जारको पानी पिउँदैमा ढुक्क हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ

  वास खबर सम्वाददाता  484 पटक हेरिएको

काठमाडौ : जारको पानी पिएकै छ, ढुक्क छ भन्ने लागिरहेको छ भने तपाई गलत हुनुहुन्छ । एक सरकारी प्रतिवेदन भन्छ, ‘पानी उत्पादन र बिक्री–वितरणमा उद्योगीले लापरबाही छन् । केही कम्पनीले कुच्चिएका र पुरानो जारबाट पानी बिक्री गर्दा दूषित भएको छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा गरेको अनुगमन, नमुना संकलन र प्रयोगशाला परीक्षणमा यस्तो देखिएको हो । न्यून गुणस्तर र दूषित उत्पादनको कसुरमा ०८०/८१ मा १ सय ७८ मुद्दा दायर भएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जनाइन् । तिनमा सबैभन्दा बढी प्रशोधित पिउने पानीकै ४५ वटा मुद्दा दायर भएका छन् । ती मुद्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका ४३ कार्यालयबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।

विभागले गत वर्ष प्रशोधित पिउने पानीका ११४ वटा नमुना संकलन गरेको थियो । ती परीक्षण गर्दा १० वटा नमुना प्रतिकूल पाइएको थियो । यति मात्र होइन, विभागले ०७९/८० मा १ सय २१ मुद्दा दायर गर्दा प्रशोधित पिउने पानीका २१ वटा थिए । प्रशोधित पिउने पानीका १५५ नमुना परीक्षण गर्दा ४१ नमुना कैफियत भेटिएका थिए । यसले पनि सर्वसाधारणले पिउने पानीको अवस्था देखाउँछ । र सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड भएको पुष्टि गर्छ ।

‘नमुना परीक्षण गर्दा जारको पानीमा मुख्यतः कोलिफर्म आउँछ । पानीको जार प्रयोग गर्ने अभ्यास राम्रो छैन, सरसफाइ छैन,’ विभागकी महानिर्देशक वैद्यले भनिन्, ‘प्रिमियम ब्रान्डका जार प्रयोग गर्ने कम्पनीले १०/१२ पटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्दैनन् । तर प्रिमियम ब्रान्डले प्रयोग नगरेपछि त्यही जार अर्को कम्पनीले प्रयोग गर्ने गरेका छन् । पुरानो जार कोतारिएको हुन्छ । कोतारिएको जार राम्रोसँग सफा हुँदैन । यसमा सूक्ष्म जीवाणु हुन्छन् ।’ वर्षात्को समयमा पानी दूषित हुने सम्भावना उच्च रहन्छ । जारको पानीमा कीरा पनि देखिन्छ । यीबाहेक नक्कली जारको बिगबिगी पनि छ । जारको बिर्को निकालेर नक्कली स्टिकर र पानी बिक्री गरेर सर्वसाधारणलाई झुक्याउने काम भएको छ ।

‘जारको बजारीकरणमा पनि समस्या छ । धेरैजसो मार्केटिङ गर्नेको पानी उद्योग छैन । उनीहरूले उद्योगसँग ठेक्कामा पानी भर्छन् र घरघर पुर्‍याउँछन्,’ वैद्यले भनिन्, ‘त्यही सिलसिलामा सर्वसाधारणलाई पुरानो, कोतारिएको जार बिक्री गरेर झुक्याउने काम भएको छ ।’ प्रशोधित खानेपानीको हकमा पनि पीएच भ्यालु र ब्याक्टेरियाकै समस्या देखिन्छ । पानीको पीएच भ्यालु ६ देखि ८ को बीचमा हुनुपर्छ ।

त्यसमा ब्याक्टेरिया हुनु हुँदैन । तर बजारमा पाइने धेरैजसो पानी र जारमा समस्या देखिन्छ । दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड पनि हुन सक्छ । ‘सरसफाइमा ध्यान नदिँदा खाने पानीले धेरै समस्या निम्त्याउन सक्छ । विडम्बना, कतिपय उद्योगीले मूलको पानी जस्ताको तस्तै भरेर पनि बिक्री गर्छन् ।’

काठमाडौं उपत्यकामा रहेको पानीको नमुना संकलन गरिरहेको महानिर्देशक वैद्यले जनाइन् । गोदावरीबाट सुरु गरिएको अभियान साउनभर नै सञ्चालन गरिने उनको भनाइ छ । ‘उपत्यकाका तीनवटै जिल्लाबाट नमुना संकलन गरेर माइक्रोबायोलोजी परीक्षणमा केन्द्रित गरेका छौं,’ उनले भनिन् । खाद्य प्रविधिले गुणस्तरको अनुगमन गर्छ । सर्वसाधारण गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन् । मूल्यको अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि पानी उद्योगलाई कारबाही गरेको छ ।

वाणिज्यले गत आर्थिक वर्षमा ७ पानी उद्योगलाई ६ लाख २५ हजार जरिवाना गरेको थियो । बुधबार मात्रै सूचना प्रकाशन गरेर फरक–फरक मूल्य नराख्न निर्देशनसमेत दिएको छ । उपत्यकामा बिक्री हुने जार र बोटलकै गुणस्तरको पानीलाई उत्पादकले होटल–रेस्टुराँ व्यवसायीसँग मिलेर फरक र बढी मूल्य लिएर बिक्री गरेकाले त्यसलाई तत्काल रोक्न पनि वाणिज्यले भनेको छ ।

आफ्नो निर्देशन पालना नगरे प्रचलित उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्ने वाणिज्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दिनहुँ पिउने पानीको गुणस्तरमा खेलबाड गर्नु बेइमानी भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । अनुगमन र नमुना संकलन परीक्षण कार्यलाई थप प्रभावकारी बनाएर ऐनभित्र नपर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार