फान्सा नेपाल च्याप्टरको बार्षिक प्रगति समीक्षा र सिकाई आदानप्रदान

  वास खबर सम्वाददाता  437 पटक हेरिएको


काठमाडौ : फ्रेस वाटर एक्सन नेटवर्क साउथ एसिया (फान्सा) Freshwater Action Network South Asia (FANSA) नेपाल च्याप्टर (Nepal Chapter) का सदस्य संस्थाहरु बीच बार्षिक प्रगति एवं समीक्षा गरिएको छ । फान्सा नेपाल च्याप्टरमा आवद्ध २३ वटै संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले फान्सा नेपाल च्याप्टरको बार्षिक प्रगति तथा समीक्षा गरिएको हो ।


कार्यक्रममा फान्सा नेपाल च्याप्टरका नेसनल कन्भेनर भावना शर्माले फान्सा नेपालले बर्षभरिमा सम्पादन गरेका क्रियाकलापहरुका बिषयमा प्रस्तुतीकरण गर्नुभयो। फान्सा नेपालले हेटौंडा उपमहानगरपालिका र पोखरा महानगरपालिकाका अव्यवस्थित बसोबासी, सरसफाइकर्मी, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, खानेपानी उपभोक्ता संस्था र अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका बिषयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउनुभयो।


फान्सा नेपाल च्याप्टरले नीति पैरवी र क्षमता विकासको पक्षमा गरेका कामहरु बारे जानकारी गराउँदै नेसनल कन्भेनर भावना शर्माले भन्नुभयो ‘हामीले नीति पैरवी अन्तर्गत पिछडिएको बस्तीमा खानेपानी, सरसफाइको सुविधा पुर्‍याउन सरकारी तवरबाट भएका प्रयासबारे टेलिभिजन कार्यक्रम, यौनिक अल्पसंख्यक समुदायका लागि सुरक्षित र समावेशी सरसफाइ सुविधा सम्बन्धी सम्बन्धी पिएसए प्रसारण गर्‍यौं ।’

क्षमता विकास सम्बन्धी क्रियाकलापहरु 

कन्भेनर शर्माले छोटकरीमा प्रस्तुत गर्नुभएका फान्सा नेपाल च्याप्टरले क्षमता विकास सम्बन्धी गरेका क्रियाकलापहरु :

√ ६० भन्दा बढी समुदायमा आधारित लक्षित समूह, सञ्जालहरुको क्षमता विकास भएको

√ लैङ्गिक तथा यौनिक अल्पसंख्यक र तिनका सञ्जाललाई खानेपानी, सरसफाइ र स्वच्छता अधिकार सम्बन्धी क्षमता विकास

√ पेशागत स्वास्थ्य सुरक्षा र सरसफाइकर्मीहरुको वास अधिकार बारेमा सरसफाइकर्मी र उनीहरुको सञ्जाललाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम

√ नेतृत्व विकास र सञ्चार सीप सम्बन्धी अव्यस्थित बसोबासी, उनीहरुको सञ्जाज, टोल विकास संस्था र समुदायमा आधारित अन्य नागरिक संगठनहरुलाई तालिम ।

√ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई पैरवी सीप सम्बन्धी तालिम

√ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई जलवायु परिवर्तन र वास सम्बन्धी तालिम

√ सेप्टिक ट्याङ्क निर्माण सम्बन्धी टोल विकास संस्थाका डकर्मीहरुलाई तालिम ।

यस्तै फान्सा नेपाल च्याप्टरले हेटौंडा उपमहानगरपालिकाका ५ वटा र पोखरा महानगरपालिकाका ६ वटा ऐन, कानुन तथा नीति निर्देशिका र बार्षिक कार्यक्रम र बजेटको समीक्षा गरिएको उहाँले जानकारी गराउनुभयो।

कार्यक्रममा फान्सा नेपाल च्याप्टरका सदस्य संस्थाहरुले समेत बर्षभरिमा आ आफ्नो संस्थाले सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।


खानेपानी, सरसफाइ र स्वच्छता केन्द्रित पैरवी, संस्थाहरु बीच साझेदारी र सञ्जाल तथा क्षमता विकास फान्साको मुख्य कार्य क्षेत्र हुन् ।

फान्सा, दक्षिण एसियाली राष्ट्रहरुमा सीमान्तकृत समुदाय, पछाडि पारिएका समुदाय, राज्यको सेवा सुविधाबाट टाढा रहेको बर्गको खानेपानी, सरसफाइ र स्वच्छता बारे वकालत गर्ने संस्थाहरुको क्षेत्रीय सञ्जाल हो ।

यो सञ्जाल दक्षिण एसियाका ८ वटा राष्ट्रहरुमा क्रियाशील छ । सञ्जालमा ५ सय भन्दा बढी नागरिक संगठनहरु आबद्ध छन् ।

नेपालका सन् २०२१ देखि लुमन्ती आवासका लागि सहयोग समूहले क्षेत्रीय सचिवालयको रुपमा काम गर्दै आएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) फान्सा नेपाल च्याप्टरको राष्ट्रिय कन्भेनर र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले सह कन्भेनरको भूमिका निभाउँदै आएको छ।


बार्षिक प्रगति तथा समीक्षा कार्यक्रममा खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल ईन्जिनियर प्रभात श्रेष्ठले गत बर्ष सम्पन्न खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रगत समीक्षा (JSR), यसको उपलब्धीका बिषयमा प्रस्तुत गर्नुभयो।


यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा.रजित ओझाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्र विकास योजना (SDP) ले लिएको लक्ष्य, लक्ष्य हासिल गर्न लाग्ने बजेट, सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुन सक्ने बार्षिक लगानी र बैकल्पिक स्रोतहरुका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।


बैठकमा फान्सा नेपाल च्याप्टरको विधानका बिषयमा समेत सदस्य संस्थाहरु बीच छलफल गरिएको थियो । यद्यपि यसलाई विभिन्न चरणमा व्यापक छलफल गरी टुङ्ग्याउनुपर्ने सदस्यहरुले बताए।


फान्सा नेपाल च्याप्टरमा RADO Nepal, ARSOW Nepal, CODEF Nepal, Prayas Nepal, FIRDD Nepal, SIDS, KIRDARC Nepal, PRDC Nepal, WFN, UPAF, SOUP, PESOC, LUMANTI, MSDC Nepal, PESOC Nepal, SAC Nepal, WASH Media, CWF लगायत संस्थाहरु गरी २३ वटा संस्थाहरु सदस्य छन्।

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार