भूमे र सिस्नेको ६८ प्रतिशत खानेपानीमा इकोली भेटियो, शुद्धिकरण गरेर मात्र पिउन आग्रह

  वास खबर सम्वाददाता  377 पटक हेरिएको

रुकुम पूर्व : रुकुम पूर्वको भूमे र सिस्ने गाउँपालिकाका बासिन्दाहरु दिसामा पाइने इकोली जीवाणु मिसिएको पानी पिउन बाध्य छन् । दुवै गाउँपालिकाको गरी ३२ ठाउँको खानेपानीको परीक्षणका क्रममा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी नीमप्रसाद गिरीले बताउनुभयो। उहाँका अनुसार ३२ ठाउँको खानेपानीको मुहान, ट्यांकी, धाराको नमुना परीक्षण गरिएकोमा २२ ठाउँको पानीमा इकोली पुष्टि भएको छ ।

परीक्षण गरिएका मध्येमा ६८ प्रतिशत भन्दा बढी पानीको स्रोतमा इकोली भेटिएको हो। हेर्दा सङ्लो देखिए पनि पानी परीक्षणका क्रममा इकोली भेटिएकाले निर्मलीकरण गरेर मात्र पानी उपभोग गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। खानेपानीको स्रोत सुरक्षित नभएको र मापदण्ड अनुसार संरचना निर्माण गरिएको खानेपानीमा भने इकोली भेटिएको छैन। जहाँ भौतिक संरचना लथालिंग र कमजोर अवस्थाको छ त्यहाँका प्रायः खानेपानीमा इकोली भेटिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ।

खानेपानी योजनाको भौतिक संरचना निर्माण गर्दा कमजोर र मापदण्ड अनुसारको निर्माण नगर्दा उपभोक्ता दूषित पानी पिउन बाध्य भएका हुन् खानेपानी योजना निर्माण गर्दा उपभोक्ता समिति र ठेकेदारले मापदण्ड अनुसारको संरचना निर्माण नगर्दा हाल उपभोक्ता दूषित पानीको दुश्चक्रमा परेका हुन्।

मापदण्ड विपरित भौतिक संरचनाको काम गर्ने समिति र ठेकेदारलाई कसैले पनि कारबाही नगरेपछि संरचना कमजोर निर्माण गर्ने गरेका हुन्। जसको कारण खानेपानी योजना छोटो समयमै जीर्ण अवस्थामा पुग्ने र खानेपानीको मूल र वितरण ट्यांकी असुरक्षित भएपछि दूषित पानी खानुपर्ने बाध्यता रहेको भूमे गाउँपालिका–६ का मनजित रोकाले बताउनुभयो।

‘सरकारले खानेपानी योजनाका लागि बजेटको व्यवस्था गरिदिन्छ तर, उक्त बजेटले मापदण्ड अनुसारको संरचना निर्माण भयो कि भएनन् भने चेकजाँच नहुँदा खानेपानीका योजना छोटो समयमै लथालिंग भएको अवस्थामा पुग्ने गरेको छ’ उहाँले भन्नुभयो।

खानेपानीको भौतिक संरचना निर्माण मापदण्ड अनुसारको र मुहानको सुरक्षित ट्यांकी निर्माण हुन नसक्नु, पाइप जडान तथा गाड्नेमा लापरबाही र पानी वितरण ट्यांकीको राम्रोसँग सुरक्षित घेराबार नहुँदा खानेपानी दूषित भएको रोकाको भनाइ छ।

जिल्लाका अधिकांश स्थानीय बासिन्दाले दिसामा पाइने जीवाणु ‘इकोली’ मिसिएको पानी उपभोग गरिरहेको अध्ययनले देखाएको छ। जिल्लामा हाल प्रयोग भइरहेका मध्ये अधिकांश पानी सीधै पिउन अयोग्य रहेको अध्ययनको निष्कर्ष छ। त्यसैले पानीलाई फिल्टर गरेर, उमालेर वा क्लोरिनेसन गरेर मात्र पिउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार