म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो। आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्य चौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले बताउनुभयो।
खानेपानी योजनाबाट तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो। यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो। घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो।
“धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ।” स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ। खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ।
नेवाको रु १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको रु छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले रु सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ।
आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँ सहित मालिका गाउँपालिकामा छ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो।