रुकुम : रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–२ मा स्वच्छ खानेपानी वितरणका लागि पूर्वाधार निर्माण भएपनि स्थानीय नहर-कुलोको पानी पिउन बाध्य छन्। एक सय भन्दा बढी घरधुरीले एक घर एक धारा निर्माण गरी शुद्ध पानी पिउने भनेर ९ वटा पानी ट्यांकी बनाए पनि दुई वर्ष पुग्दा पनि धाराको पानी पिउन नपाएका हुन् ।
एक घर एक धारा खानेपानी आयोजना क्रमागत भए पनि योभन्दा अगाडि आएको बजेट सकिएकाले योजना सम्पन्न हुन नसकेको बाँफीकोट गाउँपालिका २ का वडा सदस्य देउमी पौडेलले बताउनुभयो। योजना क्रमागत भएकाले बजेट आएपछि काम सुचारु हुने र त्योभन्दा अघि एक घर एक धारा निर्माण कार्यलाई पूर्णता दिन वडाको बजेटले नधान्ने उहाँको भनाइ छ।
वडाध्यक्ष प्रकाश खत्रीले हिउँदमा आगलागी हुँदा खानेपानीको पाइप लाइनमा आगोले क्षति पुगेकाले एक घर एक धारा निर्माण कार्य पूरा हुन नसक्दा स्थानीयले पुग्ने गरी पानी पिउन नसकेको बताउनुभयो। ‘यो पानी हामीले सधैं पिउँदै आइरहेका छौं, पानी शुद्ध नै छ। नपत्याए सम्बन्धित निकाय सबै आउनुस् सँगै जाउँला बरु म सहजीकरण गर्छु’ वडाध्यक्ष खत्रीले भन्नुभयो।
स्थानीयका अनुसार ‘गोगनपानी मुहानबाट ल्याइएको उक्त नहर (कुलो) को पानीमा किराहरू मरेको हुन्छ। कसैले त्यही कुलोमा भाँडा माभ्mने, बालबच्चाहरूले नहर कुलोमा ढुंगा अडाएर पौडी खेल्ने र त्यहीँ दिसापिसाब समेत गर्ने गर्छन्। त्यही पानी बस्तीका मानिसहरुले पिउँदै आएका छन्।
१० वटा वडाहरू रहेको बाँफीकोट गाउँपालिकाको सबैभन्दा ठूलो २ नम्बर वडामा वसन टाकुरा, वसनी गैरा, माथिल्लो बसेन टिकुरा, प्यालीचउरा, थारकाट्टे, जोगी मेला, काक्री बाङ, भलाचौर, रुनेपानी, पूर्णगाउँ, छिपछिबी लगायतका टोलहरूमा कतै पानी बोकेर पिउनुपर्छ भने कतिपयमा नाला र मुहानबाट व्यक्तिगत पाइप लाइन लगेर पानी पिउँदै आइरहेको स्थानीय विपना पौडेलले बताउनुभयो।
‘पछिल्लो समय स्वास्थ्य संस्थाहरूले खानेपानीका मुहान तथा धाराहरूमा पानी परीक्षण गर्दा पानीमा विभिन्न हानिकारक जीवाणुहरू तथा दिशामा पाइने इकोली समेत फेला परेको छ। स्वास्थ्य कार्यालय रुकुमपश्चिमका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले नहर तथा कुलोको खुल्ला र दूषित पानीलाई शुद्ध भन्न नसकिने बताउनुभयो।
उहाँले यस्तो पानी पिउनाले विभिन्न मनसुनजन्य रोगहरू लाग्ने सम्भावना उच्च हुने बताउनुभयो। उहाँले त्यस्तो पानीलाई उमालेर वा विभिन्न पानी शुद्धीकरण गर्ने तरिका अपनाउन अनुरोध गर्दै यो समस्यामा सरकारवालाले चासो दिनुपर्ने बताउनुभयो।