नेपालमा खानेपानीलाई पाईप प्रणालीबाट वितरण गर्न थालेको १३३ वर्ष पुग्न लागि सकेको छ । साढे एक शताब्दी हुनै लाग्दा समेत जम्मा ५७ प्रतिशत नेपालीको घरमा मात्र पाईप प्रणाली मार्फत खानेपानीको पहुँच पुगेको छ ।
पाईप प्रणाली मार्फत घरमा खानेपानी पुगेको भनिएपनि पानीको गुणस्तर, सवैलाई पहँुच, सेवा सुचारुपनमा धेरै समस्या देखिएका छन् । खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रगत प्रगति प्रतिवेदन अुनसार नेपालमा खानेपानीको गुणस्तरमा विगतको तुलनामा खस्कदो अवस्थाा छ । हाल नेपालमा सुरक्षित खानेपानीको सेवा प्राप्त गर्ने घरपरिवारहरु भनेको जम्मा १९ प्रतिशत मात्र देखिएका छन् ।
खानेपानीको विभिन्न विकल्पहरु Water Operator Partnership (WOP) भनौ खानेपानी सञ्चालक साझेदारीको अवधारणा पनि नेपालको लागि एक उत्तम विकल्प हुन सक्छ ।
खानेपानी जस्तो मानव जीवनको आधारभूत आवश्यकता पुरा गर्नको लागि नेपालीले कहिले सम्म संघर्ष गर्नुपर्ने हो । खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र विकास योजनालाई आधार मान्ने हो भने वि.स. २१०० सम्ममा सवै नेपालीले उच्च स्तरको खानेपानीको पहुँच प्राप्त गर्न सक्नेछन् भनिएको छ । यो हो भने पनि अझै १९ वर्ष नेपालीहरुले सुरक्षित पानीको पहुँचको लागि कुर्नुपर्ने देखिन्छ ।
धेरै नेपालीहरुलाई अहिले पनि वि.स २१०० सम्म उच्च स्तरको खानेपानीको सेवा प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्ने आधार छैनन् । त्यसको ज्वलन्त उदाहरण भनेको काठमाण्डौ वासीले भोगिरहेको मेलम्ची समस्या हो । अर्को समस्या भनेको कतिपय ग्रामीण स्तरका खानेपानी योजनाहरुमा मर्मत संभारको अभावमा हेर्दा हेर्दै खानेपानीका संरचनाहरु भताभुङ्ग भएर ६/७ वर्ष पश्चात पुनः नयाँ संरचना निर्माण गर्नु पर्ने अवस्था देखिएको छ ।
खानेपानीमा किन समस्या छ भन्दा यसको सीधा सम्वन्ध भनेको खानेपानी वितरण गर्ने सेवा प्रदायकहरुसँग जोडिएर आउँछ । नेपालमा अहिले सक्रिय रुपमा खानेपानीको सेवा प्रदायकको रुपमा काम गर्ने भनेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान, शहरी खानेपानी वोर्डहरु भरतपुर, हेटौडा र धरान, ग्रामीण खानेपानी व्यवस्थापन वोर्डहरुले कामको शुरुवात धादिङ्ग र तराईका केही भूभागमा शुरु भएको छ, नेपालको ठूलो हिस्सामा पानी वितरण गर्ने भनेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नै हुन जुन अहिले ४३ हजार भन्दा माथि छन् भनिएको छ । यसको साथै शहरी र शहर उन्मुख क्षेत्रमा सक्रिय रुपमा निजी ट्याङ्कर, जार र वोटलहरु मार्फत पनि पानी वितरण भईरहेको छ । अझै पनि नेपालमा खानेपानीको जोहो खोला, पोखरी, नदी वा असुरक्षित मुहानबाट गर्नुपर्ने वाध्यता भएका नेपाली पनि छन् । यी सेवा प्रदायकहरुमा फरक फरक समस्या, केही सिक्न लायक अभ्यासहरु र चुनौतीहरु पनि छन् ।
संविधानमा खानेपानी तथा सरसफाइलाई मौलिक अधिकारको रुपमा स्थापित गरिसके पश्चात गुणस्तरीय पानी पाउनु नेपालीको अधिकार हो । तर खस्कँदो सेवा र पानीको गुणस्तरमा यत्ति धेरै समस्या आईसके पश्चात नेपालमा खानेपानी वितरण गर्ने सेवा प्रदायकहरुमा व्यापक सुधार तथा खानेपानीको व्यवस्थापनमा फरक ढंगबाट सोच्नु पर्ने वेला आएको छ । शुरु लगानी पश्चात धेरै जसो खानेपानी सेवा प्रदायकहरुले सामान्य मर्मत तथा सम्भार पनि गर्न नसकेको अवस्था छ । यो अवस्थामा अहिलेको नै काम गर्ने शैलीले नेपाल सरकारले खानेपानीमा उच्च स्तरको सेवा प्रदान गर्ने भनेर राखेको लक्ष्य प्राप्त गर्न प्राय असम्भव देखिन्छ । आम नागरिक, राजनीतिक नेतृत्वले निशुल्क पानी पाउन पर्दछ भन्दै पैरवी गर्ने, उठाएको महशुलले नियमित मर्मत तथा सम्भार गर्न पनि नसकिने र सरकारको ध्यान शुरुको नै लगानीमा जाने जस्ता समस्या नेपालमा विद्यमान छन् ।
हाल नेपालमा सञ्चालन भईराखेका खानेपानी सेवा प्रदायकहरुको क्षमता र काम गर्ने शैलीले वि.सं. २१०० सम्म सवै नेपालीहरुले उच्च स्तरको खानेपानी सेवा प्राप्त गर्न सक्दछन् भन्ने कुरामा शंका छ भने अहिले काम गरिरहेका सेवा प्रदायकहरुमा सुधार गर्न पनि सोचे जति सजिलो छैन ।
यसले खानेपानी व्यवस्थापन गर्नको लागि वैकल्पिक विधिहरुको वारेमा सोच्नु पर्ने देखिन्छ । यसको लागि विश्व स्तरमा भएका खानेपानीको व्यवस्थापन र सञ्चालनका राम्रा अभ्यासहरुको वारेमा सोच्न र नेपालमा पनि लागु गर्न सकिन्छ । खानेपानी सेवा प्रदायकहरुको काम भनेको पानीको मात्रा पु¥याउन मात्र केन्द्रित हुने होइन कि पानी गुणस्तर मात्रा भन्दा पनि महत्वपूर्ण छ भनेर वुझाउनु पर्ने पनि छ ।
जनताहरु पनि सेवा प्रदायकहरुलाई गुनासो गर्नुभन्दा पनि निजी स्तरमा पानी वितरण गर्नेहरु तर्फ आर्कषित छन् । खस्कँदो पानीको गुणस्तरको कारण अधिकाँश शहरी क्षेत्रमा वस्ने नेपालीहरुलाई पाईपवाट आएको पानी पनि सिधै पिउन मिल्छ र भन्ने आवाज उठ्न थालेको छ । यसो हुनुको प्रमुख कारण भनेको सेवा प्रदायकहरुको अझै ध्यान पानीको गुणस्तर सुधार गर्न तर्फ भन्दा पनि पानीको मात्रा पुर्याउनमा केन्द्रित देखिन्छ ।
खानेपानीको विभिन्न विकल्पहरु Water Operator Partnership (WOP) भनौ खानेपानी सञ्चालक साझेदारीको अवधारणा पनि नेपालको लागि एक उत्तम विकल्प हुन सक्छ । यो अवधारणामा काम गर्दा नेपालका खानेपानी सेवा प्रदायकहरुका केही राम्रा अभ्यासहरुलाई पनि एक सेवा प्रदायकहरुबाट अर्को सेवा प्रदायकहरुमा आदान प्रदान गर्न सकिन्छ ।
यदि यो अवधारणा नेपालमा लागु गर्ने हो भने भूगोल र जनसंख्यालाई आधार मानेर शुरुवात गर्न सकिन्छ । यसको लागि हिमाली क्षेत्रमा ३० हजार जनसंख्यालाई वितरण गर्ने १ खानेपानी सञ्चालक, पहाडी क्षेत्रमा ५० हजार भन्दा माथि २ लाखसम्म वितरण १ सञ्चालक र शहर उन्मुख क्षेत्रमा २ लाख भन्दा माथि ४ लाखसम्म वितरण गर्ने १ सञ्चालक, मुख्य शहर र घना वस्तीमा ४ लाख भन्दा माथि ६ लाख सम्मलाई १ खानेपानी सञ्चालकले पानी वितरण गर्न सक्छ ।
सवै साझेदारहरुलाई नियमित रुपमा प्राविधिक तथा नीतिगत सहयोग गर्नको लागि राष्ट्रिय स्तरमा एक अर्को खानेपानी सञ्चालक साझेदार संघ निर्माण गर्न सकिन्छ ।
काठमाण्डौ उपत्यका जस्तो शहरमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले काम गरिराखेको छ भने यसले खानेपानी सञ्चालक साझेदारीको अवधारणामा काम गर्न शुरुवात गर्न सक्छ । नेपाल खानेपानी संस्थानका शाखाहरुलाई पनि कसरी अव खानेपानी सञ्चालक साझेदारको अवधारणामा लैजाने भनेर सोच्न सकिन्छ । खानेपानी तथा सरससफाइ उपभोक्ता समितिहरुलाई एक आपसमा गाभेर खानेपानी सञ्चालक साझेदार निर्माण गर्न सकिन्छ ।
यसरी हेर्दा नेपालमा औसत १५० देखि २०० वटा सम्म खानेपानी सञ्चालक साझेदार निर्माण गर्न सकिन्छ । यसरी खानेपानी संचालक साझेदारहरु निर्माण गर्दा धेरै फाईदाहरु हुन्छ ।
१. क्षमता वृद्धि : धेरै खानेपानी सेवा प्रदायकहरुमा पानीमा काम गर्ने प्राविधिकहरुको क्षमता विकास गर्नुभन्दा पनि प्रशासनिक काममा अझिरहेको देखिएको छ । पानीको गुणस्तर सेवाको निरन्तरतामा सवै भन्दा बढी खानेपानी प्रणालीको मर्मत तथा सम्भारमा काम गर्ने कर्मचारीहरुसँग जोडिएको हुन्छ । खानेपानी सञ्चालक साझेदारको अवधारणामा काम गर्दा पहिलो प्राथमिकता भनेको कर्मचारीहरुको क्षमता विकासमा हुन्छ ।
२. समकक्षी देखि समकक्षी सिकाई : यो अवधारणमा काम गर्दा नेपाल भरि बन्ने करिब २०० जति खानेपानी सञ्चालक साझेदारहरुको फरक फरक सिकाईहरु हुन्छन् । ती सिकाईहरुलाई एक अर्कोमा साटासाट गर्न सकिन्छ । यसले गर्दा भविश्यमा खानेपानी सञ्चालन गर्दा आईपर्ने समस्याबाट वच्नको लागि उपायहरु अवलम्वन गर्न सकिन्छ । यस अवधारणामा काम गर्दा नेपालको मात्र नभएर विश्वभरका खानेपानी सञ्चालक साझेदारहरुको सिकाई र राम्रा अभ्यासहरु सिक्ने वातावरण वन्न सक्छ ।
३. अनुकुलित समाधानहरु : खानेपानीको समस्या विशेष गरेर भूगोल अनुसार फरक पर्न सक्छ । किन भने नेपालको कुरा गर्ने हो भने नेपालको तराई क्षेत्रमा हुने पानीको गुणस्तरको समस्या पहाड र हिमाल हुने पानीको समस्या सँग नमिल्न सक्छ । त्यस्तै हिमाल र पहाडमा हुने खानेपानीका समस्याहरु तराईमा हुने खानेपानीको समस्यासँग नमिल्न सक्छ । यो अवधारणामा काम गर्दा भूगोल अनुसार खानेपानीका समस्या समाधानका विकल्पहरु निकाल्न सकिन्छ । यो अवधारणाले विभिन्न विकल्पहरुको वारेमा छलफल गर्ने वातावरण सिर्जना गर्दछ ।
४.समावेशिता र समानता : खानेपानीको पहुँचको कुरा गर्दा समावेशिता र समानताका कुरा चर्चामा छ । यो अवधारणामा काम गर्दा यसले सवै खानेपानी संचालक साझेदारहरुमा महिला, सिमान्तकृत र पछाडि पारिएको समुदायहरुको सहभागिता सुनिश्चित गर्ने विभिन्न अवसरहरु सिर्जना गर्दछ । एउटा सानो उदाहरणको रुपमा भारतको उडिसामा एक दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा तेस्रो लिङ्गीहरुको नेतृत्वमा धेरै काम भएको छ । यसले उनीहरुको आत्मसम्मान, समाजले हेर्ने दृष्टिकोण र व्यवस्थापन उत्कृष्ट भएको पाईएको छ । यो अवधारणामा काम गर्दा पनि यसले समाजमा पछाडि पारिएका महिला, सिमान्तकृत समुदायहरुलाई सहभागी गराउनका लागि प्रशस्त आधारहरु निर्माण गरिदिन्छ ।
५. दिगो विकास लक्ष्यहरु : नेपाल सरकारले दिगो विकास लक्ष्य र अन्य अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । ती प्रतिवद्धताहरुलाई पुरा गर्नको लागि स्थानीय स्तर देखि नै काम गर्नु पर्ने देखिन्छ । यसरी देशभरीमा खानेपानी सञ्चालक साझेदारहरुको अवधारणा वनाएर काम गर्न सकियो भने यसले यी दिगो विकास लक्ष्य ६ लाई हासिल गर्न सहज वातावरण बनाउँछ ।
६. साझेदारी र सहकार्य : खानेपानी सञ्चालक साझेदारहरुका बीचमा आपसी सहकार्य निर्माण गर्न सकिन्छ । साथै स्थानीय सरकार र अन्य सरोकारवालाहरु जसले खानेपानीको क्षेत्रमा काम गरिराखकेका उनीहरुसँग नियमित रुपमा सहकार्य गर्न सकिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने खानेपानीमा काम गर्ने धेरै सरोकारवालाहरु छन् । यसमा पनि जल, उर्जा तथा सिंचाइ मन्त्रालय र वातावरण मन्त्रालयका कतिपय निकायहरुसँग नियमित रुपमा समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ । जव सम्म जमिन माथि वा जमिन मुनिका पानीका स्रोतहरुको उचित प्रयोग र संरक्षण गर्न सकिदैन तव सम्म भावी पुस्ताहरुलाई खानेपानीको पहुँच सुनिश्चितता गर्न सकिदैन । यो अवधारणाको माध्यमबाट नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य गर्न सकिन्छ ।
७. सेवाको स्तरको मापन तथा नियमित अनुगमन : सबै खानेपानी सञ्चालक साझेदारहरुलाई सेवाको स्तर मापन गर्न Key Performance Indicator हरु निर्माण गर्न सकिन्छ । त्यसको आधारमा यस्ता खानेपानी सञ्चालक साझेदारहरुको नियमित रुपमा अनुगमन र मुल्याङ्कन साथै सुधारको लागि सुझाव दिन सकिन्छ । यसले खानेपानी सञ्चालक साझेदारहरुको खानेपानीको सेवास्तर अहिले कति छ भनेर मापन गर्न सकिन्छ ।
खानेपानी सञ्चालक साझेदार निर्माण गर्दा कुनै एक स्थानीय तहको एक पनि हुन सक्छ भने कुनै स्थानमा एक भन्दा बढी स्थानीय तहहरुको एक खानेपानी सञ्चालक साझेदार हुन सक्छ । यी खानेपानी सञ्चालकहरुको कार्यसमितिमा स्थानीय सरकारका प्रतिनिधिहरु बस्न सक्छन् । उनीहरुले खानेपानीको महशुल निर्धारण, खानेपानीको व्यवसायिक योजनाको प्रमाणीकरण, सम्पत्ति विवरणको नियमित रुपमा अध्यावधिक गर्ने काम गर्न सक्छन् ।
यी सवै साझेदारहरुलाई नियमित रुपमा प्राविधिक तथा नीतिगत सहयोग गर्नको लागि राष्ट्रिय स्तरमा एक अर्को खानेपानी सञ्चालक साझेदार संघ निर्माण गर्न सकिन्छ । यो भनेको अहिलेको नगरपालिका वा गाउँपालिकाको संघको जस्तै गरेर निर्माण गर्न सकिन्छ ।
तर यसको काम, कर्तव्य र अधिकारहरु स्पष्ट तोकिएको हुनु पर्दछ । यसको मुख्य उद्देश्य भनेको देशभरमा रहेका खानेपानी सञ्चालक साझेदारहरुलाई प्राविधिक सहयोग गर्ने हो । उदाहरणको लागि स्वीडेनमा एउटा स्वीडिस वाटर एसोसियसन निर्माण गरिएको छ । यसले स्वीडेन भरि रहेका युटीलिटीहरुलाई प्राविधिक सहयोग पु¥याउने र एक युटिलिटीको अभ्यासहरु, सिकाईहरु अन्य युटिलिटीहरुलाई आदान प्रदान गर्ने गर्दछ । यस्ता अभ्यासहरु अमेरिका, अष्ट्रेलिया, युरोपमा धेरै पहिला देखि शुरुवात गरिएको थियो ।
यो संघले गर्ने सहयोगमा केन्द्रीय स्तरमा खानेपानी सम्वन्धी निर्माण भएका ऐन, नीति, तथा कार्यविधिहरुलाई स्थानीयकरण गर्न सहयोग गर्ने, खानेपानीको क्षेत्रमा भएका नयाँ नयाँ प्रविधिहरुलाई तल सम्म पु¥याउने, तलबाट आएका समस्याहरुलाई अध्ययन तथा अनुसन्धान गरी समाधान पत्ता लगाउने, यी सवै खानेपानी सञ्चालक साझेदारहरुको तथ्याङ्कहरु संकलन तथा विश्लेषण गर्ने जस्ता हुन सक्दछन् । यसले गर्दा यदि खानेपानीका संरचनामा कुनै समस्या आयो र स्थानीय स्तरमा खानेपानी सञ्चालक साझेदारहरुले समस्या समाधान गर्न सकेन भने उनीहरुले सीधै यस संघमा फोन गरेर समस्या समाधान गर्ने वातावरण सिर्जना गर्न सकिन्छ ।
यसरी राष्ट्रिय स्तरमा सवै खानेपानी सञ्चालक साझेदारहरुको प्रतिनिधित्व गरी निर्माण गरिएको संघको नियमित खर्च खानेपानी सञ्चालक साझेदारहरुहरुले उठाएको रकमबाट नै चल्नु पर्ने हुन्छ । किनभने सवै खानेपानी सञ्चालक साझेदारलाई यस संघको सदस्य बने पश्चात उनीहरुलाई बार्षिक रुपमा संघमा सदस्य बापत वुझाउने रकम हुन सक्छ ।
नेपालको तीन तहका सरकारहरुले खानेपानीमा एक पटक लगानी गरे पश्चात नियमित रुपमा मर्मत तथा सम्भार गर्ने खर्च खानेपानी सञ्चालक साझेदारहरुले खानेपानी सेवा प्रदान गरे बापत उठाउनु पर्ने हुन्छ । जस्तो युरोपका कतिपय स्थानमा खानेपानीका ६० वर्ष पुराना संरचनाहरुले अहिले पनि काम गरेको अवस्था छ । त्यहाँ युटिलिटीहरुले जनताबाट उठेको रकमले खानेपानीका संरचनाहरुको मर्मत तथा संभार गरेका छन् ।
आनन्द गौतम
(Facebook, Anand Gautam | LinkedIn)
लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।