास गर्दै आएका स्थानीयहरु खोलाको लेदो सहितको पानी प्रयोग गर्न बाध्य छन् । खानेपानीको मुहान बाढीले बगाएपछि स्थानीयले खोलाको पानी प्रयोग गर्दै आएका छन्।
हेक्पा खोलाका स्थानीयका लागि ल्याईएको खानेपानीको मुहान पहिरोले क्षति पुर्याएपछि पानी आपुर्ति बन्द भएको हो। खानेपानीको अर्को विकल्प नभएपछि खोलामै पाइप जडान गरेर पानी आपूर्ति गरिएको हो ।
खोलाको धमिलो पानी भाँडामा थाप्दा कपडाले छानेर भर्ने गरिएको स्थानीयले बताए । दुषित पानीको प्रयोगले झाडापखाला लगायतका रोग लाग्न सक्ने सम्भावना रहेको हेक्पा खोलावासी बताउँछन्।
खोलाको दुवै किनारामा गरी दश घरधुरीले होटेल ब्यवसाय गर्दै आएका छन्। पुल निर्माणका लागि खटिएका कामदार सबैले सोही पानी प्रयोग गरिरहेका छन् भने बाहिरबाट हेक्पा खोला भएर आउजाउ गर्ने पैदल यात्रीले पनि सोही पानी पिउन बाध्य छन् ।
बाढीले खानेपानी मुहान बगाउँदा पन्ध्र दिनदेखि खोलाको पानी प्रयोग गरिरहेको स्थानीयले बताएका छन् ।