काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले बर्षातका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने बताउनुभएको छ ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनु भएको हो । उहाँले सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
मौसममा सुधार आउने वित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने मन्त्री यादवको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उहाँले बताउनुभयो।
मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । तराई–मधेशमा डिप बोरिङ मार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उहाँको भनाइ छ ।अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो।
सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।
बैठकमा मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सम्हालिरहेको तथा उपत्यका बाहिरको २३ वटा सहरमा नेपाल खानेपानी संस्थान मार्फत वितरण भइरहेको जानकारी गराउनुभयो।
देशभरका अन्य स्थानमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आयोजना मार्फत सेवा पुर्याइँदै आएको उहाँले जानकारी दिनुभयो। मन्त्री यादवले उपत्यका वरिपरिका स्थानीय स्रोतबाट संकलन गरिएको पानीले मात्र काठमाडौं उपत्यकाको माग पूरा गर्न असमर्थ रहेको जानकारी गराउनुभयो।
उहाँले भन्नुभयो जलवायु परिवर्तनको असरले पानीका मुहानहरू सुक्दै गइरहेको र भूमिगत पानीको सतह घट्दै गएको कारणले सुक्खा याममा आपूर्ति अत्यन्तै कम हुने स्थिति छ।ु मेलम्ची आयोजनाको १७ करोड लिटर पानी वितरण हुँदै आए पनि उपत्यकाको मागलाई पूरा गर्न असम्भव भएकोले याङ्ग्री लार्के, भक्तपुरको महादेवखोला, ललितपुरको सिस्नेरी र ठोस्ने खोलाबाट समेत पानी आपूर्तिको अध्ययन भइरहेको मन्त्री यादवले जानकारी गराउनुभयो।
मेलम्ची आयोजनाको लागि हालसम्म ५९ अर्ब ६२ करोड खर्च भइसकेको मन्त्री यादवले जानकारी दिनुभयो। सो आयोजनाको पूर्वाधार निर्माणपछि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई लिज फी लिने गरी सञ्चालन गरिँदै आएको मन्त्री यादवले बताउनुभयो।