काठमाडौं : पछिल्ला बर्षहरुमा खानेपानीको मुहानहरु सुक्दै गएका छन्। यसको विकल्पमा बस्ती भन्दा तलतिरबाट बग्ने नदी तथा खोलाको पानी लिफ्टिङ/पम्पिङ गरेर बस्तीमा ल्याएर वितरण गर्न थालिएको छ। खानेपानी स्रोत (नदी, खोला) भएको ठाउँ सम्म विद्युत आपूर्ति नहुने र भएको स्थानमा समेत विद्युत आपूर्ति प्रभावकारी नभएको अवस्थामा विजुलीको सुविधा नपुगेको र प्रशस्त घाम लाग्ने स्थानहरुमा सौर्य शक्तिबाट पानी तान्ने प्रणाली भरपर्दो विकल्प हुन सक्छ।
सौर्य पानी तान्ने प्रणालीलाई आवश्यकता अनुसार अर्थात पानीको माग अनुसार विभिन्न क्षमतामा निर्माण गर्न सकिन्छ। यो प्रणाली घाम लागेको समयमा निरन्तर चलिरहन सक्ने गरी यसका उपकरणहरूको डिजाइन गरिएको हुन्छ ।
सौर्य शक्तिद्वारा पानी तान्ने प्रणालीको आवश्यकता
सौर्य उर्जाबाट पानी तान्ने प्रविधिका फाइदाहरू देहाय बमोजिम छन् ।
√ सौर्य उर्जा सित्तैमा पाइने भएकाले यो प्रविधि उपयोग गरी पानी तान्दा सञ्चालन खर्च ज्यादै न्यून हुन्छ।
√ सौर्य उर्जाबाट उत्पादित विद्युत सुरक्षित, वातावरण अनुकूल, ध्वनि र वायू प्रदूषणमुक्त नवीकरणीय उर्जा भएकाले यो प्रविधि अपनाउँदा पर्यावरणलाई कुनै हानि पुग्दैन ।
√ एक अध्ययन अनुसार हाम्रो देशको उच्च पहाडी, मध्यपहाडी र मैदानी क्षेत्रमा औसतमा वर्षको ३०० दिन र दिनको औषत ४ देखि ५ घण्टा सम्म घाम लाग्दछ। त्यसैले देशका सबैजसो भूभागमा यो प्रविधि अपनाउन सकिन्छ ।
√ ग्रामीण दुर्गम क्षेत्रहरूमा सबै विद्युत उर्जाहरूको विकल्प नहुन सक्छ। तर सौर्य उर्जा सर्वत्र उपलब्ध भएकाले विद्युत आपूर्ति नभएका ठाउँहरुमा पनि यो प्रविधि अपनाए पानी तान्न सकिन्छ ।
√ यो प्रविधि अनुरुप निर्माण भएका प्रणालीहरुको सन्चालन, हेरचाह र मर्मत संभार स्थानीय स्तरमै गर्न सकिन्छ ।
सौर्य शक्तिद्वारा पानी तान्ने प्रणालीले कसरी काम गर्छ ?
विद्युत उत्पादन गर्ने उपकरणलाई प्राविधिक भाषामा जेनेरेटर भनिन्छ । सौयं शक्तिद्वारा पानी तान्ने प्रणाली अन्तर्गतका विभिन्न उपकरणहरू मध्ये सौर्य पाता (सोलार मोड्यूल) ले सूर्यबाट प्राप्त सौर्य उर्जालाई विद्युतीय शक्तिमा परिणत गरिदिन्छ अर्थात् यो पाताले जेनेरेटरको काम गर्छ। सौर्य पाताले घाम लागेको समयमा निरन्तर रुपमा डि.सी. (Direct Current) विद्युत उत्पादन गरिरहन्छ।
घाम नलागेको अर्थात बादल लागेको समयमा पनि यसवाट विद्युत उत्पादन नहुने होइन, तर त्यस्तो बेलामा विद्युत उत्पादन कम हुन्छ। सौर्य पाताहरूबाट उत्पादन भएको विद्युत शक्तिलाई तारको माध्यमबाट पानी तान्ने पम्पमा पठाइन्छ । पम्पमा त्यसको क्षमता अनुसारको विद्युत प्रवाह भएको खण्डमा यसले काम गर्न थाल्दछ र होचो भागमा रहेको ट्याकीमा संचय भएको पानीलाई अग्लो भागमा रहेको ट्यांकीसम्म पुर्याईदिन्छ। जहाँबाट समुदायमा पानी वितरण गरिन्छ।
सौर्य शक्तिद्वारा पानी तान्ने प्रणालीका न्यूनतम आवश्यकताहरू:
√ सौर्य शक्तिद्वारा पानी तान्ने प्रणाली स्थापना गर्ने निम्न कुराहरूको आवश्यकता पर्दछ
√ सौर्य पाताहरूको जडान गर्न कम्तिमा ४९ बर्गमिटर क्षेत्रफल भएको खाली जमिन ।
√ दिनभरि कम्तिमा ६ घण्टा वा धेरै समयसम्म घाम लाग्ने ठाउँ ।
√ सौर्य पाता जडान गर्न दक्षिण दिशा तर्फ फर्केको ठाउँ ।
√ विवाद रहित जग्गा साथै सुरक्षित खानेपानीको स्रोत ।
√ सुख्खा मौसममा पनि पानीको उपलब्धता भएको।
√ सौर्य विद्युत केन्द्रवाट सहज रुपमा विद्युतीय तारहरू पम्पसम्म लैजान सकिने ठाउँ।
सौर्य पानी तन्ने पम्पका आवश्यक उपकरणहरू
सौर्य पाता (सौर्य प्यानल)
सूर्यको प्रकाशबाट प्राप्त भएको शक्ति (सौर्य शक्ति) लाई विद्युतीय शक्तिमा रुपान्तरित गरी विद्युत उत्पादन गर्ने विधिलाई सौर्य विद्युत शक्ति भनिन्छ। सूर्यबाट प्राप्त भएको शक्तिलाई विद्युतीय शक्तिमा परिणत गर्ने उपकरणलाई सौर्य पाता वा सौर्य प्यानल भनिन्छ।
सोलार पातामा सोलार सेलहरू (गोलाकार) क्रमबद्ध रुपमा मिलाएर राखिएको हुन्छ। साधारणतया यी सोलार सेलहरू सिलिकन नामक अर्धसुचालक तत्वबाट बनेका हुन्छन। सौर्य पाताको शक्ति त्यसमा रहेको सोलार सेलको आकार र संख्यामा भर पर्दछ । सौर्य पाताको अधिकतम विद्युतीय शक्तिलाई पिक वाट (Peak Watt) मा नापिन्छ।
साधारणतया सोलार पाताबाट उत्पादन हने विद्युतमा डि सी (Direct Current) हुन्छ। उपयोगिता र आवश्यकता अनुसार धेरै संख्यामा रहेका सौर्य पाताहरूलाई एक आपसमा गाँसेर समुदायको आवश्यक्ता अनुसारको शौर्य शक्ति निकाल्न सकिन्छ।
बजारमा उपलब्ध सौर्य पाताहरू मध्ये कार्य क्षताको आधारमा सबैभन्दा उपयुक्त र बढी उर्जा प्रदान गर्ने पाताको रुपमा मोनो क्रिस्टलाइन सौर्य पातालाई मानिएको छ। सौर्य पाताको पछाडीपट्टी साधारणतया जंक्शन बक्स राखिएको हुन्छ। त्यही बक्स भित्र दुइवटा तारहरू जोडिएका हुन्छन्। रातो तार जंक्शन बक्सको पोजिटिभ (+) कनेक्टर र कालो तार जंक्शन बक्सको नेगेटिभ (-) कनेक्टरमा जोडिएका हुन्छन्।
सौर्य शक्तिद्वारा पानी तान्ने पम्प
सानो आकारको सौर्य पानी तान्ने पम्पमा साधारणतया सौर्यपाताहरू सँग सोझै जोडिएको हुन्छ। सौर्य शक्तिको मद्दतबाट पानी तान्ने पम्पले घामको तातोपनले रिजर्भ ट्याङ्गीमा पानी फ्याँक्ने काम गर्दछ। बजारमा धेरै प्रकारका सौर्य पानी तान्ने पम्पहरू उपलब्ध छन्। बनावट र कार्यक्षमताको आधारमा दुई प्रकारमा विभाजन गर्न सकिन्छ।
भोलुमेट्रिक (Volumetric) सेन्ट्रिफ्युगल (Centrifugal) पम्प :
भोलुमेट्रिक प्रकारका पम्पले पानी फाल्नु पर्ने उचाई भन्दा पम्प गर्नुपर्ने पानीको मात्रासँग सम्बन्ध राख्दछ भने सेन्ट्रिफ्युगल प्रकारका पम्पले कुनै निश्चित उचाईमा फाल्ने पानीको मात्रा पम्पको घुम्ने गति अनुसार घटबढ हुन्छ ।
त्यसैले सेन्ट्रिफ्युगल प्रकारका पम्प मध्यम अथवा धेरै पानी रिजर्भ ट्याङ्कीमा तान्न प्रयोग गरिन्छ। सौर्य शक्तिको उपयोगितालाई मध्यनजर गर्दा सेन्ट्रिफ्युगल पम्प नै भोलुमेट्रिक पम्प भन्दा उपयुक्त देखिन्छ। किनभने सेन्ट्रिफ्युगल पम्पको गतिलाई इलेक्ट्रोनिक माध्यमबाट नियन्त्रण गर्न सकिन्छ जसले गर्दा सौर्य शक्तिको अधिक मात्रामा उपयोग हुन्छ।
स्रोत : खानेपानी आयोजना सञ्चालन तथा मर्मत सम्भार सहयोगी पुस्तिका