काठमाडौं : अघिल्लो प्रकाशनमा खानेपानी सुरक्षा योजना भनेको के हो, यो किन जरुरी छ ? भन्ने बिषयको सामग्री प्रकाशन गरेका थियौं। यस पटक खानेपानी सुरक्षा योजना कार्यान्वयन प्रक्रियाका बारेमा चर्चा गर्दैछौं। खानेपानी सुरक्षा योजनाका बिषयमा हरेक खानेपानी उपभोक्ता समिति जानकार हुन जरुरी छ ।
खानेपानी सुरक्षा योजना कार्यान्वयन प्रक्रियालाई वृहत्तर रुपमा प्रमुख तीन भागमा बाँडिएको छ ।
क. खानेपानी सुरक्षा योजनाका लागि तयारी
खानेपानी सुरक्षा योजनाका लागि सहयोगी/सहजकर्ता/नियमनको भूमिका खेल्ने निकायहरुले खानेपानी प्रणालीबारे सर्वप्रथम केही जानकारी (प्राविधिक, व्यवस्थापन, संचालन तथा सम्भार, सेवा प्रदायकका क्षमता आदि पक्षमा) लिनुपर्छ । यस्ता जानकारी अभिलेख राख्नका लागि “खानेपानी आयोजना/प्रणाली सम्बन्धी जानकारी” सम्बन्धी फारम भर्ने, त्यसै गरी खानेपानीको गुणस्तर र जनस्वास्थ्य सम्बन्धमा उपभोक्ताका धारणा, पानी जन्य रोगहरुको घटना, घरायसी तहमा पानीको प्रयोग सम्बन्धी तथ्याङ्कहरु रेकर्ड गर्नुपर्छ ।
यी तथ्याङ्कहरु उपभोक्ताहरुको सन्तुष्टि पहिचान गर्न गरिने सर्वेक्षणबाट प्राप्त गर्न सकिन्छ । यसरी प्राप्त जानकारीहरुले खानेपानी सुरक्षा योजना कार्यान्वयन अघि र पछिको अवस्थालाई दाँजेर हेर्न मद्दत गर्नेछन् । सहयोगी निकायहरुले सेवा प्रदायकका कर्मचारीहरुका लागि तालिम कार्यक्रम संचालन गर्नेछन् र तिनलाई खानेपानी सुरक्षा योजना टोली गठन गर्न मद्दत पु¥याउनेछन् ।
ख. खानेपानी सुरक्षा योजना विकास (योजना तर्जुमा)
यो भागमा खानेपानी सुरक्षा योजना (खापासुयो) टोलीले प्रणालीको लेखाजोखा गर्ने, प्रदूषण पहिचान तथा नियन्त्रण उपाय (विधि) पत्ता लगाउने, सुधार कार्य, अनुगमन कार्य र प्रमाणीकरणका लागि योजना तर्जुमा गर्ने जस्ता कार्यहरु पर्दछन् ।
यो भागमा विकास हुन ३ प्रमुख योजनाहरु यस प्रकार छन् :
√ सुधार कार्य योजना
√ अनुगमन योजना र
√ प्रमाणीकरण योजना
यी योजनाहरुले सबैभन्दा बढी जोखिम भएका प्रदूषणका कारक घटनाहरुमा विशेष ध्यान दिन्छन् ।
ग. खानेपानी सुरक्षा योजना कार्यान्वयन
तेस्रो भागमा खानेपानी सुरक्षा योजना टोलीले अनुगमन र प्रमाणीकरण कार्यलाई अघि बढाउँछ । यसले खानेपानी सुरक्षा योजना कार्यान्वयनको प्रगति समीक्षा गर्ने र खानेपानी सुरक्षा योजनाको प्रभावकारितालाई बढाउन बेला बेलामा पृष्ठपोषण गर्ने काम पनि गर्नुपर्छ ।
यसरी भाग २– खानेपानी सुरक्षा योजना विकास (योजना तर्जुमा) र भाग ३– खानेपानी सुरक्षा योजना कार्यान्वयन बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । खानेपानी सुरक्षा योजनाको सफलताको लागि नियमित अनुगमन, आवधिक प्रमाणीकरण र सुधार कार्यको प्रगति समीक्षा नभई नहुने कार्यहरु हुन् ।
खानेपानी सुरक्षा योजना कार्यान्वयनको सही र प्रभावकारी कार्यान्वयन हुन नसकेमा खानेपानी सुरक्षा योजना फलविहिन हुनपुग्छ । सहयोगी क्रियाकलापहरु – माथि उल्लेखित भाग र ती अन्तर्गतका क्रियाकलापहरुलाई जग (आधार) प्रदान गर्ने केही सहयोगी क्रियाकलापहरु पनि छन् : सम्बद्ध व्यवस्थापन, उपभोक्ताको सन्तुष्टीको पहिचान अभिलेखिकरण र संचार ।
अर्को अंकमा खानेपानी सुरक्षा योजनाका चरणहरु बारे चर्चा गरिनेछ । WASH Khabar हेर्दै गर्नुहोला।
स्रोतः खानेपानी सुरक्षा योजना हाते पुस्तिका